बञ्चरेडाँडा ल्याण्डफिलको आयु घट्दै

ककनी । बिहान ४ बज्दा नबज्दै फोहोर बोकेका ट्रकहरू बालाजुबाट बञ्चरेडाँडा जाने तर्फ लामबद्ध देखिन्छन् । बिहानैदेखि रिक्सा, ट्याक्टर र मिनी ट्रकमा संकलन गरिने फोहोर अघिल्लो दिन राति नै टिपरमा लोड गरेर त्रिपालले छोपेर राखिन्छ र बिहानको झिसमिसैमा बञ्चरेतिर पठाइन्छ ।

दैनिक १९० टिपर फोहोर यसरी नै बञ्चरेडाँडा ल्याण्डफिल साइट पुग्छ । सबै टिपरमा त्रिपालले फोहोर छोपिएको हुन्छ भने लिच्चड सडकमा नचुहियोस् भनेर पाइपमार्फत गाडीमै राखिएको सानो ट्यांकीमा संकलन हुने गर्दछ । ‘पहिले पहिले जस्तो फोहोर देखाएर झोल चुहाउँदै लैजान मिल्दैन’, फोहोर बोकेर बञ्चरेडाँडा जाँदै गरेका टिपर चालक वीरसिंह थिङ भन्छन्, ‘केही गरी पाइप छुट्टिएर लिच्चड चुहियो भने आर्मी क्याम्पबाट फर्किनुपर्छ ।’ शिवपुरी राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएका नेपाली सेनाले फोहोर बोकेका ट्रकको निगरानी गर्छन् । साथै काठमाडौं महानगरपालिकाले पनि बाटोमा खसेको फोहोर उठाउन बालाजुदेखि बञ्चरेडाँडासम्म दैनिक रुपमा सानो भ्यान गुडाउँछ । वातावरण विभागका अनुसार बालाजुदेखि तिनपिप्ले र तिनपिप्लेदेखि बञ्चरेसम्मको सडक पनि दैनिक दुई पटक पानीका फोहोराले सफा गरिन्छ ।

काठमाडौंबाट गएका फोहोरको गाडी बञ्चरेडाँडा पुग्नु अगाडि नै कवाडी संकलकहरू जम्मा भइसकेका हुन्छन् । गाडीबाट फोहोर झर्नेवित्तिकै उनीहरूले पुनः प्रयोग गर्न मिल्ने तथा प्लाष्टिकजन्य फोहोर संकलन गर्छन् । त्यसपछि ल्याण्डफिल साइटमा रहेको डोजरले फोहोर सम्याउने र माटोले पुर्ने काम हुन्छ । ल्याण्डफिल साइटमा भइरहेको गतिविधि नियाल्न ५ वटा सीसीटिभी जडान गरिएको छ, जसको मद्दतले मेयर बालेन साहले कार्यकक्षबाट बञ्चरेडाँडाको अवलोकन गर्छन् ।

छुट्याएका फोहोर फेरि एकै ठाउँमा

काठमाडौं महानगरले १ साउनदेखि स्रोतमै फोहोरको वर्गीकरण गर्नुपर्ने सूचना निकालेको थियो । मेयर बालेन आफैं फोहोर वर्गीकरण गर्न आग्रह गर्दै सार्वजनिक -याली र कार्यक्रममा सहभागी भएका थिए । आइतबार र बुधबार नकुहिने र सोमबार र शुक्रबार कुहिने फोहोर संकलन गर्ने तालिका समेत बताएको थियो । साथै कुहिने र नकुहिने फोहोर नछुयाउनेलाई ५०० रुपैयाँ जरिवाना गर्ने महानगरको चेतावनी थियो । ९ असारको सूचनामा भनिएको थियो, ‘फोहोर संकलनका क्रममा फोहोरको पृथकीकरण नगरेको पाइए हरेक पटक जरिवाना गरिने छ ।’

यो महानगरका सबै (३२) वडामा लागू हुन सकेको छैन । पूर्वतयारी विना सूचना निकाल्दा पूर्ण कार्यान्वयन गर्न नसकेको महानगरको स्वीकारोक्ति छ । अहिले ८ वटा वडामा मात्र कुहिने र नकुहिने फोहोर छुट्याएर संकलन गरिन्छ । तर यसरी छुट्याएर संकलन गरिने फोहोर पनि बञ्चरेडाँडामा लगेर एकै ठाउँमा व्यवस्थापन गर्ने गरिएको छ । ‘निश्चित फोहोर मात्र वर्गीकरण गर्नुको विकल्प छैन’, महानगरको फोहोर व्यवस्थापन समेत हेरिरहेका पूर्वाधार सल्लाहकार सुनिल लम्साल भन्छन्, ‘कि सबै फोहोर छुट्टिएर आउनुप-यो, नभए एकै ठाउँ पुरिने छ ।’

सहरी विकास मन्त्रालयले करिब १ अर्ब लागतमा बञ्चरेडाँडा ल्याण्डफिल साइट बनाएको हो । आयोजनाका इन्जिनियर माधव कटुवालका अनुसार काठमाडौैंको फोहोर व्यवस्थापन गर्ने सबैभन्दा ठूलो परियोजनाको रुपमा यो निर्माण भएको हो, जहाँ लिच्चड पोखरी, फिल्टर पुल समेत बनाइएको छ ।

५० लाख घनमिटर क्षेत्रफलमा फैलिएको ल्याण्डफिल साइटको सेल–१ गत भदौ १२ गते काठमाडौं महानगरलाई फोहोर व्यवस्थापनका लागि उपलब्ध गराइएको थियो । सेल–२ भने महानगरलाई हस्तान्तरण गरिएको छैन । सेल–१ को भद्रगोल अवस्था देखेर दोस्रो महानगरलाई हस्तान्तरण नगरेको इन्जिनियर कटुवाल बताउँछन् ।

व्यवस्थापन राम्रो नहुँदा आयु घट्दो

ल्याण्डफिल्ड साइट प्रयोगमा ल्याउने क्रममा काठमाडौं महानगरले फोहोेर वर्गीकरण गर्ने प्रतिवद्धता जनाएको थियो । तर त्यसअनुसार काम नभएको भन्दै आयोजनाका इन्जिनियर कटुवाल भन्छन्, ‘ल्याण्डफिल साइट जुन डिजाइनमा निर्माण भएको हो, त्यसअनुसार काम गर्न‘ नि ! अहिले एकदम अव्यवस्थित ढंगले काम भइरहेको छ । यसरी जाने हो भने ल्याण्डफिल्ड साइटकै आयु घट्छ ।’

सहरी विकास मन्त्रालयका अधिकारीहरूका अनुसार वर्गीकरण नगरी फोहोर फाल्ने हो भने बञ्चरेडाँडा ल्याण्डफिल साइट २० वर्षमै भरिनसक्छ । तर फोहोर वर्गीकरण गरेर मात्रै फाल्ने हो भने ल्याण्डफिल साइटको आयु ४० वर्षसम्म बनाउन सकिन्छ ।

काठमाडौं महानगरका पूर्वाधार सल्लाहकार लम्साल भने महानगरले फोहोर वर्गीकरणको योजना बनाइरहेको दाबी गर्छन् । भन्छन्, ‘अहिलेकै अनुपातमा नै फोहोर फाले सोचेभन्दा छिट्टै भरिने हो । हामीले यहाँ लामो समय यसरी फोहोर फाल्दैनौं, यहाँ त वर्गीकरणबाट काम नलाग्ने फोहोरहरू मात्रै फाल्ने हो ।’ उनका अनुसार महानगरले कुहिने फोहोरबाट ग्याँस र कम्पोस्ट मल बनाउने तथा नकुहिने तर पुनः प्रयोग गर्न मिल्ने फोहोरलाई पुनः प्रयोग गर्ने र अरुलाई इन्सिलेन्टरबाट नष्ट गर्ने योजना बनाएको छ । कुहिने फोहोरको लागि ५ ठाउँमा एक–एक रोपनी जग्गामा प्रशोधन केन्द्र र एक ठाउँमा २ सय रोपनीको मल उत्पादन केन्द्र बनाउने योजना छ । नकुहिने फोहोरको लागि २ ठाउँमा २०–२० रोपनी जग्गामा प्रशोधन केन्द्र खोल्ने तयारी छ ।

८ ठाउँको सार्वजनिक जग्गा दिन संघीय सरकारसमक्ष प्रस्ताव पठाइएको छ, मन्त्रिपरिषदबाट निर्णय हुनासाथ प्रशोधन केन्द्र निर्माणको काम थाल्ने महानगरको दाबी छ ।

वर्षायाममा समस्या आउनसक्छ

पछिल्लो समय फोहोर व्यवस्थापन तथा संकलनमा कुनै समस्या नभएको महानगरले बताएको छ । महानगरका अनुसार अहिले दैनिक ३११ जना सरकारी कूचिकारले ८ वटा वडा, पार्क र मूल सडक सफा गर्छन् । यस्तै ३८ वटा निजी कम्पनीमार्फत दैनिक ३१४ कूचिकारले महानगरको अन्य वडामा र भित्री गल्लीहरू सफाइ गर्छन् ।

यसरी संकलन हुने फोहोर ल्याण्डफिल्ड साइटसम्म लैजाने सडकको पासाङ ल्हामु मार्ग भदौसम्म कच्ची थियो । शहरी विकास मन्त्रालयको जोडबलमा त्यो सडक अहिले पिच भइसकेको छ । मन्त्रिपरिषद् बैठकबाट निर्णय गरेर बालाजु (मुड्खु)–तीनपिप्ले सडकखण्डको करिब साढे ४ किलोमिटर सडक छिटो प्रक्रियाबाट ठेक्का लगाएको थियो । तीनपिप्लेदेखि बञ्चरेडाँडासम्म भने अहिले कच्ची सडकको रुपमा २ सय मिटर जति एकतर्फी कंक्रिट ढलान गर्न मात्रै बाँकी छ । महानगरका भौतिक पूर्वाधार सल्लाहकार लम्साल भन्छन्, ‘सिसडोलको फोहोरमाथि बनेको सडकमा पनि केही मर्मत गर्न बाँकी छ ।’

तीनपिप्लेबाट मुड्खु (बालाजु)तर्फ जाने एक ठाउँ र तीनपिप्लेबाट बञ्चरेतर्फ जाने ५ ठाउँमा वर्षायाममा पहिरो झर्ने जोखिम देखिएको छ । सडक मर्मत गर्न एउटा डोजर र महानगरको अनुदान रकमबाट १० जना स्थानीय नियमित रुपमा खटाइएको छ । सिसडोलका स्थानीय हुकुम लामा पनि वर्षायाममा सिसडोलको फोहोरमाथि बनेको सडकमा गाडी फसेपछि तीन पिप्लेभन्दा मुनीसम्म गाडी रोकिने गरेको विगत सम्झिन्छन् । भन्छन्, ‘त्यो बेला यहाँ वरपर बसिनसक्नु हुन्छ ।’

त्यही बेला स्थानीयवासीले आन्दोलन गर्ने गर्छन् । अनि काठमाडौंका सडक किनारमा फोहोर थुप्रिन्छ । काठमाडौं महानगरपालिकाका पूर्वाधार सल्लाहकार लम्साल पनि फोहोरमाथि बनेको बाटो र पहिरो झर्ने स्थानमा वर्षायाममा समस्या हुनसक्ने स्वीकार गर्छन् । ‘पहिरो झर्दा फोहोर रोकिन्छ भन्नेमा हामी सचेत छौं’, उनले भने, ‘वर्षामा हुनसक्ने जोखिमको आंकलन गरेर पहिरो र सडक भासिने समस्या रोक्न एक करोडको ठेक्का दिने तयारी गरिरहेका छौं ।’

२२ फाल्गुन २०७९, सोमबार ११:५३



तपाईको प्रतिक्रिया