दूधकुण्ड पछाडी पर्यो

रसुवा । गोसाइँकुण्ड गाउँपालिकामा रहेको पर्यटकीय दूधकुण्ड आवश्यक प्रचारप्रसार र आउजाउ गर्ने बाटोका कारण ओझेलमा परेको छ । कुण्डको विशेषताको कारणमा पर्यटकहरुसम्म जानकारी नपुग्दा र कुण्ड जाने बाटो राम्रो नभएकै कारण समस्या भएको हो ।

स्थानीय कामीनुर्पु तामाङका अनुुसार कुण्डमा बर्सेनि भदौ पूर्णिमाका दिन मेला लाग्ने गरे पनि धेरै वर्षदेखि मेला नियमित छैन । यस वर्ष पनि कोभिड–१९ का कारण मेला लाग्न सकेन । सदरमुकाम धुन्चेदेखि झन्डै पाँच दिनको पैदल यात्रमा यहाँ पुुग्न सकिन्छ । उचित बाटो नभएकाले विदेशी पर्यटक नक्सा हेरेर दूधकुण्ड पुग्ने गरेका छन् ।

टिमुरेदेखि चार दिन लाग्ने बाटो वरपर कुनै बासस्थान नभएकाले यात्रा गर्दा टेन्ट, खाने सामानलगायत बन्दोबस्तीका सामग्री लिएर जानुपर्ने बाध्यता कारण पर्यटकको आकर्षण यो क्षेत्रमा हुन सकिरहेको छैन ।

दूधकुण्डको पानी चामल पखालेको चौलानीजस्तै देखिन्छ । पहिले दूधजस्तै भएकाले दूधकुण्ड नामकरण गरिएको जनविश्वास छ । टिमुरेका प्रमुख लामा गुम्वोवाङ्डा लामाका अनुसार स्थानीयले यस कुण्डलाई तिब्बेतियन भाषामा ‘पेदाङ छो’ भन्ने गर्छन् । फूलको बोट र तोरमा जस्तै आकृति कुण्डका बीचमा देखिन भएकाले यसलाई स्थानीय भाषामा ‘पेदाङ छो’ भनिएको हो । यो कुण्ड १५०० वर्ष अगाडि लामाहरूले पत्ता लगाएको लामा समुुदायले विश्वास गर्ने गरेका छन् । गत्लाङको पार्वती कुण्ड र दूधकुण्ड दिदीबहिनी भएको विश्वास पनि लामा समुुदायमा रहेको छ ।

२९ श्रावण २०७७, बिहीबार १३:३९



तपाईको प्रतिक्रिया