सकिएन किसानका दुःख

आमरण अनशनमा रहेको कृषक घिमिरेलाई भेट्दै एमाले नुवाकाटका नेताहरु ।

विदुर । नेताहरूले नै करोडौँ रूपैयाँ अनुदान कुम्याउने नुवाकोट जिल्लाका एक किसान व्यवसायका लागि लिएको ऋण तिर्न कठिन हुने देखेपछि कृषिमा अनुदान दिनुपर्ने लगायतका केही माग राखेर न्यूरोडमा आमरण अनशनमा बसेका छन् । नुवाकोटको ककनी–२ सिउडेनीका श्रीराम घिमिरे किसानले सस्तो व्याजमा ऋण पाउनुपर्ने र अनुदान पाउनुपर्ने लगायतका माग राखेर न्यूरोडको भूगोलपार्कको चौरमा अनशनमा बसेका हुन् ।

कुखुरा तथा कालिज फार्म सञ्चालन गर्न लिएको ऋणले समस्यामा परेपछि श्रीराम अनशनमा बसेको उनी निकटहरूले बताएका छन् । यद्यपी श्रीरामले भने कृषकलाई अनुदान दिलाउन, बैँकको ब्याजदर २ प्रतिशत कायम गर्न, कृषि मल, बिऊ र औजार अनुदानमा प्राप्त गर्न, कुल बजेटको कृषिमा १० प्रतिशत विनियोजन गर्न, किसान कार्ड लागू गर्न र किसानलाई यातायात भाडामा ५० प्रतिशत छुट दिलाउने माग राखेर सबैका लागि अनशन बसेको बताएका छन् ।

शनिबार श्रीरामको अनशनप्रति ऐक्यबद्धता जनाउँदै नुवाकोटका राजनीतिक नेता र सामाजिक कार्यकर्ताले उचित सम्बोधनका लागि नेपाल सरकारसँग माग गरेका छन् । नुवाकोटका पूर्व सांसद् एवं नेकपा (एमाले) बागमती प्रदेश कमिटी सदस्य नारायणप्रसाद खतिवडाले पीडितको माग सम्बन्धोन गर्नुपर्ने र सर्वप्रथम सरकारले जीवन रक्षाका लागि पहल गर्नुपर्ने बताए । यस्तै समृद्ध नुवाकोट अभियानका महासचिव माधवप्रसाद तिवारीले सरकारले किसानका नाममा बाँड्ने अर्बौ रकम सदुपयोग भएको छ कि छैन भनेर तत्कालै एक उच्चस्तरीय छावनिन समिति बनाएर अनुसन्धान गर्नुपर्ने बताए । नेकपा एमाले नुवाकोटका उप सचिव निलकण्ड आचार्यले वास्तविक किसानहरू चाहिँ आमरण अनशन बस्नुपर्ने र पहुँचवाला नेताहरूले तीनै किसानको नाममा करोडौँ अनुदान कुम्ल्याउने प्रवृतिको अन्त्य हुनुपर्ने बताए ।

अनशसन स्थलमा पुगेका नेकपा एमाले नुवाकोटका उपसचिव निलकण्ठ आचार्यले घिमिरेको जीवनरक्षा पहिलो शर्त भएको बताए । उनले कृषिमन्त्रीको ध्यानाकर्षण गराउन खोज्दा सम्पर्कमा आउन नचाहेको र संम्बधित क्षेत्रका प्रतिनिधिसभा सदस्यको पनि ध्यानाकर्षण गराएको बताए ।

आत्मनिर्भर नेपाल निर्माण अभियानका मुख्य किसान जनस्वयंसेवक नारायणप्रसाद धिमालले राजनीतिका कारण सबै बिग्रिएको भन्दै घिमिरेको जीवनरक्षाका लागि पहल गरिदिन सबैसँग अनुरोध गरे । मागका सम्बन्धमा कृषि मन्त्रालय र किसान आयोगले चासो लिएको भए पनि ठोस पहल नभएको घिमिरेले बताए । यस्तै, अखिल नेपाल किसना महासंघ नुवाकोट जिल्ला कमिटिका अध्यक्ष रमहरि पाण्डेले विज्ञप्ती जारी गरी घिमिरेको माग तत्काल सम्बोधन गर्न आग्रह गरेका छन् ।

११ बैशाख २०८०, सोमबार ०९:५८



तपाईको प्रतिक्रिया