सुकुम्बासी–प्रहरी झडप

६५ घरटहरा भत्काइयो, ७ पक्राउ, ११ सेल अश्रुग्यास प्रहार

घर टहरा भत्काइएपछि आक्रोशित भएकाहरु ।

नुवाकोट । भूकम्पपछि सुरक्षित स्थान खोज्दै आएर विदुर नगरपालिका-१ सिम्बुटारमा बसेका ६५ घरधुरीलाई स्थानीय प्रशासनले शनिबार बल प्रयोग गरेर हटाइएको छ । नगरपालिकाको नेतृत्वमा प्रहरीले घरटहरा भत्काइदिएको हो ।

घरटहरा भत्काउने क्रममा सुकुम्बासी र प्रहरीबीच झडप भएको छ । घटनामा प्रहरीले ७ जनालाई पक्राउ पनि गरेको छ । सुकुम्बासीको ढुंगामुडाबाट केही प्रहरी घाइते भएका छन् । प्रहरी निरीक्षक रुद्र कँडेलको टाउकोमा गहिरो चोट लागेको छ भने एक सहायक हवल्दार घाइते भएका छन् ।

सूचना दिएर बारम्बार आग्रह गर्दा पनि ठाउँ छाड्न नमानेपछि बल प्रयोग गर्नुपरेकाे प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताएका छन् । स्थिति नियन्त्रणमा लिन प्रहरीले ११ सेल अश्रुग्यास प्रहार गरेको उनले बताए । ‘नगरपालिकाले पटक-पटक ठाउँ छाड्न गरेको आग्रहलाई अटेर गरेपछि सुरक्षाकर्मीको सहयोगमा हटाइएको हो,’ प्रजिअ पौडेलले भने, ‘०७५ सालदेखि विभिन्न निकायले पटक-पटक कोसिस गर्‍यो । ३ पटक वडाले, ३ पटक नगरपालिकाले, सर्वदलीय बैठकबाट निर्णय गरेर आग्रहसहित माइकिङ गर्दा पनि नहटेपछि नगरपालिकाले नेतृत्व लिएर अगाडि बढ्न चाहेको बेलामा सुरक्षा दिएका हौ ।’

भूकम्पपीडितले भने हटेर जाने समय नै नदिइ घरटहरा जबर्जस्ती भत्काएको बताएका छन् । सिम्बुटार बस्दै आएकी रसुवा ठूलोहाकुकी मिना घलेले बर्खाको बेला नहटाइदिन आग्रह गरे पनि प्रशासनले बलमिच्याइँ गरेको बताइन् । ‘बाढीपहिरो आएका बेलामा हामी कहाँ जाने ?,’ उनले भनिन्, ‘बर्खामासमा कहाँ गएर बस्ने ? समय दिनु पर्‍यो । चराचुरुंगीले त गुँड खोजेर बसेको छ, हामी त मान्छे हो ।’ व्यवस्थित बसोबास भएपछि जान्छौं भने पनि जबर्जस्ती बिचल्ली पारिएको उनले बताइन् ।

नुवाकोट किस्पाङ-१ भाल्चेका जीतबहादुर घले भूकम्पले गाउँ तहसनहस पारेकाले बस्ने ठाउँ नभएरै सिम्बुटारमा शरण लिएको बताए । ‘गाउँमा पहिरो छ । बर्खाको बेला नउठाइदिए हुन्थ्यो,’ उनले भने । सोही ठाउँकी श्रीमाया घलेले तीन महिनाजति समय दिए सर्न तयार रहेको आग्रह गर्दागर्दै घरटहरा भत्काएर बिजोग बनाइदिएको बताइन । उनले भनिन् ‘हामीलाई जाने ठाउँ व्यवस्था गरिदिनुस् जग्गा छोडिदिन्छु भनेका हौं ।’

विदुर नगरप्रमुख राजन श्रेष्ठले पटकपटक समय दिँदा पनि नहटेपछि जबर्जस्ती गर्नु परेको बताए । ‘उहाँहरुलाई समय दिएका थियौं,’ उनले भने,‘जहिले पनि एक/एक वटा बहाना गरेर बस्दै आए । अति भएपछि बल गरेर हटाउनु पर्‍यो ।’

२०७२ वैशाखको भूकम्पपछि विभिन्न ठाउँका विस्थापित सिम्बुटारमा बसोबास गर्दै आएका थिए । सुरुवातका केही वर्ष भूकम्पपीडितका बस्तीमा राहत पनि वितरण गरिएको थियो ।

सुरुमा म्यागङ, किस्पाङ, सूर्यगढी गाउँपालिका र रसुवा हाकुका गरी ९३ घरपरिवार भूकम्पपीडित बसेका थिए । पछि २८ घरधुरी आफ्नो थातथलो फर्किए भने ६५ धुरी बसिरहेका थिए । भूकम्पपीडितका लागि निजी आवास निर्माणमा सघाउने सरकारी लाभग्राही सूचीमा परेर राहत लिए पनि थातथलो फर्किन नमानेकालाई विदुर नगरपालिकाले २०७५ देखि सिम्बुटारको जग्गा खाली ३/३ पटक ताकेता गर्दा अटेर गरेको जनाएको छ ।

सिम्बुटारमा भूकम्पपीडित बसेको जग्गा विदुर नगरपालिका, जिल्ला विपद् व्यवस्थापन समिति र गृह मन्त्रालयले २०७९ सालमा पोष्टबहादुर बोगटी बहुप्राविधिक शिक्षालयको नाममा सरकारले भाडामा दिएको छ । उक्त जग्गा १ सय ४३ रोपनी छ ।

११ भाद्र २०८०, सोमबार १०:३०



तपाईको प्रतिक्रिया