सामुदायिक आँखा केन्द्र र अस्पतालले संयुक्त सेवा दिँदै

गएको हप्ता बेलकोटगढीमा सामुदायिक आँखा केन्द्रले गरेको निःशुल्क शिविर ।

विदुर । सर्वसाधारणको सुविधाका लागि नुवाकोटका विभिन्न स्थानमा आँखा उपचार परीक्षण शिविर सञ्चालन गरिएका छन् । आँखाको परीक्षणबाट पहिचान भएकाहरूको मोतियाविन्दुको निःशुल्क शल्यक्रिया गरिने छ । नुवाकोट सामुदायिक आँखा केन्द्र विदुर र तिलगंगा आँखा प्रतिष्ठानको आयोजनामा बेलकोटगढी नगरपालिका ९ बाघखोरमा १ दिने मोतियाविन्दु पहिचान शिविर सम्पन्न भएको छ । उक्त शिविरमा ८५ जनाले आँखा परीक्षण गरेका छन् ।

जसमध्ये ६ जनाको मोतियाविन्दुको शल्यक्रिया गरिनुपर्ने भएको छ । उनीहरूको विदुरमा तिलगंगा आँखा प्रतिष्ठानका वरिष्ठ नेत्ररोग विशेषज्ञद्वारा नुवाकोट सामुदायिक आँखा केन्द्रको शल्यक्रिया कक्षमा मोतियाविन्दुको शल्यक्रिया गरिने केन्द्रका प्रमुख तारा वाइवाले जानकारी दिए । यसका साथै म्यागङ गापाको देउरालीमा १ दिने मोतियाविन्दु छनौट शिविर सम्पन्न भएको छ । उक्त शिविरमा १२७ जनाले आँखा परीक्षण गरेकामा २५ जनाको मोतियाविन्दुको शल्यक्रिया गर्न‘पर्ने पहिचान भएको छ । असोज २२ र २३ गते विदुरमा तिलगंगा आँखा प्रतिष्ठानका वरिष्ठ नेत्ररोग विशेषज्ञद्वारा आंखाको मोतियाविन्दुको शल्यक्रिया गरिने केन्द्रका अध्यक्ष निरन्जनप्रसाद आचार्यको भनाइ छ । यसका साथै बिदुर नगरगाउँपालिकामा विद्यालय शिक्षक तथा विद्यालय नर्सहरूका लागि एक दिने आँखाको प्राथमिक उपचार तालिम सम्पन्न भएको छ ।

सामुदायिक आँखा केन्द्र नुवाकोटको शुक्रबार सामाजिक लेखा परिक्षण सम्पन्न भएको छ । जिल्ला समन्वय समितिका प्रमुख रजिन्द्रविक्रमसिंह ठकुरी, प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल लगायतको उपस्थिति केन्द्रको स्थापनाकालदेखि वर्तमान अवस्थाको बारेमा जानकारी र सामाजिक परीक्षण कार्यक्रम गरिएको आँखा केन्द्रका प्रमुख ताराबहादुर वाईबाले बताए ।

केन्द्रले चालुआर्थिक वर्षमा त्रिशुली अस्पतालसँग सहकार्य गरी जिल्लामा आँखा उपचार सेवालाई सहज र परिष्कृत गर्दै लगिने केन्द्रका अध्यक्ष निरञ्जनप्रसाद आचार्यले बताए । अब बन्ने केन्द्रको दुईतले पक्की भवनबाट नुवाकोट जिल्लाको साथै रसुवा र धादिङका आँखाका बिरामीहरूमा आँखा उपचारमा थप टेवा पुग्ने उनले बताए । कार्यक्रममा तिलगंगा आँखा प्रतिष्ठानका वरिष्ठ कार्यक्रम अधिकृत हरिबहादुर कार्की र परियोजना व्यवस्थापक रवि गौतमले प्रतिष्ठान र आँखा केन्द्रले जिल्लामा पुर्याएको सेवा, सुविधा र कार्यक्रमबारे प्रस्तुति गरेका थिए ।

केन्द्रले ग्रामिण आँखा केन्द्रको अवधराणा, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, शिक्षक, विद्यालयका नर्सहरू लगायतलाई प्राथमिक आँखा उपचार तालिम समेत दिई सकेका छन् ।

केन्द्रले स्थापनादेखि अहिलेसम्म तीनलाख ५० हजार आँखाका बिरामीलाई उपचार सेवा प्रदान गरेको छ भने करिब पाँचसय बिरामीको शल्यक्रियाद्वारा आँखाको ज्योती फर्काइएको छ ।

२२ आश्विन २०८०, सोमबार ०५:३५



तपाईको प्रतिक्रिया