अपडेट : प्रधानमन्त्री अस्पतालबाट डिस्चार्ज

काठमाडौं । स्वास्थ्य जाँच गराउन नर्भिक अस्पताल पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको स्वास्थ्य परीक्षण रिपोर्ट सामान्य रहेको उपचारमा संलग्न चिकित्कसले बताएका छन् । स्वास्थ्य रिपोर्ट सामान्य देखिएपछि उनी डिस्चार्ज भएका छन् ।

उपचारमा संलग्न एक चिकित्सकका अनुसार प्रधानमन्त्री प्रचण्डलाई पेट र छातीको बीचमा अप्ठेरो महसुस भएको थियो । त्यसैले बेलुकी करिब सवा सात बजेतिर प्रधानमन्त्री प्रचण्ड अस्पताल पुगेका थिए । उनको ब्लड प्रेसर, ब्लड र एन्जिओग्राम गरेर हेरिएको थियो । एन्जिओग्रामले मुटुमा रहेका नशाबाट रक्तसञ्चार भएको वा नभएको पत्ता लाग्छ ।

तर सबै रिपोर्ट सामान्य आएपछि उनलाई डिस्चार्ज गरिएको हो । ‘भीभीआईपीको स्वास्थ्यको सवाल भएकाले हामी सबै टिम बसेर सल्लाह गर्यौं र एनजीओग्राफी, ब्लड रिपोर्ट लगायतका परीक्षण गरेर हेर्यौं । सबै रिपोर्टहरु नर्मल आएकाले डिस्चार्ज गर्ने निष्कर्षमा पुगेका हाैं’, उपचारमा संलग्न एक डाक्टरले भने । उनको स्वास्थ्य जाँच डा. यादव भट्ट, डा. शिवजी सिलवाल लगायतको टोलीले गरेको थियो ।

प्रधानमन्त्री प्रचण्डका स्वकीय सचिव रमेश मल्लले पनि प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य रहेको सामाजिक सन्जालमार्फत जानकारी दिएका छन् । उनले लेखेका छन्, ‘सम्माननीय प्रधानमन्त्रीज्यू स्वास्थ्य परीक्षणका लागि अस्पताल आउनुभएको हो। अहिले उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको र आज नै निवास फर्किनुहुनेछ ।’

१ कार्तिक २०८०, बुधबार ०९:१४



तपाईको प्रतिक्रिया