सहकारीको ब्याजदर बढाउनुपर्ने माग

विदुर । जिल्ला सहकारी संघले चार बुँदे मागसहित जिल्ला अधिकारीमार्फत् सहकारी मन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाएका छन् । सहकारीमा तोकिएको ब्याजदरको रुपमा ‘क्यापिङ’ गरिएको भन्दै सहकारीको सम्पत्ति दायित्व व्यवस्थापनमा चुनौतीपूर्ण बनेकोले कारोबारमा गम्भीर असर पुगेकोले ब्याजदर पुनरावलोकनको लागि मन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो ।

बुधबार संघका अध्यक्ष गोकर्णनाथ न्यौपानेको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय पुगेको पदाधिकारीको टोलीले जिल्ला अधिकारी नारायणप्रसाद रिसालमार्फत भूमि व्यवस्था सहकारी तहत गरिबी निवारण मन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाएका हुन् । सहकारी ऐन र नियमावलीमा भएको सन्दर्भ ब्याजदर सम्बन्धि व्यवस्था अव्यवहारिक भएको हुदाँ खारेज गरिनुपर्ने र खुल्ला बजार व्यवस्था अनुरुप ब्याजदर निर्धारण गर्ने विधि अनुरुप बढीमा ६ प्रतिशत ‘स्प्रेड’दर कायम गरि व्याजदरलाई स्वचालित परिवर्तन हुने विधिको व्यवस्था मिलाउनुपर्ने पर्ने पत्रमा उल्लेख छ ।

हाल सहकारीको सन्दर्भ ब्याजदर १४.७५ प्रतिशत छ । तर, वाणिज्य बैंकहरूले फागुन १ गतेदेखि निक्षेपमा ११.०३ प्रतिशत ब्याजदर दिन सुरु गरेपछि सहकारीलाई १४.७५ प्रतिशत ब्याजदर कम हुने राष्ट्रिय सहकारी महासंघको तर्क छ । यसबाट सहकारीको पैसा बाहिरिएर व्यवसाय नै संकटमा पर्ने खतरा देखिएको भन्दै महासंघको टोलीले रजिष्ट्रारलाई तत्काल सहकारीको सन्दर्भ ब्याजदर बढाउन दबाब कार्यक्रम स्वरूप देशभर प्रमुख जिल्ला अधिकारी मार्फत् पत्र बुझाएका हुन् ।

यसै बीच, बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाहरूका लागि सन्दर्भ ब्याजदर तोकिएको छ । सहकारी विभागले शुक्रबार कर्जाको अधिकतम ब्याजदर १६ प्रतिशत हुनेगरी सन्दर्भ ब्याजदर तोकेको हो । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन) का अध्यक्ष परितोष पौड्यालका अनुसार फागुन १५ गतेबाट लागूहुनेगरी यस्तो ब्याजदर तोकिएको हो । यसअघि बचत तथा ऋणको कारोबार गर्ने सहकारीमा सन्दर्भ ब्याजदर १४.७५ प्रतिशत रहेको थियो । सहकारी ऐन २०७४ को दफा ५१ र सहकारी नियमावली २०७५ को दफा २३ ले सन्दर्भ ब्याजदरसम्बन्धी व्यवस्था गरेको छ । विभागले हरेक वर्ष सन्दर्भ ब्याजदरमा पुनरावलोकन गर्ने गरेको छ । ऋण र बचतको ब्याजदर अन्तर ६ प्रतिशतभन्दा बढी हुन नहुने व्यवस्था छ । अब यदि सहकारीले ऋणको अधिकतम ब्याजदर १६ प्रतिशत लागू गरेमा उसले बचतमा दिने ब्याजदर १० प्रतिशतभन्दा कम हुनु हुँदैन ।

तरलता अभावपछि बैंकहरूले फागुनदेखि लागू हुनेगरी ब्याजदर बढाएसँगै सहकारीहरूले सन्दर्भ ब्याजदर १८ प्रतिशत लागू गर्न‘पर्ने माग गर्दै आएका थिए । वाणिज्य बैंकहरूले फागुनदेखि मुद्दती निक्षेपमै ११.०३ प्रतिशत ब्याज दिने गरेका छन् । बैंकहरूले दिने ब्याजदर बढेपछि सहकारीलाई पनि बचतमा ब्याजदर बढाउनुपर्ने बाध्यता थियो । बचतमा ब्याज बढाएपछि स्वतः ऋणको ब्याज अधिकतम सीमामा खुकुलो पार्न सहकारीहरूले माग गर्दै आएका थिए ।

१६ फाल्गुन २०७८, सोमबार १३:१३



तपाईको प्रतिक्रिया