दसैंलाई आर्थिक मन्दीको असर

प्रहरीले जुवाको खालमा समेत पैसा भेट्न सकेन

चितवन । बडादसैँमा संस्कृति धान्ने काम भए पनि विगतको जस्तो हर्षोल्लास भने छाउन नसकेको पाइएको छ । देशमा देखिएको चरम आर्थिक मन्दी र युवा जनशक्तिको पलायनले दसैँ विगतजस्तो बन्न नसकेको हो ।

दसैँको अघिल्लो दिनसम्म व्यवसायीहरूलाई बैंकबाट फोन आइरह्यो भने त्यहीँ काम गर्ने कर्मचारी पनि निराशा बोकेर दसैँमा सहभागी भए । खर्चिलो दसैँ बन्ने गरेको विगतको तुलनामा यस वर्ष आर्थिक अभावका कारण गर्जो टर्ने गरी मात्र दसैँ मनाउनु परेको व्यवसायीहरू बताउँछन् । निजी क्षेत्रका मालिकमात्र होइन मजदुर कर्मचारीहरूले पनि राम्रो गरी तलब भत्ता पाउन सकेनन् ।

त्यसो त लुकी छिपी जुवातास खेल्नेहरूको खालमा प्रहरीले पैसासमेत भेट्न सकेन । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर कार्की जुवातास नियन्त्रणका लागि प्रहरी परिचालन गरेको भए पनि पेसेवर जुवाडे नभेटिएको बताउँछन् । उनले भने, ‘१५ जना समातिँदा ३० रुपैयाँ हजार पनि नपाएपछि मुद्दा चलाउने अवस्था रहेन ।’ उनको भनाइमा ठूलो रकम राखेर जुवातास खेल्नेहरू यो वर्ष भेटिएनन् । उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष राजन गौतम विगतका दसैँमा जुवातासका ठूलाठूला खाल हुने गरेको सुनेको भए पनि यस वर्ष त्यस्तो नसुनिएको बताउँछन् । उनले भने, ‘आर्थिक मन्दीका कारण दसैँ मनाउने अवस्था नरहेपछि जुवातास कस्ले खेल्ने ?’ हुनेखाने हुँ भन्नेले पनि यसपालि राम्रो र रमाइलो गरी दसैँ मनाउन नसकेको उनी बताउँछन् । उद्योग वाणिज्य संघका अध्यक्ष चुननारायण श्रेष्ठ विगतको तुलनामा ३० प्रतिशत हाराहारी पनि व्यापार नभएको बताउँछन् । यसको प्रत्यक्ष प्रभाव दसैँ पर्वमा परेको उनको भनाइ छ । उनले भने, ‘क्रय शक्ति नहुँदा समग्र पर्व प्रभावित बन्यो ।’ दसैँमा बजार चलायमान हुने अनुमान गरिएको भए पनि त्यसो हुन नसकेको उनी बताउँछन् । यससँगै मानिसहरूमा घुमफिर गर्ने क्रम समेतमा कमी आएको उनले बताए ।

पोल्ट्री व्यवसायी ऋषि पौडेल आर्थिक मन्दी र युवा जनशक्ति पलायन भएका कारण दसैँ उत्साहजनक बन्न नसकेको बताउँछन् । उनले भने, ‘दसैँमा कुनै उत्साह देखिएन, यसको कारण आर्थिक मन्दी र युवा जनशक्तिको पलायन हो ।’ मासुको अधिक प्रयोग हुने दसैँमा खसी, बोका, च्याङ्ग्रा, कुखुरा बिक्न नसकेको उनले बताए । उनले भने, ‘सुरुका दिनमा जिउँदो खसी प्रतिकिलो छ सय रुपैयाँमा बिक्री भएकामा पछिल्ला दिनहरूमा पाँच सय रुपैयाँमा पनि बिक्न सकेन ।’ कुखुराको खपत पनि निकै न्यून भएको उनी बताउँछन् ।

नेकपा एमालेका जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने आर्थिक मन्दीका कारण दसैँ उत्साहजनक बन्न नसकेको बताउँछन् । उनले भने, ‘आर्थिक रुपमा कमजोर भएको अवस्थामा बजारको महङ्गीका कारण बाँच्न मुस्किल छ, कसरी दसैँ उमङ्ग हुन्छ ।’ व्यावसायिक क्षेत्र धराशयी भएको र महङ्गी अस्वाभाविक बढेका कारण दसैँ प्रभावित भएको उनको बुझाइ रहेको छ ।

रत्ननगर नगरपालिकाका प्रमुख प्रलाद सापकोटाले आफू प्रमुख हुनुअघि जस्तै गरी यस वर्ष पनि धेरैलाई दसैँ मान्न सहयोग गरे । उनले भने, ‘दसैँ कसरी मनाउनु, आम नागरिकसँग पैसा नै छैन ।’ एकातर्फ आर्थिक मन्दी छ भने अर्कोतर्फ घरका छोराछोरी विदेश हुँदा ती परिवारमा दसैँको उमङ्ग नभएको उनले बताए । उनले भने, ‘संस्कृति जगेर्नाका लागिमात्र दसैँ मान्नुपर्ने अवस्था आएको देखियो ।’ सबै क्षेत्र प्रभावित भएकै कारण दसैँमा उमङ्ग नआएको धेरैको भोगाइ छ ।

१३ कार्तिक २०८०, सोमबार १२:१०



तपाईको प्रतिक्रिया