दर्पण सहकारीको १३ औं बार्षिक साधारण सभा

विदुर । १२ वर्ष अघि युवाहरूले नियमित बचत गर्न स्थापना गरेको समुहबाट सहकारीमा परिणत भएको विदुरको दर्पण बचत तथा ऋण सहकारी संस्थाले शनिवार १३ औं बार्षिक साधारण सभा मनाएको छ । युवा पुस्ताहरूले आफ्नो पुँजी आफ्नै आर्थिक गतिविधिमा लगानी गर्नका लागि सुरु भएको उक्त सहकारी पुँजी परिचालन र शेयर सदस्यहरूको आर्थिक उन्नतीका लागि उदाहरणिय देखिएको छ ।

१३ औं बार्षिक साधारण सभामा प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका अध्यक्ष राजकुमार तिमिल्सिनाले ३२४ शेयर सदस्य रेहेको जानकारी दिए । उक्त सहकारीको शेयर पुँजी ८४ लाख १७ हजार रुपैयाँ रहेको छ । गएको आर्थिक वर्ष २०७८/८८ मा सहकारीले एक करोड ९५ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ । साधारण सभामा सहकारीका कोषाध्यक्ष रामेश्वर अधिकारीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । त्यस्तै लेखा तथा सुपरिवेक्षण समितिका संयोजक सुनिल विष्टले सहकारी संस्थाको समग्र लेखाजोखाको प्रतिवेदन पेश गरे । प्रतिवेदन अनुसार विदुर नगरपालिका भित्र छरिएर रहेको पुँजीलाई सहकारिताको भावना अनुरुप एकीकृत गरी व्यवसायिक तथा उत्पादनमूलक कार्यमा सदुपयोग भएको छ ।

सहकारीका कोषाध्यक्ष रामेश्वर अधिकारीले आउँदो आर्थिक वर्षका लागि आम्दानी तथा खर्च प्रक्षेपणको प्रतिवेदन समेत प्रस्तुत गरेका छन् । उनको प्रतिवेदन अनुसार गएको आर्थिक वर्षमा सहकारी संस्थाले झण्डै ७५ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । त्यस्तै, चालु आर्थिक वर्षमा एक करोड ४० लाख रुपैयाँ कर्जा लगानी गर्ने लक्ष्य सहकारीले लिएको छ । चालु आर्थिक वर्षमा पाँच करोड ६० लाख रुपैयाँ निपेक्ष संकलन गर्ने योजना सहकारीको रहेको छ ।

दर्पण बचत तथा ऋण सहकारीले शेयर सदस्यहरूलाई चाडपर्व बचत, शेयर सदस्य विरामी उपचार सहयोग कार्यक्रम, बालबालिका बचत योजना जस्ता नमूना कार्यक्रमहरूलाई बेर्षेनी निरन्तरता दिँदै आएको छ ।

२५ पुष २०७९, सोमबार ०५:३६



तपाईको प्रतिक्रिया