सहकारी मार्फत् पाँच अर्ब परिचालन

विदुर । जिल्ला सहकारी संघ लिमिटेडको ३० औं बार्षिक साधारण सभा शुक्रवार सम्पन्न भएको छ ।

साधारण सभाले सञ्चालक समितिको तर्फबाट प्रस्तुत बार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७९/०८० को बार्षिक नीति, योजना तथा कार्यक्रम, आगामी आर्थिक वर्षको अनुमानित बजेट लगायतका प्रतिवेदनहरू पारित गरेको छ । साधार सभामा संघका अध्यक्ष गोकर्णनाथ न्यौपाने, लेखा सुपरिवेक्षण समितिका संयोजक नारायण श्रेष्ठ, कोषाध्यक्ष अरुणकुमार श्रेष्ठको बार्षिक प्रतिवेदन सर्वसम्मत रुपमा पारित भएको छ । सचिव प्रकाशकुमार अधिकारीद्धारा प्रस्तुत आउँदो आर्थिक वर्षको प्रस्तावित नीति तथा कार्यक्रम पारित भएको छ ।

जिल्ला सहकारी संघ लिमिटेडले नुवाकोटको आठ वटा स्थानीय तहहरूमा समन्वय उपसमिति गठन गरिसकेको छ । बेलकोटगढी नगरपालिका, तादी, शिवपुरी र सुर्यगढी गाउँपालिकामा उपसमिति गठन गर्न बाँकी रहेको र त्यसलाई आउने असारसम्ममा पुर्णता दिने संघका अध्यक्ष न्यौपानेद्धारा प्रस्तुत प्रतिवेदनमा उल्लेख छ । यस्तै जिल्लाका विभिन्न सहकारीहरू मार्फत पाँच अर्ब भन्दा बढी पुँजी परिचालन हुँदै आएको बताइएको छ । जसबाट गरिवी निराकरण, रोजगारी सिर्जना र उद्यमशिलताको विकास गर्ने सवल शक्तिको रुपमा सहकारीको विकास भइसकेको अध्यक्ष न्यौपानेले बताए । जिल्ला सहकारी संघ लिमिटेडमा नुवाकोट २८५ वटा सहकारी संस्थाहरू सदस्य छन् ।

जिल्ला सहकारी संघको शेयर पुँजी दुई करोड ३६ लाख २२ हजार रहेको कोषाध्यक्ष अरुणकुमार श्रेष्ठले जानकारी दिए । संघले सदस्य संस्थाहरूसंगको आर्थिक साझेदारीमा विदुर स्थित जिल्ला समन्वय समितिको कार्यालय अगाडी आफ्नै जग्गामा व्यवसायिक बहुउद्देश्यीय सहकारी भवन (दुई वटा) समेत सञ्चालन गर्दै आएको छ ।

कार्यक्रममा बोल्दै बार्षिक साधारण सभामा प्रमुख अतिथि राष्ट्रिय सहकारी महासंघका सञ्चालक टेकप्रसाद चौलागाँईले जिल्ला सहकारी संघ नुवाकोट उत्कृष्ट रहेको बताए । सदस्य संस्थाहरूको दिगो विकास, पुर्नउत्थानदेखि मर्यादित ब्यवसाय र प्रविधिमा सहकारीलाई जोड्न संघले गरिरहेको गतिविधि अन्य सहकारी संघहरूका लागि समेत उदाहरणिय रहेको उनको भनाई छ । संघको ३० औं बार्षिक साधारण सभामा विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठ, संघका पुर्व अध्यक्ष पूर्णलाल श्रेष्ठ, पुर्व अध्यक्ष एवं सहकारी संघका राष्ट्रिय प्रतिनिधि बैकुण्ठ मिश्र, नेपाल पत्रकार महासंघ जिल्ला शाखा नुवाकोटका अध्यक्ष कपिलदेव खनाल, नुवाकोट उद्योग बाणिज्य संघका द्धितिय उपाध्यक्ष सन्तोष उप्रेती, नुवाकोट कफी सहकारी संघ लिमिटेडका प्रतिनिधि लोकेन्द्र महत, बचत तथा ऋण सहकारी संघ लिमिटेडका अध्यक्ष रमेश श्रेष्ठ, राष्ट्रिय सहकारी बैंक लिमिटेड नुवाकोट शाखा प्रमुख प्रदिप अर्याल लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

आर्थिक वर्ष २०७९/८० का लागि सदस्यता विस्तार कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालन गर्ने निर्णय साधारण सभाले गरेको छ । नुवाकोट जिल्लाको सबै वडामा कम्तिमा एउटा सहकारी संस्थालाई सदस्य बनाउने अभियान संघको रहेको छ । नुवाकोटमा ८८ वडा रहेको छ । म्यागाङ गाउँपालिका वडा नं. १ (बर्सुञ्चेत) मा अहिलेसम्म कुनै पनि सहकारी संस्था स्थापना नभएकोले उक्त वडामा संघ पुग्न नसकेको जिल्ला सहकारी संघका अध्यक्ष गोकर्णनाथ न्यौपानेले बताए । उनका अनुसार संघले यसै आर्थिक वर्षमा बर्सुञ्चेतमा सहकारी संस्था गठन गर्ने योजना तय गरेको छ । साथै सञ्चारक्षेत्रमा क्रियाशिल पेशाकर्मीहरूको सञ्चार सहकारी समेत यसै आर्थिक वर्षमा गठन गर्ने उनले बताएका छन् ।

२५ पुष २०७९, सोमबार ०५:३७



तपाईको प्रतिक्रिया