रसुवागढी नाका रोकिदा व्यापार असहज

विदुर । रसुवागढी र तातोपानी नाकाको स्थलमार्ग दिन प्रतिदिन असहज बन्दै गएपछि व्यवसायीहरू जलमार्ग भएर व्यापार गर्न बाध्य भएका छन् ।

चीनले कोरोनाको प्रभाव देखाएर ल्हासा गोदाम र स्थलमार्गहरूमा थन्किएको नेपालीको सामान आयातमा लगाएको प्रतिबन्ध अझै फुकुवा नगर्दा नेपाली व्यवसायीहरू भारतको बाटो भएर दक्षिणी नाका प्रयोग गर्न बाध्य भएका छन् ।

सामान आयातमा असहज भएको मात्र होइन, लामो समयदेखि व्यापार गर्दै आएका नेपालीलाई कोरोनाका कारण अझै चीन फर्कने अनुमति दिइएको छैन । यसबाट उनीहरूले बजारमा मागअनुसारको सामान अर्डर गर्नसमेत पाएका छैनन् ।

गैरआवासीय नेपाली संघका पूर्वउपाध्यक्ष राजनकुमार जमकट्टेल व्यापारीहरू सामान अर्डरका लागि चीन जान नपाएको बताउँछन् । चीनले अहिले आफ्नो मुलुकको वर्किङ अनुमति भएका, चिनियाँ नागरिकसँग विवाह गरेका वा कुनै प्रतिष्ठित कम्पनीको लिखित अनुरोधमा मात्र नेपालीलाई भिसा दिने गरेको छ । त्यसका लागि पनि एक महिनाअघि निवेदन दिनुपर्छ ।

पछिल्लो समय नेपाली व्यवसायीहरूले आफैं चीन गएर अर्डर गर्ने र सामान छुटाउने गर्दै आएका थिए । चीन जान सहज प्रवेश नपाएपछि पोहोर अर्डर गरेका सामान यो वर्ष पनि भित्र्याउन पाएका छैनन । यसबाट व्यवसायीले करोडौं नोक्सानी बेहोर्नुपरेको मात्र होईन, सामान ढिला आउँदा बिक्री नहुने समस्या पनि भोग्नुपरेको छ ।

चीनको मुख्य व्यापारिक स्थल ग्वान्जाउ, इउलगायतका व्यापारिक थालोबाट स्थलमार्ग भएर डेढ सातामा भित्रने सामान जलमार्गबाट ल्याउँदा ३५ देखि ४० दिन लाग्ने गरेको छ । मौसमअनुसारको सामान समयमै भित्र्याएर बजार पु-याउन झण्डै तीन महिनाअघि नै अर्डर गर्नुपर्ने अवस्था छ । यो परिस्थितिले व्यवसायीले सामान बिक्री हुनु अगाडि नै लामो समयसम्म करोडौं रुपैयाँ लगानी गरिरहनुपर्ने भएको छ ।

चीनले भूकम्पपछि तातोपानी नाका चार वर्ष पूरै बन्द गरेको थियो । २०७२ मा खासा क्षेत्रमा सडक नबनेको भन्दै भूकम्पपछि २०७६ जेठसम्म नाकालाई पूर्ण रूपमा बन्द गरिएको हो । त्यसको विकल्पमा २०७२ मंसिरदेखि रसुवागढी नाकालाई प्राथमिकता दिएर सञ्चालन गरिएको थियो । तर उक्त नाकाबाट पनि अहिले सहज रूपमा व्यापार हुन सकेको छैन ।

तातोपानी र रसुवाबाट दैनिक ४–५ कन्टेनर सामान आयात हुने गरेको छ । रसुवा भन्सारबाट आयात गरिने सबै सामान भने अझै भित्रिसकेको छैन । भन्सारका अधिकृत ललिता ज्ञवालीका अनुसार चिनियाँ कन्टेनरले नेपालको मितेरी पुलमा सामान खसालेर फर्कने गरेको छ । उक्त सामान नेपाली कन्टेनरले लोड गरेर भन्सारसम्म ल्याउने गरिएको छ । दुवै नाकाबाट दैनिक न्यून परिमाणमा मात्र सामानको आयात हुँदै आएको छ । रसुवाबाट आयात गरिने सामान अझै केरुङ गोदाममा रहेको व्यवसायी बताउँछन् ।

रसुवा नाकाबाट २७ किमि टाढा केरुङबाट एक चिनियाँ कन्टेनर नेपाली सामान आयात गर्न ढुवानी भाडा ३ लाख ५० हजार रुपैयाँ तिर्नपर्छ । चिनियाँ एक कन्टेनरको सामान नेपाली दुई कन्टेनर हुने गरेको छ । गाडीको अभाव देखाएर चिनियाँले भाडा बढाएपछि जति भन्यो त्यति तिर्नुपरेको गुनासो नेपाली व्यवसायीले गर्दै आएका छन् । एक कन्टेनर सामान काठमाडौं भित्र्याउँदा ढुवानी र लोड–अनलोड भाडामा मात्र ८ देखि १० लाख खर्च हुने गरेको व्यवसायी बताउँछन् ।

२९ मंसिर २०७७, सोमबार १०:०४



तपाईको प्रतिक्रिया