चाडपर्वका लागि हावाघरमा सुपथ मूल्य पसल

बट्टार । नुवाकोटको बट्टार बजार स्थित हावाघरमा दशैं, तिहार, छठलगायत चाडपर्वमा उपभोक्तालाई सहुलियत दरमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले सुपथ मूल्य पसल सञ्चालनमा आएको छ ।

विदुर नगरपालिका–४ हावाघरमा साल्ट ट्रेडिङ कर्पोरेशनको सहकार्यमा सञ्चालनमा आएको सुपथ मूल्य पसलको उद्घाटन संघका अध्यक्ष राजेन्द्र श्रेष्ठले गरेका हुन् । अत्यावश्यक खाद्य तथा उपभोग्य वस्तु सहुलियत मूल्यमा उपलब्ध गराउन चाडवाड अवधिभर यस्ता पसल सञ्चालनमा आउँदा उपभोक्तामा आंशिक राहत पुग्ने संघका अध्यक्ष श्रेष्ठले बताए ।

बाघ बच्छला किराना स्टोरमा सुरु भएको सुपथ पसलमा प्रचलित मूल्यभन्दा दुईदेखि ४३ रुपैयाँसम्म छुट दिएको छ । खानेतेल, चिउरा, मैदा, आटा र दालमा ७÷७ रुपैंया सहुलियत छ भने खानेनुनमा प्रति प्याकेट २ रुपैयाँ र चिनी प्रति किलोग्राममा ४३ रुपैयाँ कम मुल्यमा पाईने छ । पसलबाट बजार मूल्य नियन्त्रण र गुणस्तरीयता कायम गरी सरल, सहज र सर्वसुलभ रूपमा उपलब्ध गराउने साल्ट ट्रेडिङ कर्पोरेशनको उद्देश्य छ ।

चाडबाडको समयमा उपभोक्ता बजारमा निजी क्षेत्रको एकाधिकार हुन नदिन सहुलियत मूल्य पसल सञ्चालनमा ल्याएको उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष सन्तोष उप्रेतीले बताए ।

३० आश्विन २०८०, मंगलवार २०:५६



तपाईको प्रतिक्रिया