भारत र चीनमा हुने निर्यात बढ्यो

विदुर । चालू आर्थिक वर्षको पहिलो चार महिनामा ८२ अर्ब १२ करोड रुपैयाँको वस्तु निर्यात भएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १०.८ प्रतिशतले बढेको हो ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार भारततर्फ १४०.२ प्रतिशत र चीनतर्फ ७.३ प्रतिशतले निर्यात बढेको छ । अन्य मुलुकतर्फको निर्यातमा पनि २३.५ प्रतिशतले वृद्धि भएको छ । पछिल्लो तथ्याङ्कले पाम तेल, सोयाबिन तेल, पिना, धागो (पोलिस्टर तथा अन्य), जुटका सामान लगायतका वस्तुको निर्यात बढेको छ । चिया, अलैँची, तार, जस्तापाता, तामाको तार लगायतका वस्तुको निर्यात भने घटेको छ ।

चालू आर्थिक वर्षको साउनदेखि कात्तिकसम्म कुल वस्तु आयात ६१.६ प्रतिशतले वृद्धि भई छ खर्ब ५० अर्ब २९ करोड रुपैयाँ पुगेको छ । भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः ४६.१ प्रतिशत, ५६.९ प्रतिशत र ११७.२ प्रतिशतले वृद्धि भएको छ । चार महिनामा कुल वस्तु व्यापार घाटा ५६.८ प्रतिशतले वृद्धि भई ५६८ अर्ब १७ करोड रुपैयाँ पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १२.५ प्रतिशतले घटेको थियो । चार महिनामा निर्यात आयात व्यापार घाटा आयात अनुपात १२.६ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात १० प्रतिशत रहेको थियो ।

६ पुष २०७८, मंगलवार १५:२७



तपाईको प्रतिक्रिया