सहकारी संस्थाहरुलाई बार्षिक साधारण सभाको चटारो

विदुर । नुवाकोटको विभिन्न सहकारी संस्थाहरूको बार्षिक साधारण सभा सम्पन्न भएको खबर प्राप्त भएको छ ।

गोसाइँकुण्ड चौतारी बहुउद्देश्यीय सहकारी संस्थाको २० औँ बार्षिक साधारण सभा तथा अधिबेशन सम्पन्न भएको छ ।

नियमित बचत, सुनिश्चित भबिष्य भन्ने नाराका साथ स्थापना भएको गोसाइँकुण्ड बहुउद्देश्यीय सहकारी संस्था र चौतारी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको मर्जर पछिको पहिलो साधारण सभा हो । मर्जर पछिको पहिलो साधारण सभालाई सम्बोधन गर्दै सहकारीका अध्यक्ष ईन्द्रबहादुर पण्डितले जिल्लाभर कार्यक्षेत्र रहेको सहकारीले यस बर्षबाट थप ३ वटा सेवा केन्द्र बिस्तार गर्ने नीति लिएको बताएका छन् । लिखु गाँउपालिका, तादी गाँउपालिका र बेलकोटगढी नगरपालिकामा थप ३ वटा सेवा केन्द्र बिस्तार गरी सहकारीले एकीकृत कारोबार गर्ने जनाएको छ ।

स्थापनाको लामो ईतिहास बोकेको सहकारीले अरु सहकारीलाई मर्ज गर्दै अगाडी जाने नीति समेत लिएको छ । समान उद्देश्य र नीति लिएका सहकारीहरूलाई मर्ज गर्दै अगाडी बढ्ने सहकारीले नीति लिएको छ । हाल बट्टारमा प्रधान कार्यालय र विदुरमा सेवा केन्द्रबाट बचत तथा ऋण परिचालन, निर्धन उत्थान कार्यक्रम सहितको सेवा प्रबाह गर्दै आएको सहकारीले शेयर तथा निक्षेप बढाउदै ब्यबसायिक क्षेत्रमा होमिने नीति लिएको सहकारीका अध्यक्ष पण्डितले प्रस्तुत गरेको प्रतिबेदनमा उल्लेख छ ।

मर्जर पछी सहकारीले १७ करोड ३९ लाख रुपैयाँ निक्षेप संकलन गर्दै १९ करोड ५५ लाख रुपैयाँ ऋण लगानी गरेको छ । ३ करोड १२ लाख रुपैयाँ शेयर पुँजी रहेको सो सहकारीले आगामी बर्षमा शेयर पुँजी समेत बढाउदै लैजाने नीति लिएको छ ।

सहकारीले सञ्चालन गरेको निर्धन उत्थान कार्यक्रममा १४ सय जना महिलाहरू लाभाम्बित रहेका छन् । निर्धन उत्थान कार्यक्रम अन्तर्गत सहकारीले समुहगत लगानीमा हालसम्म ४ करोड भन्दा बढी रकम समुदाय स्तरमा लगानी गरेको छ । लघुबित्त प्रणालीमा रहेर सहकारीले ऋण लगानी तथा सदस्यहरूको जीवनस्तर उकास्दै आएको छ ।

यसै बीच, गोसाइँकुण्ड चौतारी बहुउद्देश्यीय सहकारी संस्थाको नयाँ सञ्चालक समिति पुनः ईन्द्रबहादुर पण्डितको अध्यक्षतामा सर्वसम्मत रुपमा चयन भएको छ । सञ्चालक समिति उपाध्यक्षमा बाबुराम लामिछाने, सचिवमा सुकमान डङ्गोल, कोषाध्यक्षमा दिपकराज सिलवाल छन् । सदस्यहरूमा गंगालाल श्रेष्ठ, सन्तोष उप्रेती, लक्ष्मी प्रधान, राजेन्द्र पाण्डे, राजेन्द्रबहादुर प्याकुरेल निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै ध्रुबप्रसाद अर्यालयको संयोजकत्वमा लेखा समिति चयन भएको छ । समितिको सदस्यहरूमा विश्वराज भट्टराई र ऋषिप्रसाद रिजाल छन् ।

यस्तै, ढुङ्गेमा रहेको मातामनकामना बचत तथा ऋण सहकारी संस्थाकोको आठौँ बार्षिक साधारण सभा सम्पन्न भएको छ । १ करोड ६ लाख रुपैयाँ शेयर पुँजी रहेको सहकारीले यस आर्थिक बर्षमा १ करोड १७ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ । यस्तै, १ करोढ ६९ लाख रुपैयाँ ऋण लगानी गर्दै सहकारीले यस आर्थिक बर्षमा ४ लाख रुपैयाँ नाफा गर्न सफल भएको छ । समुदायस्तरमा रहेका स–साना रकमहरूलाई निक्षेप संकलन गर्दै ब्यसायिक रुपमा कर्जा लगानी गर्दै आएको छ ।

साधारणसभाको अबसरमा उत्कृष्ट बचत तर्फ सरिता न्यौपाने र रघुनाथ खड्का मगर, उत्कृष्ट ऋणिमा रेणुकुमारी देबीलाई सम्मान गरेको छ । यस्तै, सहकारीका शेयर सदस्यहरूका छोराछोरी मध्ये एसईईमा उत्कृष्ट अङ्क ल्याउने सुष्मा श्रेष्ठ, सलिना श्रेष्ठ र स्पन्दन श्रेष्ठलाई सम्मान गरेको छ ।

यसै बीच, विदुर नगरपालिकाको वडा नम्बर १ त्रिशुलीमा रहेको साँघु बहुद्देश्यीय सहकारी संस्था लिमिटेडको बाह्रौ बार्षिक साधारण सभाले नयाँ नेतृत्व चयन गरेको छ । शनिबार भएको साधारण सभामा पुनः कुमारमान मलेकुकै अध्यक्षतामा सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन गरेको हो । उपाध्यक्षमा अजर अमात्य, सचिवमा नरेश जोशी र कोषाध्यक्षमा रविन्द्रमान श्रेष्ठ चयन भएका छन् । सदस्यहरूमा विजय श्रेष्ठ, लालविर तामाङ, प्रितमराज शाक्य, रमिता ब्रजाचार्य, सरिता जोशी, सिता तामाङ र सुजन ब्रजाचार्य चयन भएका छन् ।

१२ औं साधारण सभाले दिलिप शाक्यको संयोजकत्वमा ३ सदस्यिय लेखा समिति चयन गरेको छ । सदस्यहरूमा विना श्रेष्ठ र प्रकाश बोगटी चयन भएका छन् । यसैगरी हरिचन्द्र अमात्यको संयोजकत्वमा तीन सदस्यिय ऋण उपसमिति चयन भएको छ । सदस्यहरूमा सुनिल ब्रजाचार्य र राजेशमान श्रेष्ठ छन् । सरला प्रधानको संयोजकत्वमा तीन सदस्यिय शिक्षा उपसमिति चयन भएको छ । सदस्यहरूमा अञ्जली राजभण्डारी र मेनका श्रेष्ठ छन् ।

६१ लाख ३३ हजार रुपैयाँ निक्षेप संकलन गरेको सहकारीले विभिन्न क्षेत्रमा ३ करोड ६ हजार रुपैयाँ कर्जा लगानी गरी ५३ लाख २७ हजार रुपैयाँ नाफा कमाउन सफल भएको अध्यक्ष कुमारमान मलेकुले प्रस्तुत गरेको बार्षिक प्रतिवेदनमा उल्लेख गरिएको छ ।

यसैगरी विदुर नगरपालिकाको वडा नम्बर ४ विदुरमा रहेको जनमुखी बहुद्देश्यीय सहकारी संस्था लिमिटेडले १३ औ बार्षिक साधारणसभा सम्पन्न गरेको छ । १ करोड ३७ लाख रुपैयाँ शेयर रकम रहेको सहकारीले ५ करोड ९१ लख रुपैयाँ ऋण लगानी गरी १२ लाख रुपैयाँ खुद नाफा गर्न सफल भएको कोषाध्यक्ष रामप्रसाद प्याकुरेलले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

७ सय ३० जना शेयर सदस्यहरू रहेको सहकारीको आफ्नै ३ तले भवन रहेको छ । नुवाकोटको दुप्चेश्वर गाँउपालिकाको गाँउखर्क र बेतिनीबाहेक जिल्लाभर कार्यक्षेत्र रहेको सहकारीका व्यवस्थापक भोजराज पनेरुले जानकारी दिएका छन् ।

विदुर नगरपालिका वडा नम्बर ४ बट्टारमा रहेको बट्टार सहकारी संस्था लिमिटेडको २६ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभामा सञ्चालक समितिको तर्फबाट वार्षिक प्रतिवेदन प्रस्तुत गर्दे सहकारीका अध्यक्ष ओमप्रकाश श्रेष्ठले आर्थिक वर्ष २०७७/७८ को अन्त्यसम्ममा सहकारीको सेयर पूजी ५ करोड १३ लाख २५ हजार ४ सय रुपैयाँ पुराउन सफल भएको बताएका छन् ।

अध्यक्ष श्रेष्ठले प्रस्तुत गरेको प्रतिवेदनमा सहकारीले आर्थिक वर्ष २०७७/७८ मा ७ लाख ५९ हजार एकसय ९२ रुपैयाँ खुद नाफा कमाउन सफल रहेको उल्ल्ेख छ । साधारणसभामा सहकारीका व्यवस्थापक हरिप्रसाद जोशीले आर्थिक वर्ष २०७८/७९ को अनुमानित बजेट कार्यक्रम र आर्थिक वर्ष २०७७/७८ को लेखा परिक्षण प्रतिवेदन पेश गरेका थिए ।

यस्तै, संगम बचत तथा ऋण सहकारी संस्थाको १७ औं वार्षिक साधारणसभा तथा २५ औं वार्षिकोत्सब सम्पन्न भएको छ । संस्थाको आर्थिक वर्ष २०७७/७८ मा बचतमा झण्डै ११ प्रतिशतले बृद्धि भएर २२ करोड ६८ लाख पुगेको त्यस अवसरमा संस्थाका अध्यक्ष नारायण श्रेष्ठले जानकारी दिएका छन् ।

सभामा सहकारीका कोषाध्यक्ष दिनेशकुमार श्रेष्ठले आव २०७८/०७९ को लागि बजेट, नीति तथा कार्यक्रम र आव २०७७/०७८ को आर्थिक तथा लेखा परिक्षेण प्रतिवेदन प्रस्तुत गरेका छन् ।

राष्ट्रिय सहकारी महासंघ नेपालका अध्यक्ष मिनराज कँडेलको प्रमुख आतिथ्यतामा संगमको बार्षिक साधारण सभा सम्पन्न भएको थियो । यसै बीच, संगम साकोसको २५ औं वार्षिकोत्सवको अवसरमा आयोजित जिल्लास्तरीय हाजिरीजवाफ प्रतियोगितामा विन्दुकेशर मावि प्रथम भएको छ ।

संगम साकोसको वार्षिकोत्सव एवम् संगम रजत महोत्सवको अवसरमा आयोजित जिल्ला स्तरीय मावि हाजिरीजवाफ प्रतियोगितामा विन्दुकेशर प्रथम भएको कार्यक्रम संयोजक विष्णुकुमार चित्रकारले जानकारी दिए ।

प्रतियोगितामा स्पार्कल इन्टरनेशनल स्कुल कोलनी द्वितीय र चन्द्रज्योती माध्यमिक विद्यालय तेश्रो भएको छ ।

प्रतियोगिताका विजयीहरूलाई साधारणसभा एवं रजत महोत्सव समारोहमा पुरस्कार प्रदान गएिको छ । त्रिभवन त्रिशुली माध्यमिक विद्यालयको प्राङ्गणमा भएको प्रतियोगितामा ११ वटा विद्यालयले सहभागिता जनाएको थियो ।

२० पुष २०७८, मंगलवार ११:०२



तपाईको प्रतिक्रिया