रसुवा भन्सारबाट दुई गुणा बढी राजस्व

A truck preparing to enter into China at Nepal's boarder to Tibet in Rasuwagadhi.

धुञ्चे । रसुवा भन्सार कार्यालय टिमुरेले वार्षिक लक्ष्यको ६३ प्रतिशतभन्दा बढी राजस्व संकलन गरेको छ । कार्यालयले चालू आर्थिक वर्ष २०७८÷०७९ मा राखेको लक्ष्यको ६३.७१ प्रतिशत बढी राजस्व संकलन गरेको हो ।

भन्सार कार्यालय टिमुरेका प्रमुख रामप्रसाद मैनालीका अनुसार कार्यालयले चालू आर्थिक वर्षमा ६ अर्ब ८१ करोड २१ लाख ९८ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको छ । वर्षको ६ महिना पूरा हुँदा वार्षिक लक्ष्यको चार अर्ब ३४ करोड १३ हजार राजस्व संकलन गरेको मैनालीले बताए । गत आर्थिक वर्षको ६ महिनाको तुलनामा यो आर्थिक वर्षमा दुई गुणाभन्दा बढी राजस्व संकलन भएको जनाइएको छ । साउनदेखि पुस मसान्तसम्म रसुवागढी नाकाबाट आयात भएका चिनियाँ सामग्रीको भन्सार मूल्याङ्कन बाट प्राप्त असुल गरिएको हो ।

दुई आर्थिक वर्षको राजस्व असुली तुलनात्मक रूपमा हेर्दा यस वर्ष झन्डै साढे दुई गुणाले बढेको बताइएको छ । गत वर्ष यस अवधिमा एक अर्ब ७२ करोड २४ लाख दुई हजार रुपैयाँ मात्र असुली भएको थियो । साना–ठूला सबै प्रकारका सवारीसाधन, निर्माणाधीन हाइड्रोपावरका उपकरण, स्याउ, ओखर, तयारी पोसाक, जुत्ता चप्पल, बच्चाका खेलौना, रोल कपडा, विद्युतीय सामग्रीजस्ता विविध सामग्री आयात भइरहेको रसुवा भन्सार कार्यालयले जनाएको छ ।

कोरोना भाइरसको संक्रमणका कारण चीनसँगको अन्तर्राष्ट्रिय व्यापार प्रभावित भएको दुई वर्ष भएको छ । यसको असर स्वरूप रसुवा भन्सार कार्यालयले गएको वर्ष वार्षिक लक्ष्यको आधा पनि राजस्व संकलन गर्न सकेको थिएन । रसुवा भन्सार कार्यालयले निकासी, पैठारी, महसुल, सेवा शुल्क, कृषि सुधार, अन्तःशुल्क भ्याटलगायतका शुल्कबापत भन्सार असुली गर्ने गर्दछ । कोरोना संक्रमण सुरु भएयता चीनले कोटा प्रणालीमा सामान ल्याइरहेको छ । २०७६ माघ १५ देखि २०७७ जेठ २२ गतेसम्म नाका बन्द भयो । त्यसपछि चीनले रसुवागढी नाका एकतर्फी सञ्चालन गरेको हो । चीनले आफ्नै गाडीमा नेपालतर्फको भूभागमा सामान ल्याइदिने गरेको छ । अहिले रसुवागढी नाकाबाट चिनियाँ नौवटा कन्टेनरमा सामान आयात भइरहेको छ ।

१५ माघ २०७८, शनिबार १८:१४



तपाईको प्रतिक्रिया