काम गर्न आठ हजार विदेशिए

विदुर । नुवाकोटबाट वैदेशिक रोजगारीमा जाने बढेका छन् । आर्थिक वर्ष २०७८/७९ जिल्लाबाट वैदेशिक रोजगारीमा जानेको संख्या ८ हजार ४२० जना पुगेका छन् । वैदेशिक रोजगारीमा जाँदा सिप, कानुनी प्रक्रिया अपनाएर जान र सचेत गराउन थालिएको छ । त्यसका लागि अपनाउनुपर्ने विषयका बारेमा विहिबार आयोजित सुरक्षित वैदेशिक रोजगारका विषयमा नुवाकोटका पत्रकारहरूसंग गरिएको अन्तरक्रियामा उक्त जानकारी दिएको हो ।

वागमती प्रदेशबाट मात्रै वैदेशिक रोजगारीमा जान श्रम स्वीकृत लिनेको संख्या ९१ हजार ५१० जना रहेका छन् । रोजगारका लागि दिनानुदिन वैदेशिक रोजगारीमा जाने क्रम बढेपछि उनीहरूलाई सिप विकास, कानुनी विधि प्रक्रिया अपनाएर सुक्षित रोजगारीमा जानुपर्ने विदुर नगरपािलकाका मेयर राजन श्रेष्ठले बताए ।

देशभरि सिप सिकेर जाने ३८ प्रतिशत छ । सिप नसिकेका ५४ प्रतिशत रहेको कार्यक्रममा बताइएको थियो । वैदेशिक रोजगारलाई सुरक्षित, मर्यादित एवं शोषणरहित बनाउन नेपाल सरकार र स्वीस सरकार बीच भएको व्दिपक्षीय सम्झौता अनुसार वैदेशिक रोजगारका लागि सुरक्षित आप्रवासन परियोजनामा सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्र नुवाकोटमा संचालित छ । २०७२ देखि विदुर नगरपालिका, बेलकोटगढी नगरपालिका, लिखुगाउँ पालिका र शिवपुरी गाउँपालिकामा कार्यक्रम लागू गरिएको छ ।

भिजिट भिसा र अध्ययन गर्न जानेको संख्या नुवाकोटमा बढिरहेको स्वीस अन्तर्गत हेल्वेटासका कार्यक्रम अधिकृत भागीराम थारुले आफ्नो कार्यपत्र प्रस्तुत गर्दै बताए । वैदेशिक रोजगारमा गएकाहरू दैनिक ४/६ जनाको शव आउने जानकारी दिए ।
विदेश जान सही सूचना र सिप लिएर मात्रै वैदेशिक रोजगारीमा जान उनले सुझाव दिए ।

कानुनी प्रक्रिया नबुझेर विदेशमा रोजगारगारीमा जाने क्रम बढ्दै गएको विदुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार खनालले बताए । वैदेशिक रोजगारीले आव २०७८/७९ मा १० खर्ब ७ अर्व रेमिट्यान्स देशमा भित्रेपनि सुरक्षित र दक्ष जनशक्ति अभाव कायमै रहेको कार्यक्रममा जानकारी दिइयो । नेपालबाट दैनिक २५ सय जना वैदेशिक रोजगारमा जाने गरेका छन् ।

जिल्ला प्रशासन कार्यालय नुवाकोटका अनुसार गत साउनदेखि फागुनसम्ममा ९ हजार ६६ जनाले राहदानी आवेदन संकलन गरेको छ । गएको ८ महिनामा ८ हजार ४ जनालाई राहदानी वितरण गरिएको प्रमुख जिल्ला अधिकारी किरण थापाले बताए । राहदानी वितरण हुन बाँकी साढे ५ हजार रहेको छ । नागरिकले दक्ष, कानुनी प्रक्रिया बुझेर व्यवस्थित, भरपर्दो र सुरक्षित भएर वैदेशिक रोजगार अपनाउनु पर्ने प्रजिअ थापाले बताए ।

११ बैशाख २०८०, सोमबार ०९:४२



तपाईको प्रतिक्रिया