रसुवाबाहिरकालाई पनि अनुमतिपत्र

फाइल तस्बिर

धुञ्चे । रसुवाबाहेकका जिल्लाका ट्रक चालकलाई पनि चीनको केरुङसम्म जान अनुमतिपत्र जारी हुने भएको छ ।

अध्यागमन विभागको निर्देशनपछि अध्यागमन कार्यालय टिम्मुरे रसुवाले अन्य जिल्लाका ट्रक चालकलाई पनि केरुङ प्रवेशको अनुमतिपत्र जारी गर्न लागेको हो ।

अध्यागमन कार्यालय रसुवाका प्रमुख चूडामणि अर्यालले यसै महिनाको अन्तिमबाट केरुङ प्रवेशको पास जारी गर्ने तयारी भइरहेको बताए । ‘विभागबाट पास जारी गर्न निर्देशन भएको छ,’ अर्यालले भने, ‘अभिलेखीकरणका आवश्यक सबै बन्दोबस्त गरिरहेका छौं । यसै महिनाको अन्तिमबाट पास जारी हुन्छ ।’

अहिले जिल्ला प्रशासनको अनुमतिका आधारमा रसुवाका स्थानीयहरू एक वर्षसम्म चीनतर्फ कामका लागि बस्न पाउने गरी पास जारी भइरहेको अर्यालले बताए । सोही प्रावधान अनुसार हाल मालवस्तु ढुवानी गर्ने ट्रक तथा कन्टेनर चालकका रुपमा रसुवा जिल्लाका चालकलाई मात्रै केरुङ प्रवेशको अनुमति प्राप्त हुन्छ । एउटै जिल्लाका चालकलाई मात्रै माल वस्तु आयात गर्ने अनुमति हुँदा जनशक्तिको अभावको समस्या भएको भन्दै व्यवसायीहरूले अध्यागमन विभागको ध्यानाकर्षण गराएका थिए । चिनियाँ पक्षसँग छलफल भइसकेको भन्दै गत साता विभागले अनुमतिपत्र जारी गर्ने तयारी थाल्न परिपत्र गरेको थियो ।

२०७६ चैतमा कोभिड महामारी देखिएपछि नाकाबाट मानव आवजावत ठप्प भएको थियो । १८ चैत २०७९ मा नेपाल चीन स्थलमार्ग भएर मानिसहरूको आवजावत खुला गर्न नेपाल र चिनियाँ पक्षबीच समझदारी भएको थियो । त्यसलगत्तै रसुवाका नागरिकहरूले केरुङ प्रवेशको अनुमति पाउन थाले पनि अन्य जिल्लाका मानिसका लागि प्रवेश अनुमति अझै बन्द छ । कोभिड महामारी अघि नेपाली नागरिक, व्यवसायी, श्रमिक तथा चालकहरूले प्रवेशाज्ञा लिएर केरुङ प्रवेश पाउँथे । १८ चैतमा भएको समझदारीअनुसार रसुवागढी नाका सहज बनाउन र तातोपानी नाकाबाट पनि मानिसहरूको आवाजावत खुलाउने तयारी अन्तिम अवस्थामा पुगेको सिन्धुपाल्चोक जिल्ला प्रशासन कार्यालयले जनाएको छ । प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेका अनुसार १५ असोजसम्म तातोपानी नाकाबाट मानिसहरू आवाजावत खुल्ला गर्न चीनले सहमति जनाएको छ ।

१८ भाद्र २०८०, सोमबार ०९:४६



तपाईको प्रतिक्रिया