असोज २९ गतेबाट नयाँ नोट

काठमाडौं । नेपाल राष्ट्र बैंकले दसैँ, तिहारलगायत चाडबाडलाई लक्षित गरी यही असोज २९ गतेदेखि नयाँ नोट सटही सुविधा दिने भएको छ ।

राष्ट्र बैंकले आज सूचना जारी गर्दै नयाँ नोट सटही सुविधाबारे जानकारी दिएको हो ।

राष्ट्र बैंकले हरेक वर्ष चाडबाडमा नयाँ नोट सटहीको सुविधा दिँदै आएको छ । काठमाडौँ उपत्यकाभित्रको हकमा राष्ट्र बैंकअन्तर्गतको मुद्रा व्यवस्थापन विभाग र विभिन्न वाणिज्य बैंकका शाखामार्फत नयाँ नोट सटही गर्न सकिनेछ ।

वाणिज्य बैंकहरुले नयाँ नोट सटही सुविधा दिन राष्ट्र बैंकबाट त्यस्ता नोट लिनुपर्नेछ ।

काठमाडौँ उपत्यका बाहिरको हकमा राष्ट्र बैंकको प्रदेशस्थित कार्यालय वा वाणिज्य बैंकका शाखा कार्यालयमा गई नोट साट्न सकिने राष्ट्र बैंकले जनाएको छ ।

यस वर्षको दसैं र तिहारमा पनि नेपाल राष्ट्र बैंकले प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँका दरले सर्वसाधारणलाई नयाँ नोट सटही सुविधा दिने भएको छ ।

अघिल्ला दुई वर्ष जस्तै यस वर्ष पनि राष्ट्र बैंकले प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँ बराबर नयाँ नोट सटही सुविधा दिन लागेको छ । यो ५ देखि १ सय रुपैयाँसम्मको एक/एक बन्डल हो । बैंक तथा वित्तीय संस्थालाई भने राष्ट्र बैंकले ग्राहकको संख्या र संस्थाको मागअनुसार नयाँ नोट उपलब्ध गराउने तयारी छ ।

राष्ट्र बैंकले आफ्ना कार्यालयमार्फत सर्वसाधारण र बैंक तथा वित्तीय संस्थालाई वर्षभर नै नयाँ नोट वितरण गरिरहेको हुन्छ । यद्यपि दसैं, तिहार र छठका लागि सर्वसाधारणबाट नयाँ नोटको माग धेरै आउने भन्दै त्यसलाई नियमित कार्यक्रमसरह मानेर वितरण गर्दै आएको छ ।

विद्युतीय भुक्तानीलाई प्रोत्साहन गर्ने भन्दै यस वर्षदेखि राष्ट्र बैंकले नयाँ नोट सटही गर्न आउनेलाई क्यूआर कोडअन्तर्गत भुक्तानी गर्न आग्रह गर्ने भएको छ । ‘क्यूआर कोडमार्फत भुक्तानी गर्नेबाहेकले नयाँ नोट सटही सुविधा पाउँदैनन् भन्ने होइन, सबैले पाउँछन्,’ उनले भने, ‘तर सम्भव भएसम्म क्यूरआरमार्फत भुक्तानी गर्न हामीले आग्रह गर्छौं ।’

दसैं र तिहारमा हरेक वर्ष ६० देखि ७० अर्ब रुपैयाँ बराबर नयाँ नोट राष्ट्र बैंकको ढुकुटीबाट बाहिरिँदै आएको छ । यसमध्ये १२ देखि १५ अर्ब रुपैयाँ सर्वसाधारणलाई जान्छ । बाँकी रकम बैंक तथा वित्तीय संस्थाले बैंकिङ प्रयोजनका लागि उपयोग गर्छन् । खासगरी सर्वसाधारणले सयभन्दा साना दरका नोट धेरै साट्छन् ।

बैंक तथा वित्तीय संस्थाले सयभन्दा माथि (५ सय र हजार) दरका नोट बढी उपयोग गर्दै आएको राष्ट्र बैंकले जनाएको छ । यो रकममा सिक्काको हिसाब हुँदैन । दसैं र तिहारको अवसरमा सामान्य सिक्कासँगै चाँदी र सुनले बनेका सिक्का (चाँदीका स्मारिका सिक्का र सुनका असर्फी) पनि धेरै बिक्री हुँदै आएको छ ।

दसैं र तिहारका लागि नयाँ नोटको आकर्षण बढ्दो छ । मागअनुसार राष्ट्र बैंकले बर्सेनि वितरण गरिने नयाँ नोटको परिणाम पनि बढाउँदै आएको छ । यसले बजारमा मुद्रा आपूर्ति बढाउँछ । यसको अर्थ नागरिकको हातहातमा धेरै पैसा पुग्छ । हातहातमा पैसा भएपछि खर्च गर्ने प्रवृत्ति बढ्छ ।

खर्च गर्ने क्षमता बढेपछि माग बढ्छ । माग बढेपछि बजारमा वस्तु तथा सेवाको मूल्य बढ्छ । यसले समग्र राष्ट्रको मूल्यवृद्धिदर बढाउँछ । मूल्यवृद्धिदर बढ्नु भनेको पैसाको क्रयशक्ति (भाउ) घट्नु हो । यसकारण पैसाको मूल्य तीव्र रूपमा घट्न नदिन अर्थविद्हरू सुझाउँछन् । यद्यपि पछिल्ला वर्षहरूमा नयाँ नोट सटही राष्ट्र बैंकका लागि चुनौतीपूर्ण बन्दै गएको उनीहरूको धारणा छ ।

२१ आश्विन २०८०, आईतवार २१:०६



तपाईको प्रतिक्रिया