कोरोना संक्रमित व्यक्ति क्याम्पसमै उपस्थित भएर परीक्षामा सहभागि

बट्टार । एक कोरोना संक्रमित विद्यार्थी नुवाकोट आर्दश बहुमुखी क्याम्पस बट्टारकै उपस्थिति भएर परीक्षा दिइरहेका छन् ।

आज सोमवारबाट सुरु भएको ब्याचलर चौथो वर्षको परीक्षामा बेलकोगढी नगरपालिका वडा नं. ८ जिलिङ्गका सरिता पुडासैनी सहभागि भएका हुन् । काठमाडौंको क्याम्पसमा पढ्दै आएका पुडासैनी कोरोना संक्रमित भएपछि त्रिभुवन विश्वविद्यालयले नजिकको क्याम्पसबाटै परीक्षा दिन पाउने व्यवस्था गरिदिएको हो । नुवाकोटमा कोरोना संक्रमित परीक्षा केन्द्रमै उपस्थित भएर परीक्षा दिएको यो पहिलो पटक हो । यसअघि अनलाईन र इन्टरनेटको माध्यमबाट भएका बार्षिक तथा अन्तिम परीक्षाहरुमा मात्रै कोरोना संक्रमितहरु सहभागि भएका थिए ।

नुवाकोट आर्दश बहुमुखी क्याम्पस बट्टारले उनको लागि मात्रै एउटा छुट्टै कक्षा कोठाको ब्यवस्था गरेको छ । अन्य परिक्षार्थी केन्द्रमा प्रवेश गरिसकेको १५ मिनेटपछि उनलाई परिक्षा केन्द्रमा प्रवेश गराइएको र स्वास्थ्य मापदण्ड पुरा गरेर परीक्षामा सहभागि गराइएको क्याम्पस प्रमुख भोलाप्रसाद पाण्डेले जानकारी दिए । उनलाई अन्य परीक्षार्थी क्याम्पसबाट निस्किसकेपछि मात्रै घर जान दिइएको छ । यो प्रक्रृया बाँकी रहेको सबै परीक्षाका दिनहरुमा लागू हुने उनले बताएका छन् ।

कोरोना संक्रमित भएकै कारण परीक्षा नछुटोस् र अन्य परीक्षार्थी तथा प्राध्यापकहरुपनि असुरक्षित नहुन् भनेर विदुर नगरपालिकाको स्वास्थ्य शाखाले विशेष स्वास्थ्य सुरक्षा प्रणाली तयार गरेको छ । विदुर नगरपालिका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक रामराजा भण्डारीका अनुसार उनलाई क्याम्पसको गेटदेखि कक्षा कोठासम्म लैजान र परिक्षा केन्द्रमा रहनुजेलका लागि एक जना स्वास्थ्यकर्मी खटाइएको छ । कोरोना संक्रमित सरिता पुडासैनीको उत्तरपुस्तिका समेत स्वास्थ्यकर्मीले लिने र त्यसलाई सुरक्षित रुपमा राख्ने ब्यवस्था मिलाइएको छ ।

यसरी स्वास्थ्य मापदण्डलाई पुर्णरुपमा पालन गर्दै क्याम्पसले परीक्षामा सहभागिता जनाउने अवसर दिएकोमा परीक्षार्थी सरिता पुडासैनीले खुसी ब्यक्त गरेका छन् । उनले आफ्नो स्वास्थ्यमा समेत सुधार आइसकेको र परीक्षा छुट्ने चिन्ता हराएकोले आफु मानसिक रुपमा समेत स्वस्थ्य रहेको सुनाए ।

उनको लागि मात्रै क्याम्पसले एउटा छुट्टै शौचालय, एउटा अलगै भवनको एउटा कक्षाकोठा, उहाँले प्रयोग गर्ने शैक्षिक सामाग्रीहरु तथा उत्तरपुस्तिका राख्ने दराजको ब्यवस्था गराएको छ । आज सोमवार पहिलो दिन उनलाई जुन प्रक्रियाबाट परीक्षामा सहभागि गराइएको सोही अनुसार बाँकी रहेको परीक्षाको दिनमा समेत सहभागिता गराउने क्याम्पसले जनाएको छ । विदुर नगरपालिका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक रामराजा भण्डारीले उनलाई परीक्षामा सहभागि गराउन र क्याम्पस प्रवेश गरेदखि क्याम्पसबाट घर नपुग्दासम्मको अवस्थामा आफुहरुको प्रत्यक्ष निगरानी रहने बताए । पुडासैनी अहिले बट्टारको आँपघारीमा बस्दै आएका छन् । उनी घरबाट क्याम्पससम्म आउदा पनि स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानी भएको बताइएको छ ।

२९ मंसिर २०७७, सोमबार १७:२५



तपाईको प्रतिक्रिया