त्रिशुली अस्पतालमा बायोग्यास सञ्चालन

त्रिशुली । त्रिशुली अस्पतालले ‘बायोग्यास प्लान्ट’ सञ्चालन गरी फोहरको उचित व्यवस्थापन थालेको छ । यसरी तयार गरिने ‘बायोग्यास प्लान्ट’ जिल्लामा पहिलो हो ।

यसबाट फोहर ब्यवस्थापनको साथमा अस्पताललाई आवश्यक पर्ने ऊर्जा सस्तोमा प्राप्त भएको छ । सुत्केरी हुँदा निस्कने प्लासेन्टा, अन्य मानव अङ्ग, खेर गएका खानेकुरा र अन्य सड्ने गल्ने फोहरबाट अस्पतालमा बायोग्याँस प्लान्ट जडान गरी ग्यास उत्पादन गर्न थालिएको हो । अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष राजु पण्डितका अनुसार गत हप्ताबाट प्लान्ट सञ्चालनमा आएको छ । त्यसबाट उत्पादन भएको उर्जा अस्पतलले विक्रि समेत गरिसकेको छ । पण्डितका अनुसार अस्पतालका बिरामीहरूलाई खाना खुवाउने क्यान्टिनलाई मासिक पाँच हजार रुपैयाँमा उत्तल प्लान्टबाट उत्पादन भएको उर्जा विक्रि गरिएको हो ।

४० घनमिटरको सो प्लान्टबाट दैनिक ८० जना व्यक्तिलाई विहान बेलुका खाना बनाएर खुवाउन सकिन्छ । यो प्लान्टमा निस्किएको ग्यास अस्पतालको चिकित्सकहरूको मेसमा तथा बिरामीहरूलाई निःशुल्क खाना बनाउने प्रयोजनको लागि प्रयोग गरिने अस्पतालका अध्यक्ष पण्डितले जानकारी दिए । उनका अनुसान हाल क्यान्टिनमा मात्रै यो प्लान्टको उर्जा खपत भइरहेको छ ।

अस्पतालले मासिक १० हजार बराबरको एलपी ग्यास बिरामीलाई निःशुल्क खाना खुवाउन खर्च गर्दै आएको छ ।

स्वास्थ्य मन्त्रालय बागमती प्रदेशको अस्पताल सुदृढ़ीकरण कार्यक्रमको आठ लाख रुपैयाँको लागतमा त्रिशुली अस्पतालले बायोग्यास प्लान्ट निर्माण गरेको हो । यसबाट सड्ने गल्ने फोहरको दीर्घकालीन व्यवस्थापन मात्रै नभएरु उर्जाको नयाँ श्रोत समेत थपिएको र त्यसबाट अस्पताले आम्दानी समेत गर्न थालेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. दिपेन्द्र पाण्डेले बताए ।

स्याटेलाइट क्लिनिक नविकरण

त्रिशुली अस्पतालमा कान्ति बाल अस्पतालको स्याटेलाइट क्लिनिक सञ्चालन गर्नेबारे सम्झौता नवीकरण भएको छ । बिहीबार दुई अस्पतालले २०८० भदौं मसान्तसम्मका लागि उक्त सम्झौता नवीकरण गरेका हुन् ।

त्रिशुली अस्पतालका तर्फबाट मेसु डा. दीपेन्द्र पाण्डे र कान्ति बाल अस्पतालका तर्फबाट निर्देशक डा. युवानिधी बस्यौलाले सझौतापत्रमा हस्ताक्षर गरेका छन् । उक्त पत्रमा कान्ति बाल अस्पतालले स्याटेलाइट क्लिनिक सञ्चालन गर्दा आवश्यक जनशक्तिको व्यवस्था आफ्नो संस्थाको नियमित सेवा प्रभावित नहुने गरी मिलाउनु पर्ने र त्रिशुली अस्पतालले कान्ति अस्पतालको स्याटेलाइट सेवा प्रभावित नहुने वातावरणको सृजना गरिदिनुपर्ने उल्लेख छ ।

संघीय तथा प्रादेशिक गरी १८ वटा अस्पतालले जिल्ला तथा त्यसभन्दा मूनिका आधारभूत तहका अस्पतालमा विशेषज्ञ सेवा दिनुपर्ने ‘स्याटेलाइट क्लिनिक सञ्चालन सम्बन्धी कार्यविधि सुरु भएसँगै त्रिशुली अस्पतालमा कान्ति बाल अस्पतालको सेवा उपलब्ध हुन थालेको हो ।

६ भाद्र २०७९, सोमबार ०४:००



तपाईको प्रतिक्रिया