जनता पुरान दलबाट वाक्क छन् : सुमनविक्रम पाण्डे

पर्यटन ब्यावसायीको छवि बनाएर चिनिएका सुमनविक्रम पाण्डे यतिबेला नुवाकोट क्षेन नं. २ का जनताको घरदैलो अभियानमा छन् । रवि लामिछानेको पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधिसभामा उम्मेदवारी दिएका उनी यतिबेला कतै पैदल यात्रा त कहीँ मोटर साइकलमार्फत जनताको मन बुझ्दै मत माग्दै हिँडिरहेका छन् ।

सुमन विक्रम पाण्डे ‘पाँडे’ जो नेपाल एकिकरणको ऐतिहासिक पृष्ठभूमीसँग जोडिएका व्यक्तिसमेत हुन् । पृथ्वीनारायण शाहका दौतरी अर्थात् काजी तुलाराम पाँडेका छौटौं पुस्ताका सन्तान पाँडे लामो समयको ब्यावसायिक जीवन पछि राजनीतिमा प्रवेश गरेका छन् । हेलिकोप्टर र हवाइजहाजदेखि विभिन्न १८ वटा कम्पनीका मालिकसमेत रहेका उनी सिंगो देश र सम्पूर्ण नेपाली जनताको समृद्धी र विकासका लागि राजनीतिक यात्रामा होमिएको बताउँदै आएका छन् ।

घन्टी चुनाव चिन्ह लिएर नुवाँकोट २ का जनतासँग भोट माग्दै हिँडिरहेका पाण्डेका आफ्नौ योजना, एजेन्डा चाँहि के–के छन् त ? निर्वाचनको तयारी कस्तो छ र ठूला भनिएका दलभन्दा पृथक बनेर कसरी जनताको घर दैलोमा पुगिरहेका छन् त ? प्रस्तुत छ, यिनै विषयको सेरोफेरोमा गरिएको कुराकानी ।

पर्यटन व्यवसायको यति धेरै अनुभव भएको मान्छे किन राजनीतिमा ?
– म आफै लामो समय पर्यटन क्षेत्रमा भएर होला हाम्रो टुरिजमका बारेमा पूर्ण जानकारी छ । जतिपनि पर्यटन क्षेत्रका विधा छन्, मलाई पूर्ण ज्ञान छ भन्दा फरक नहोला । देशको स्थिती हेर्दा एकदम दुःख लाग्ने देखिन्छ । देशको अवस्था बन्ने भन्दा विग्रदो छ ।

भ्रष्ट्राचार ब्याप्त छ, कुशासनले गर्दा हामी पछी परिरहेका छौं । दैनिक रुपमा २ हजार बढी युवाहरु विदेशिनु पर्ने वाध्यता छ । दिनको ५–६ जना बाकसमा लास फर्किरहेको अवस्था छ । बैंकहरुसँग मौजाद रकम छैन, विदेशी मुद्रा छैन । हामिले गरिरहेको व्यापार व्यवसायमा नाफाको साट्टो घाटा बढीरहेको छ । देशमा राम्रालाई भन्दा हाम्रालाई स्थान दिने परिपाटी बढ्दो छ । गाँउमा किसानलाई मल छैन, व्यापारीको लागी बैंकमा पैसा छैन, उत्पादन भएका बस्तुहरुको बजार छैन ।

यसरी नै देश विग्रदै गयो भने देश सकिन धेरै कुर्नु पर्दैन । देशका युवा भनौ वा कुनैपनि पेशामा आवद्ध भएपनि म कुनै पनि भष्ट्राचार गर्दिन र हुन दिन्न, म देशका लागि केही गर्छु भन्दै गर्दा, देशका युवाहरुले पनि अब अवस्था बदल्नु पर्छ भन्दै जुर्मुराईरहेका छन् । म यहि वेला देशका लागी केही गर्छु भन्ने लागेको छु । राजनीतिमा आएको हुँ । युवाहरुको पार्टी ‘राष्ट्रिय स्वतन्त्र पार्टी’को घण्टी चुनाव चिन्ह लिएर म प्रतिनिधि सभा नुवाकोट २ को उम्मेदवारका रूपमा अघि बढेको हुँ ।

देशमा अन्य ठुला पार्टी पनि थिए, राष्ट्रिय स्वतन्त्र पार्टीबाटै चाँहि किन ?
– व्यवसायीको नाताले मैले सबै पार्टीसँग घुलमिल हुने अवसर पाएको छु । तर, आजसम्म कुनै पनि पार्टीको सदस्यतासमेत लिइँन । ती पुराना पार्टीमा प्रतिस्पर्धा धेरै छ । उहाँहरुले कहिल्यै पनि नयाँ अनुहार, नयाँ जोश जाँगर भएको मान्छे ल्याउनु पर्छ भनेर ठान्नु भएन । उहाँहरुले आफ्ना लागि मात्रै सोच्नुहुन्छ । गएको स्थानिय तहको निर्वाचनबाट नै देशमा स्वतन्त्र उम्मेदवारको खोजी हुन थालेको महशुस भएको र नुवाकोटका युवाहरुले पनि स्वतन्त्र व्यक्तिको खोजि गरिरहँदा मेरो पनि नाम पाउनु भयो । यही कारणले नै मैले उहाँहरुको काँधमा काँध मिलाउन र देशको समृद्धीको लागि नै मैले युवाहरुसँग सहकार्य गरेको हुँ ।

तपाईं स्वतन्त्र भएर नै आउन सक्नुहुन्थ्यो होला नि किन पार्टी रोज्नु भयो त ?
– सुरुवातमा स्वतन्त्रबाट नै आएको थिएँ । काम गर्दै जाने शिलशिलामा विषय र परिस्थितिसँग सम्झौता गर्नु पर्ने रहेछ । हामी हार्न होइन जित्नको लागि खडा भएका हौं । भोलिका दिनमा स्वतन्त्रबाट आएकासँग सहकार्य गर्दै हामी एक भएर पनि काम गर्न सक्छौं ।

अर्कातर्फ हिजो स्थानीय तहको पालिका अध्यक्ष जस्तो हामीलाई कार्यकारीणी अधिकार पनि हुँदैन । हामी त केवल प्रतिनिधिसभा सदस्य मात्रै हुन्छौ । हामीले प्रतिनिधिसभामा गएर कार्यकारी छनोट गर्नुपर्छ त्यसका लागी हामीले एकजना मात्रै नभएर बहुमत नै ल्याउनु पर्छ । त्यसैले देशभरका स्वतन्त्र विचार भएका व्यक्तिहरुको लागी नै यो पार्टी स्थापना भएको हो । र, यस बीचमा उहाँहरुले मलाई पनि अवसर दिनुभयो । मैले पनि देश विकासका लागी उहाँहरुको साथ सहयोगको लागी पछि नहट्ने निर्णयमा पुगेर नै निर्वाचनमा होमिएको हुँ । अर्को कुरा राष्ट्रिय स्वतन्त्र पार्टीको विधानमा पार्टीको ह्विप मान्नु पर्छ भन्ने छैन । स्वतन्त्र भएर आफ्नो विचारलाई प्रस्तुत गर्न सकिने र आफ्नो क्षेत्रका लागि आफै काम गर्न सकिने कुरा उल्लेख छ । जो अन्य पार्टीको विधानमै छैन ।

ब्यवसायी भएर जनताका कुरा सुन्नु तथा नेताहरुलाई भेट्नु र आफै नेतृत्व गर्नको लागी जनातासँग भोटको अपिल गर्दै घरदैलो अभियानमा हिड्दा के के भिन्नता पाउनु भयो ?
– मैले आफु राजनीतिमा होमिनका लागि कम्तिमा हप्ता दश दिन सोचेरै आएको हुँ । हिजोको राजनीतिक अवस्था र भोली हुने राजनीतिक अवस्थामा विल्कुलै फरक देखेको छु । हिजो एक व्यावसायीको नाताले सोच्ने म, अहिले आएर देशका लागि केहि गर्ने संकल्प बोकेर अघि बढेको छु । यो समय इच्छा भएका व्यक्तिहरुका लागी एकदम राम्रो र राइट टाइम हो भन्ने निर्णयबाट अघि बढेको छु ।

निर्वाचनको लागी हामी जनताको घरदैलोमा जाँदा धेरै कुरा पायौं । हिजोका राजनीतिक दल या भनौ प्रतिनिधिहरुसँग जनता एकदम निरास छ । उहाँहरुसँग सबै आश मारिसकेका छन् । राजनीतिक पार्टीका कार्यकर्तासमेत असन्तुष्ट छन् । उनीहरू न त पार्टीका विरुद्धमा जान सक्छन् न जनाताको घरदैलोमा नै । उनीहरू विकल्प खोजिरहेका छन् ।

अर्कातर्फ हाम्रो पार्टीका अध्यक्ष रवि लामिछानेले गरेका कार्यहरुले नै जनताले राष्ट्रिय स्वतन्त्र पार्टी चिनेका छन् । हामीले चिनाइराख्नु नै परेको छैन । उहाँहरुले आफै चिन्नु भएको छ । परिवर्तनको पक्षमा उहाँहरू जागरुक देखिनुहुन्छ ।

तपाईं राजनीतिमा नयाँ हुनुहुन्छ । अर्कातर्फ पार्टी पनि नयाँ नै हो । अब, नुवाकोट क्षेत्र नं. २ मा तपाईंलाई ठूला दल र तीनका उम्मेदवारहरूको दवाव र चुनौती कस्तो छ त ?
– हो उहाँहरुको आफ्नै धरातल छ । संगठन छ । तथापी, उहाँहरु बाहिरबाट हेर्दा मात्रै बलियो देखिनुहुन्छ । विरासतको कुरा गर्दा राजनीतिक विरासत मात्रैलाई मान्नु भन्दा पनि मेरो पनि छुट्टै विरासत छ मैले पनि आफ्नो जीवनमा लामो समय पर्यटन क्षेत्रमा काम गरेर आफ्ना छुट्टै विरासत बनाएको छु । उहाँहरुको भन्दा कम आँक्ने अवस्था म देख्दिन ।

तीन पुस्तादेखि भोट दिएर पठाएका पुराना अनुहारलाई जिताउने हो कि, नयाँ इच्छा शक्ति बोकेर देश बनाउछु भन्ने संकल्प लिएर आएकालाई जिताउने भन्ने पनि हुन्छ । मानौं दशैंमा मासु खाएर अघाएकाहरूलसागपातको खोजि गरेझैं मतदाताले विकल्प खोजिरहेका छन् । मलाई लाग्छ अहिलेको अवस्थामा उहाँहरूले घन्टी चुनाव चिन्हलाई विकल्प मान्नु भएको छ र नुवाकोट २ का जनताले हामीलाइ मतदान गरेर जिताउनु हुने छ ।

हिजो बिवेकशील साझाबाट आफ्नो विचार नै त्यागेर अर्को पार्टीमा प्रवेश गरेका रवीन्द्र मिश्र झैं रवि लामिछानेको अवस्था त्यहीँ हुने हो कि भनेर जनता घन्टीमा मतदान गर्न हिच्किचाउने हुन् कि ?
– हिजो नेकपा माओवादी लामो समय जनयुद्धमा होमिएर शान्तिपूर्ण रुपमा राजनीति गर्न आयो । त्यस समय अन्य अन्य पार्टीहरूले भन्दा माओवादीले धेरै राम्रो ग-यो । तर, जनमत अनुसारको काम गर्न सकेन या भनौ जनताको मन जित्न सकेन अन्तत नेपाली काँग्रेस, एमाले नै हावी भए ।

त्यसपछि दुई पटक संविधान सभाको निर्वाचन भयो र संविधान पनि बन्यो त्यो नेपालका लागी ठुलो जित थियो र हो पनि । त्यस्तो अवस्थामा साना दलहरु पछि परेका थिए र २०७४ को निर्वाचनमा वैकल्पिक शक्तिका रुपमा उदाएका रविन्द्र मिश्र झिनो मतान्तरले पराजित भए । तर यो निर्वाचनको अवस्था त्यस्तो छैन । राजनीतिक दलहरु पुरै दुर्गन्धित भएको अवस्था छ ।

जनताले फरक खोजिरहेको अवस्था छ । पार्टीहरुले भन्दा पनि स्वतन्त्र प्रतिनिधिको खोजी जनताले गरिरहेका छन् । त्यसको ज्वलन्त उदाहरणका रूपमा काठमाडौं महानगरका मेयर वालेन्द्र शाहको जितलाई लिन सक्छौं । र, हामी स्वतन्त्रहरूकै सञ्जाल बाट अघि बढेको शक्ति हौं ।

नुवाकोट २ मा पुगेर घरदैलो गर्दै गर्दा त्यहाँको मुख्य समस्याहरू के पाउनु भयो ?
– पहिलो समस्या जनतामा निरास धेरै छ । बारम्बार भोट दिएर पठाएकाले केहि गरेनन् अब किन दिने भन्ने उहाँहरूमा प्रश्न छ । र, उहाँहरूलाई जवाफ दिन हामी नयाँ उम्मेदवारलाई पनि सहज छैन । यो निकै चुनौतिपूर्ण विषय पनि हो र दोश्रो कुरा जनाताका ठूला–ठूला इच्छा र चाहना छैनन् । उनीहरू साना–साना कुराहरु जस्तै खेती गर्ने बेलामा मल छैन त्यसको समाधान खोजिरहनु भएको छ । हाम्रा बारीमा उत्पादन भएका वस्तुको बजारीकरणका लागि ठाउँ खोजिरहनु भएको छ । बालबालीकाहरू आफ्नो पढाइ सकेर रोजगार कसरी हुने ? गुणस्तिरिय शिक्षाका लागि कहिलेसम्म सहनै धाउने ? जस्ता समस्यामा रुमलिरहनु भएको छ । अन्य भौतिक पूर्वाधारको सहजता, आर्थिक उपार्जन र उद्यमशीलता जस्ता समस्या पनि उति नै छन् ।

यदि तपाईं नुवाकोट २ बाट प्रतिनिधिसभा सदस्य नै बन्नु भयो भने जनताका यी समस्या समाधान गर्न सक्नु हुन्छ र ?
– एउटा प्रतिनिधिले सक्छ र सक्नु पर्छ । प्रतिनिधि भनेको एउटा फोरम हो । यदी संसदमा गएर बोल्यो भने पनि सरकारले त्यसलाई प्रतिकार गर्न असहज हुन्छ । डा. गोविन्द केसीकै उदाहरण छ नि, उहाँका मागलाई राज्यले आफै गएर सम्झौता गरिरहेको हामी देख्दै, सुन्दै भोग्दै आउका छैनौं र ? यदी जनताको आवाज लिएर जनताको प्रतिनिधि भएर संसदमा जाने हो भने र जनताको समस्याहरु राख्ने हो भने राज्य बाध्य भएर ति काम गर्न अघि सर्छ । हाम्रै पालामा जनताका साना–साना आशा र अपेक्षा पूरा गर्न सम्भव छ ।

नुवाकोट २ का लागी ठूला भनिएका दल र तीनका प्रतिनिधिहरू भन्दा फरक योजनाहरू के–के लिएरह निर्वाचनमा होमिनु भएको छ ?
– यसअघि भनिएका समस्या एउटा क्षेत्रका हुन् । व्यक्तिका हुन् । अब पूर्ण जिल्लाको लागी म गएर नुवाकोट जोड्ने ३ वटा मूल सडकका लागि काम गर्नु छ । सहज रुपमा यात्रा गर्न लायक बनाउनु छ । यहाँका जनताकोे माग पनि त्यही नै छ । प्राचिनकालदेखिको चीन र भारतको प्रमुख व्यापरिक मार्ग रहेको नुवाकोटमा आज २४ सै घण्टा ट्रक गुड्न सकिरहेको छैन ।

हामी ट्रेनको कुरा गर्न थालिसकेका छौं तर ट्रक पनि राम्रोसँग गुडाउन सकेको छैनौं । यदी हामीले ती सडकहरु, मार्गहरुलाई प्राथमिकता दिएर काम गर्ने हो भने भोलिका दिनमा दक्षिण एसियाको प्रमुख व्यापारिक केन्द्र हुन सक्ने क्षेत्र हो । चिनको केरुङ नाका वर्षौभरी बन्द हुन्छ, किन त ? कारण, सडकको अवस्था नाजुक भएर नै हो । त्यसलाई हामिले सुधार गर्नुपर्छ । यदी हामीले यो सडकलाई २४ सै घन्टा सहज रुपमा आवातजावत गर्ने बनायौंै भने भोलिका दिनमा वाणिज्य केन्द्रका यो ठाउँलाई स्थापना गर्न सकिन्छ । यसो गर्दा नुवाकोटको आर्थिक अवस्था, शिक्षाको अवस्था, रोजगारीका कार्यहरु पनि स्वत स्थापना हुन्छन् । यसका लागी हामी अहिलेबाटै मास्टर प्लानसहित अघि बढेका छौं । यदी भोलिका दिनमा म आँफु प्रतिनिधि भएर गएँभने म पहिलो प्राथमिकताका साथ काम गर्नेछु । राष्ट्रियदेखि अन्तराष्ट्रिय स्तरमा यसको लागी विशेष पहल रहने छ । चिनसँग विशेष रुपमा सहकार्य हुनेछ ।

तपाईंको अनुभव र ज्ञानका आधारमा कुरा गर्दा नुवाकोट २ को विकासका लागि तपाईंको कार्यशैली कस्तो रहने छ ?
– विषेश गरी मेरो प्राथमिकता आर्थिक क्षेत्रकै लागि रहने छ । आर्थिक रूपमा मूलुक अघि बढ्यो भने अन्य कुरा सँगै जाने हुन् । यदि भोलि निर्वाचित भएँभने पर्यटन क्षेत्रमा मैले गरेको मेहनत र कार्यशैलीलाई प्रयोग गरेर नुवाकोट मात्रै नभएर समस्त देशको पर्यटन क्षेत्रलाई विश्वभर चिनाउनका लागि म लागिपर्नेछु । विकासको अभियान्ता र पर्यटनको योद्धा भएर यही रणनीतिमा रहेर काम गर्ने छु ।

नुवाकोट २ मा निर्वाचित हुन अन्य पार्टी र उम्मेदवारभन्दा केहि फरक शैलीमा लाग्नु भएको हो ?
– राष्ट्रिय स्वतन्त्र पार्टी एक पृथक अवधारणाबाट आएको पार्टी हो । यो स्वतन्त्र नै स्वतन्त्रको एउटा संयुक्त मोर्चा मात्र हो । हामी भित्र परम्परागत राजनीति गर्ने हैसियत पनि छैन र हाम्रो चाहाना पनि छैन । हामी छाति खोलेर जनताका घरघरमा जान्छौ र जनताको मन जित्ने काम गर्ने बाचा र प्रतिवद्धाता गर्छौ ।

हाम्रो नारा नै शक्ति र सत्ता हामी किन्न पनि जाँदैनौ र शक्ति र सत्ताबाट कमाउनपनि जाँदैनौ भन्ने हो । त्यसैले यो देश निर्माणको संकल्प लिएर हामी निर्वाचनमा होमिएका छौं, जनतासँग पनि यहि कुरा बुझाउँदै मत मागिरहेका छौं । र विश्वास छ उहाँहरूले मन र मस्तिश्कबाटै राम्रा उम्मेदवारहरूको विजयी गराउनु हुनेछ ।

२८ कार्तिक २०७९, सोमबार १५:४७



तपाईको प्रतिक्रिया