वैज्ञानिकले बनाए मानव भ्रुण

इजरायली वैज्ञानिकहरूले शुक्रकिट तथा डिम्बको प्रयोग नगरेरै सुरुआती अवस्थाको मानव भ्रुणको प्रतिरुप तयार पारेका छन् । इजरायलको विजम्यान इन्स्टिच्युटका वैज्ञानिकहरूले स्टेम कोशिकाको प्रयोग गरी पाठ्यपुस्तकमा हामीले पढ्दै आएको १४ दिनको मानव भ्रुणकै स्वरुपको नमूना भ्रूण तयार पारेका हुन् ।

प्रयोगशालामा तयार पारिएको सो भ्रुणले हर्मोनहरू समेत उत्सर्जन गरेको र गर्भ परीक्षणमा समेत पोजेटिभ देखिएको थियो । वैज्ञानिकहरूले प्रयोगशालामा कृत्रिम मानव भ्रुणको मोडेल तयार पार्नको उद्देश्य हाम्रो जीवनको सुरुवाती क्षणहरूको बारेमा नैतिक ढंगले बुझ्नमा सहयोग गर्न‘ रहेको बताइएको छ । शुक्रकिट र डिम्बको मिलनपछि गर्भाधारण भएर भ्रुण बन्ने सुरुआती हप्ताहरू निकै नाटकीय परिवर्तनको चरण हो । यस क्रममा सामान्य कोशिकाहरूबाट बच्चा आकारको भ्रुण नै विकास हुन्छ । यो बेला भ्रुण खेर जाने वा बच्चामा विभिन्न खालका शारीरिक विकारहरू आउने समय पनि हो । तर यसबारेमा निकै कम मात्रै थाहा हुन्छ ।

विजम्यान इन्स्टिच्युट अफ साइन्सका प्राध्यापक ज्याकब हान्नाका अनुसार यो चरण ब्लाकबक्स जस्तै हो, जसको बारेमा हामीलाई निकै सीमित मात्रै जानकारी छ । भ्रुण अध्ययनको विषय कानुनी, नैतिक तथा प्राविधिक रुपमै जटिल तथा संवेदनशील विषय हो । तर पछिल्लो समयमा प्राकृतिक भ्रुण विकासलाई जस्ताको तस्तै प्रस्तुत गर्नसक्ने प्रविधिको तीव्र विकास भैरहेको छ ।

इजरायली वैज्ञानिकहरूले विकास गरेको पछिल्लो कृत्रिम भ्रुण सुरुआती मानव भ्रुणका सबै प्रमुख संरचनाहरू देखाउने पहिलो पूर्ण स्वरुपको मानव भ्रुणको मोडेल भएको नेचर जर्नलमा प्रकाशित शोधमा उल्लेख छ । प्राध्यापक हान्ना भन्छन्, ‘यो ठ्याक्कै पाठ्यपुस्तकमा छापिने १४ दिनको मानव भ्रूणको तस्वीर जस्तै छ । यस्तो भ्रुणको नमूनाको विकास यसअघि गरिएको थिएन ।’

यो भ्रुणको विकासका लागि शुक्रकिट र डिम्बको साटो सुरुवाती पदार्थको रुपमा स्टेम कोशिकाको प्रयोग गरिएको थियो जुन कोशिकाहरू सरीरका जुनसुकै तन्तुमा विकास हुनसक्छन् । –बीबीसी

२९ भाद्र २०८०, शुक्रबार १०:२३



तपाईको प्रतिक्रिया