आईटी सेवा निर्यातबाट ६७ अर्ब आम्दानी

काठमाडौँ । नेपालमै बसेर विदेशीलाई सूचना प्रविधि सेवा निर्यात गरिरहेका करिब साढे ६६ हजार आईटी जनशक्तिमार्फत वार्षिक ६७ अर्ब रुपैयाँभन्दा बढी आम्दानी भइरहेको एक अध्ययनले देखाएको छ । यसबाट नेपालको द्रुत आर्थिक विकासमा सूचना प्रविधिले महत्वपूर्ण योगदान पु-याउन सक्ने देखिएको छ ।

इन्स्टिच्युट फर इन्टिग्रेटेड डेभलपमेन्ट स्टडिज (आईआईडीएस) ले गरेको एक अध्ययनले नेपालमा आईटी क्षेत्रले वार्षिक ६७ अर्ब ४६ करोड ५० लाख रुपैयाँ (५१५ मिलियन डलर) आम्दानी गरिरहेको देखाएको छ । उक्त अध्ययनका आधारमा सन् २०२२ मा सूचना प्रविधि सेवा निर्यातबाट देशको कुल गार्हस्थ्य उत्पादनमा १.४ र वैदेशिक लगानी सञ्चितिमा ५.५ प्रतिशत योगदान देखिएको छ । पर्यटन, जलविद्युत्, विप्रेषणसँगै आईटी सेवा निर्यातले पनि नेपालको जीडीपी, विदेशी मुद्रा सञ्चिति र समग्र आर्थिक विकासमा महत्त्वपूर्ण योगदान पु-याइरहेको आईआईडीएस अध्ययनको निष्कर्ष छ ।

‘नेपालबाट आईटी सेवा निर्यातको लगभग ५१५ मिलियन डलर मूल्यांकन गरिएको छ,’ आईआईडीएसले गएको सोमबार सार्वजनिक गरेको नेपालमा सूचना प्रविधिको समग्र अवस्था र सेवा निर्यातसम्बन्धी प्रतिवेदनमा भनिएको छ, ‘आईटी सेवा निर्यातबाट भएको आम्दानी अघिल्लो वर्षको तुलनामा सन् २०२२ मा ६४.२ प्रतिशतले वृद्धि भएको देखिन्छ ।’ उक्त प्रतिवेदनले सन् २०२२ सम्म नेपालमा ७ हजार ६३७ वटा आईटी कम्पनीमध्ये १०६ वटाले सेवा निर्यात गर्ने र यसमा १४ हजार ७२८ फ्रिलान्सरसहित ६६ हजार ५०९ जना आईटीसम्बन्धी काम गर्ने जनशक्ति छ ।

‘आईटी क्षेत्रमा भइरहेको तीव्र आम्दानीले अन्तर्राष्ट्रिय बजारमा उच्च गुणस्तरको सेवा प्रदान गर्न नेपाली जनशक्ति सक्षम रहेको पुष्टि गर्छ,’ प्रतिवेदनमा भनिएको छ । नेपालबाट निर्यात हुने आईटी सेवाहरूमा प्रोग्रामिङ, कोडिङ, डिजाइनिङ, सफ्टवेयर डेभलपमेन्ट र टेस्टिङ मुख्य छन् । नेपाली कम्पनीमध्ये ७८ प्रतिशतले प्रोजेक्टमा आधारित काम पाउने गरेका छन् । ७७.८ प्रतिशत नेपाली कम्पनीले अमेरिकाबाट काम लिइरहेका छन् । हाल जापान, संयुक्त अरब इमिरेट्स र दक्षिण कोरियाबाट पनि नेपाली आईटी कम्पनी तथा फ्रिलान्सरलाई कामको अवसर आउने गरेको आईआईडीएसकी कन्सल्टेन्ट अमृता शर्माले बताइन् ।

४ भाद्र २०८०, सोमबार ०५:१६



तपाईको प्रतिक्रिया