पहिरोकोबाट सतर्क रहन साईरन जडान

रसुवा । रसुवा जिल्लाको उत्तरगया गाउँपालिका वडा नं ४ ढुंगे बस्तीमा गाउँको माथिल्लो भागबाट गैरहेको पहिरोको कारण करिव एक सय भन्दा धेरै घरहरु ठूलो जोखिममा रहेको छ । दुई वर्षअघिदेखि शुरुवात भएको पहिरो नियमित झरिरहेको छ ।

भुगर्वविद तथा प्राविधिकहरुको अध्ययन अनुसार तत्काल संरक्षणको काम गर्न पनि कठिनाइ रहेको हुँदा समुदायलाई पूर्वचेतावनीको लागि उत्तरगया गाउँपालिका,युरोपियन युनियनको सहयोगमा,सामुदायिक आत्मनिर्भर सेवा केन्द्र, पिपुल ईन निड, सेभ द चिल्ड्रेन र स्कट विलसनको साझेदारीमा सञ्चालित प्रतिबद्ध परियोजना र राम लक्ष्मण ईनोभेसनको संयुक्त प्रयासमा पहिरो पूर्व सूचना प्रणाली सेन्सर र साईरन जडान भएको छ । प्रणाली सञ्चालनको लागि पहिरोको माथिल्लो भागमा दुई वटा र तल्लो क्षेत्रमा एक वटा गरि तिन सेन्सर र गाउँको बिचमा साईरन जडान गरिएको छ। उक्त साईरन सोलार मार्फत सञ्चालन हुनेछ।

सेन्सर राखिएको स्थानमा हलचल हुँदा आफैं साईरन बज्नेछ भने सिस्टममा राखिएको मोवाईल मार्फत र बाकस राखिएको स्थानबाट पनि साईरन बजाउन सकिनेछ । प्रणाली भदौ १ र २ गते गरेर जडान सकिएको छ । जडान पश्चात् गाउँ पालिका अध्यक्ष माधव प्रसाद अर्याल,वडा अध्यक्ष अमर बहादुर बुलुन लगायत समुदायका मानिसहरूलाई प्रणाली सञ्चालन, व्यवस्थापन, संरक्षण र उपयोगिताबारे अभिमुखिकरण गरिएको थियो ।

३ भाद्र २०८०, आईतवार १८:१९



तपाईको प्रतिक्रिया