नुवाकोट प्रहरीको ‘स्मार्ट कन्ट्रोल रुम’

विदुर । जिल्ला प्रहरी कार्यालय नुवाकोटले बुधवारबाट औपचारिक रुपमा ‘स्मार्ट कन्ट्रोल रुम’को सुरुवात गरेको छ ।

नुवाकोट प्रहरीले कुनै पनि घटनाको छिटो र छरितो जानकारी लिनुका साथै त्यसको प्रतिकार्यका लागी स्मार्ट कन्ट्रोल रुम सुरुवात गरेको जनाएको छ । स्मार्ट कन्ट्रोल रुमको बुधबार नुवाकोटका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल र विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठले संयुक्तरुपमा उद्घाटन गरेका हुन् ।

कन्ट्रोल रुमको उद्घाटन समारोहमा बोल्दै जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्मुख प्रहरी उपरीक्षक रमेश पण्डितले प्रहरी कन्ट्रोल रुमको १०० मा फोन नलाग्ने जनगुनासोको अन्त्य गर्दै डिजिटल रुपमै घटनाको जानकारी लगत र रिपोर्टको लागि पहिलो चरणमा आन्तरिक स्मार्ट कन्ट्रोल रुम सञ्चालन गरिएको बताए ।

सूचना प्रविधिको प्रयोग गरी गुनासोकर्ता र नजिकको प्रहरीसँग प्रत्यक्ष सम्पर्क गराउने तथा एसएमएसबाट समेत घटनाबारे जानकारी गराई तत्काल घटनास्थल पुग्न यस सम्बन्धी एप पनि सञ्चालनमा ल्याउने तयारी भइरहेको उनले बताए । जसका लागि स्थानीय तहको सहयोग आवश्यक रहेको उनले बताए ।

स्मार्ट कन्ट्रोल रुममा तत्कालका लागि २/२ थान फोन, कम्प्युटर र सिसिटिभी क्यामेरा निगरानी मनिटर गरी सेवाको सुरुवात गरिएको छ । कन्ट्रोल रुम स्थापनार्थ विदुर नगरपालिका, म्यागङ गाउँपालिका, किस्पाङ गाउँपालिका लगायतले सहयोग गरेका छन् ।

बागमती प्रदेशका प्रहरी निरीक्षक राजु केसीले स्मार्ट कन्ट्रोल रुमको बारेमा जानकारी दिँदै सूचना प्रविधिका कारण पछाडी परेको र नागरिकले घटनाको बारेमा जानकारी गराए पनि समयमा प्रहरी आउँदैन भन्ने गुनासो समाधान गर्न स्मार्ट कन्ट्रोलको अवधारणा सहयोगी हुने विश्वास व्यक्त गरे । मकवानपुरमा सञ्चालनमा ल्याई सकेको छ भने काभ्रे र चितवनमा यसपछि सञ्चालनमा ल्याईने केसीले जानकारी दिए ।

२९ भाद्र २०८०, शुक्रबार ११:३०



तपाईको प्रतिक्रिया