सुर्यगढीले किन्यो डोजर

नुवाकोटको सुर्यगढी गाउँपालिकाले डोजर खरिद गरेको छ । सुर्यगढी गाउँपालिकाले जेसिबि (ब्याक हु लोडर) खरिद गरेको हो ।

खरिद गरेर ल्याइएको जेसिबि आईतवारदेखि संचालनमा ल्याइएको छ । जेसिबि संचालनमा आएसँगै गाउँपालिकाको ५ वटै वडाको तत्काल ६२ किलोमिटर बाटो सफा गरिने गाउँपालिकाका अध्यक्ष सन्तवहादुर घलेले जानकारी दिए । उनले पहिला प्राथमिकताको आधारमा पर्ने सडकहरु सफा गरेर शाखा सडकहरु सफा गरेर चाडपर्वमा सबै वडामा वस चल्ने वातावरण मिलाइने अध्यक्ष घलेले बताए ।

गाउँपालिका क्षेत्रका सडक निर्माण, विस्तार, स्तरवृद्धि र अन्य पूर्वाधारको कामका लागि आफ्नै डोजर खरिद गरिएको अध्यक्ष घलेले बताए । गाउँमा सडक निर्माण, स्तरवृद्धि र पूर्वाधार निर्माणका कामलाई मितव्ययी तथा व्यवस्थित बनाउन आफ्नै डोजर खरिद गरेर ल्याइएको उनले बताए ।

यसअघि पालिकामा डोजर नहुँदा वर्षायाममा निकै समस्या हुँदै आएको थियो । सडक अवरुद्ध हुँदा धेरै दिन कुर्नु पर्ने र पाए पनि चर्को भाडा तिर्नु पर्ने समस्या अबदेखि हटेर जाने गाउँपालिकाका अध्यक्ष सन्तवहादुर घलेले जानकारी दिए ।

२५ आश्विन २०८०, बिहीबार १६:४०



तपाईको प्रतिक्रिया