माथिल्लो त्रिशूली–३ बी आयोजनाले गति लियो

काठमाडौं । जनताको जलविद्युत कार्यक्रम अन्तर्गत रसुवा र नुवाकोटमा निर्माणाधीन ३७ मेगावाट जडित क्षमताको माथिल्लो त्रिशूली ३ बी जलविद्युत आयोजनाको कामले गति लिएको छ । कोभिड–१९ महामारीको चपेटामा परेको माथिल्लो त्रिशूली ३ बी जलविद्युत आयोजनाको अहिलेसम्मको समग्र भौतिक निर्माण प्रगति ५८ प्रतिशत पुगेको छ ।

आयोजनाको निर्माण असोज २०८० भित्र –सेप्टेम्बर २०२३ सम्पन्न गर्ने लक्ष्यकासाथ काम धमाधम भइरहेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । नयाँवर्ष मनाउन माघ २०७६ को दोस्रो साता आफ्नो घर गएका चिनियाँ कामदारहरु कोभिड–१९का कारण र्फकन र चीनबाट उपकरण तथा सामाग्री ल्याउन नसक्दा पूर्ण रुपमा काम भइरहेको आयोजनाको निर्माण करिब १५ महिना ठप्पप्रायः भएको थियो ।

आयोजनाको निर्माण २०७७ को चैतबाट मात्र पुनस् सुचारु भएकोमा कोभिड–१९को दोस्रो र तेस्रो लहरका कारणले लगभग तीन हप्ता काम पुनः प्रभावित भएको थियो । साथै, मुख्य सुरुङमा पूर्वर् अनुमानभन्दा ज्यादै कमजोर चट्टान फेला परेका कारण निर्माण प्रभावित भएको थियो । ठेकेदार चिनियाँ कम्पनी सुइफा एएनएचइ ग्रुप कम्पनी, लिमिटेडले अहिले इन्टेक, मुख्य सुरुङ, विद्युतगृह लगायतका मुख्य संरचना निर्माण गरिरहेको छ ।

आयोजनाको प्रवद्र्धक त्रिशूली जलविद्युत कम्पनी लिमिटेडका प्रबन्ध–सञ्चालक मोहन प्रसाद गौतमले ३८०५मिटर लम्बाइ भएको मुख्य सुरुङमध्ये २८६५ मिटर खनिएको बताए । ‘सतही विद्युत गृह खन्ने कार्य सम्पन्न भई संरचनाहरुको कंक्रिटिङ सुरु भएको छ, इलेक्ट्रोमेकानिकल उपकरण र पार्ट्सहरुको जडान गर्दै पहिलो चरणको कंक्रिटिङ आउँदो जेठसम्म सक्ने लक्ष्यकासाथ काम भइरहेको छ,’ गौतमले भने ।

चीनसँगका भन्सार नाकाहरु अझै पूर्ण रुपमा नखुल्दा ठेकेदार कम्पनीले चीनमा खरिद गरिसकेका तथा खरिद आदेश दिइ उत्पादन र प्याकेजिङको चरणमा रहेका निर्माण उपकरण तथा सामाग्रीहरु ढुवानी गरी निर्माणस्थलसम्म ल्याउन सकिरहेको थिएन, केरुङ नाकामा लामो समयदेखि छुटाउन नसकिएका इलोक्ट्रोमेकानिकल उपकरणहरु ऊर्जा र परराष्ट्र मन्त्रालयको पहलपछि ल्हासास्थित महावाणिज्य दूतावासबाट अब छिट्टै भन्सार नाकाबाट छुट्ने जानकारी पाएको उनले बताए ।

इन्जिनियरिङ, खरिद तथा निर्माण (इपिसी ) मोडेलमा आयोजना निर्माणका सुइफा एएनएचई ग्रुप कम्पनीसँग २९ माघ २०७४मा ठेक्का सम्झौता भएको थियो । ठेकेदार कम्पनीले आयोजनाको सिभिल, इलेक्ट्रोमेकानिकल र हाइड्रोमेकानिकलतर्फका सम्पूर्ण संरचना र उपकरणको डिजाइन, निर्माण,जडान तथा संचालन गर्ने छ ।

नेपाल विद्युत प्राधिकरणले निर्माण गरेको ६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली ३ ए जलविद्युत आयोजनाको क्यास्केड आयोजना भएकाले माथिल्लो त्रिशूली ३ बीले बाँध, बालुवा थिग्रायाउने पोखरी –डिसेन्डर) लगायतका संरचनाबनाउनु पर्ने छैन । माथिल्लो त्रिशूली ३ एको विद्युतगृहबाट विद्युत उत्पादन पश्चात निस्किएको पानीलाई आयोजनाको सुरुङमा पठाउन आवश्यक पर्ने गेट जडान गरिसकिएको छ ।

उत्पादित विद्युत हाल सञ्चालनमा रहेको समुन्द्रटार–त्रिशूली ३ बी हब प्रसारण लाइनमार्फत राष्ट्रिय प्रणालीमा प्रवाह हुने छ ।

सेयरबापतको बाँकी रकम छिट्टै संकलन

आयोजनाको प्रवद्र्धक त्रिशूली जलविद्युत कम्पनी लिमिटेडले जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत निश्कासन गरेको सेयर बापतको बाँकी रकम छिट्टै संकलन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि ३७ लाख ५ हजार कित्ता सेयर निश्कासन गरी प्रति सेयर एक सय रुपैयाँ अङकित मूल्यको न्युनतम १० प्रतिशतले हुने १० रुपैयाँ मात्र संकलन गरेको थियो ।

जनताको जलविद्युत कार्यक्रम (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०७५ सेयर वापत चुक्ता गर्न बाँकी रकम आयोजनाको ५० प्रतिशत भौतिक प्रगति र कम्पनीका संस्थापक समूहका सेयरधनीले लिन कबुल गरेको सेयर वापतको रकम सबै चुक्ता गरेपछि मात्र भुक्तानी माग गर्नु पर्ने व्यवस्था छ । ‘कार्यविधिमा भएको व्यवस्था पूरा भइसकेकोले सेयरधनीले चुक्ता गर्न बाँकी ९० रुपैयाँ संकलनका लागि छिट्टै आहृवान गरिने छ साथै सर्वसाधारण समूहमा रहेका अन्य सेयर पनि निष्काशन प्रक्रिया अघि बढाइने छ’, प्रबन्ध–सञ्चालक गौतमले भने ।

आयोजनाका प्रवद्र्धक त्रिशूली जलविद्युत कम्पनी लिमिटेडमा प्राधिकरण र नेपाल टेलिकमको ३०÷३० प्रतिशत संस्थापक सेयर छ । कम्पनीमा रसुवा तथा नुवाकोटका गाउँपालिका र नगरपालिकाको ५ प्रतिशत, रसुवा तथा नुवाकोटका स्थानीय वित्तीय संस्थाको ५ प्रतिशत, रसुवा तथा नुवाकोटबासीको १० प्रतिशत, सर्वसाधारणको १५ प्रतिशत र प्राधिकरण तथा टेलिकमका कर्मचारीको ५ प्रतिशत सेयर रहने छ ।अनुमानित निर्माण लागत ७ अर्ब ४४ करोड रुपैयाँ रहेको आयोजनाको निर्माण अवधिको प्रक्षेपित ब्याज ७८ करोड रुपैयाँ रहेको छ । आयोजनामा ३० प्रतिशत इक्विटी (२ अर्ब ४७ करोड) र ७० प्रतिशत ऋण (५ अर्ब ७६ करोड)बाट लगानी जुटाइएको छ ।

आयोजनाबाट सुख्खायाममा ( मंसिर १६ देखि जेष्ठ १५सम्म) १३ करोड ४८ लाख ८० हजार र वर्षायाममा (जेष्ठ १६ देखि मंसिर १५ सम्म) १५ करोड ७७ लाख १० हजार युनिट विद्युत् उत्पादन हुने छ ।

२६ फाल्गुन २०७८, बिहीबार १२:२८



तपाईको प्रतिक्रिया