‘सबै बुझेर पनि किन अतिरञ्जित गरियो ?’

विदुर । विदुर नगरपालिका वडा नं. २ र ४ मा सञ्चालन भइरहेको बैकल्पिक खानेपानी तथा डिप बोरिङ्ग निर्माण समितिले आफ्नो योजानको विषयमा आएका समाचारहरु र त्यसको टिप्पणीको खण्डन गरेको छ ।

आज विदुरमा पत्रकार सम्मेलन गरेर समितिले यस विषयमा पटक पटक सत्यतथ्य सार्वजनिक गर्दा पनि पुनः समाचारहरु आएको प्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको हो । उपभोक्ता समितिका अध्यक्ष सञ्जीव श्रेष्ठले योजना सम्पन्न हुँदासम्मको सम्पूर्ण आम्दानी खर्च समेत पत्रकार सम्मेलनमा सार्वजनिक गरेका छन् । उनका अनुसार यो योजनामा अहिलेसम्म १ करोड १८ लाख ७ हजार रुपैयाँ खर्च भएको छ । त्यसमा अझै ६ लाख २० हजार तिर्नै बाँकी रहेको उनले जानकारी दिए ।

विदुर नगरपालिका वडा नं. २ र ४ का नागरिकहरुलाई स्वच्छ र पर्याप्त पिउने पानी दिनका लागि विदुर नगरपालिकाले दुई वर्ष अघि बैकल्पिक खानेपानी आयोजना कार्यान्वयमा ल्याएको थियो । नगरप्रुमख सञ्जु पण्डितले प्रयोग गर्ने सवारी साधन खरिदका लागि नगरपरिषद्ले विनियोजन गरेको ५० लाख रुपैयाँ रकमान्तर गरेर खानेपानी आयोजना सञ्चालन गरिएको हो ।

उक्त आयोजना ४८ लाखमा उपभोक्ता समितिसंग विदुर नगरपालिकाले सम्झौता गरेको र समितिले ११ लाख ९८ हजारमा अर्को ठकेदारलाई दिएको समाचार एक सञ्चार माध्यमले सार्वजनिक गर्दै आइरहेको छ । यसै बिषयलाई महालेखा परीक्षकको कार्यालयले तयार गरेको २०७७-को प्रतिवेदनमा निर्माण व्यवसायीनै लगाउनु पर्ने काम उपभोक्ता समितिलाई दिइनु त्रुटी रहेको औल्याएको छ । महालेखाले विदुर नगरपालिकालाई ‘नीतिगत रुपमा दिएको सुझाव’लाई बङ्ग्याएर प्रचार गरिएको भन्दै विदुर नगरपालिकाले आपत्ति जनाइरहेको छ ।

अध्यक्ष सञ्जिब श्रेष्ठ

बैकल्पिक खानेपानी डिप बोरिङ्ग निर्माण उपभोक्ता समितिका अध्यक्ष श्रेष्ठले राजनैतिक प्रतिशोध र पद पाउने दाउपेचका कारण यो कामलाई अतिरञ्जित गरिएको बताएका छन् । ‘हामीलाई यो विषयमा केही लेनादेना छैन, तर त्रिशुली नदीबाट बट्टारको दिवाकरडाँडासम्म दुई किलोमिटर पर लगेर डिप बोरिङ्गको दूई वटा योजनाको पानी खसाल्न ११ लाख ९७ हजार ८ सय खर्च हुन्छ र अरु हिनामिना भयो भन्नु ठिक हुन्छ ?’ उनले भने– ‘१ करोड १८ लाख रुपैयाँ खर्च भएको छ यो योजनामा, यसमा विदुर नगरपालिकाले ४४ लाख ७० हजार हामीलाई उपलब्ध गराएको छ, त्यसबाट डिप बारिङ्गका लागि खाल्डो खन्नका लागि प्रयोग भएको मेसिनको नौं लाख ६० हजार रुपैयाँ तिरेका हौं ।’

उपभोक्ता समितिको तर्फबाट भएको खर्चलाई विभिन्न १० वटा बुँदामा अध्यक्ष श्रेष्ठले सार्वजनिक गरेका छन् । विदुर नगरपालिका र विदुर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले मात्रै यो बैकल्पिक खानेपानी योजना निर्माण सम्पन्न गर्नका लागि आर्थिक र जिन्सी सहयोग गरेको प्रतिवेदन सार्वजनिक भएको छ । जस अनुसार विदुर नगरपालिकाले ४४ लाख ७० हजार रुपैयाँ नगद र खानेपानी संस्थाले जिन्सी ६२ लाख ११ हजार र नगद ५ लाख ६ हजार रुपैयाँ सहयोग गरेको छ ।

विदुर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका सचिव रघुनाथ रिमालले हिजोका दिनसम्म अपुग र त्रिशुली नदीको धमिलो पानी प्रयोग गरिरहेका नागरिकहरुलाई पिड बोरिङ्गको पानीले सहुलियत मिलेको बताए । आन्तरिक राजनीतिक कलह र ‘पावर सो’ गर्ने क्रममा डिप बोरिङ्गलाई विवादमा तान्न खोजिएको प्रष्ट भएको उनले दावी गरेका छन् । आयोजनाको आबश्यकता, पारदर्शीता र प्रभावकारिता देखेर नै बैकल्पिक आयोजनासंग विदुर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले सहकार्य गरेको उनले बताए । ‘यो उपभोक्ता समितिलाई हामीले संस्थाबाट समेत नगद र जिन्सी गरेर ६७ लाख रुपैयाँ सहयोग गरेका छौं’, सचिव रिमालले भने– ‘विदुर नगरपालिकाको मेयर चढ्ने भनेको गाडीको रकम सुरुमै यो योजनामा खर्च भएको हो, त्यसमा अनियमितता भएको भए, ११-१२ लाखले पु-याएर अरु रकम हिनामिना गरेको भए हामी अहिले यो उपभोक्ता संस्थासंग सहकार्य गथ्र्यौै र ! त्यस्तो कुनै पनि अनियमितता, लफडा केही छैन ।’

‘बरु एउटालाई खुईल्याएर अर्को हिरो हुने चक्कर चलेको देखिरहेको छु, यो भन्दा बढि केही होइन । यसमा विदुर नगरपालिकाका मेयर सञ्जु पण्डितलाई मुछ्नु पर्ने ठाउँ र कारण नै देख्दिन’ विदुर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका सचिव रघुनाथ रिमालले भने ।

विदुर नगरपालिकाका प्रवक्ता एवं वडा नं. ४ का अध्यक्ष टकलमान श्रेष्ठले यही बैकल्पिक योजनाबाट १२ सय भन्दा बढि नागरिकहरुले दैनिक पानी खाइरहेको बताए । यस अघि वितरण हुने पानी त्रिशुली नदीको स्वच्छ नभएका कारण खान बाहेक अन्य कुरामा मात्रै प्रयोग हुने गरेकोमा अहिले यो पानी नागरिकहरुले पिउनर खानेकुरामा प्रयोग गरिरहेको उनले सुनाए । ‘एक करोड रुपैयाँ भन्दा बढि लगाएर योजना तयार गरिएको छ, नगरपालिकाले ४४-४५ लाख रुपैयाँ उपभोक्ता समितिलाई दिएको छ, अनि यत्रो आयोजना १०-१२ लाखमा सक्काएर अरु रकम खायो भन्न हुन्छ र ?’, प्रवक्ता श्रेष्ठले भने– ‘डिपबोरिङ्गमा राख्ने पाइपका लागि दुई ठाउँमा खाल्डो खन्ने मेसिनको ज्याला न तिरेको हो त्यो, सबै प्रष्ट बुझेर पनि किन अतिरञ्जित गरियो ?’

उनका अनुसार महालेखा परीक्षकको प्रतिवेदनमा विदुर नगरपाकिलाको यो योजनाको विषयमा यही नै उल्लेख छ । निर्माण व्यवसायी लगाएर गर्नुपर्ने काम उपभोक्ता समितिबाट गरियो र उपभोक्ता समितिले फेरि निर्माण व्यवसायीलाई मसिन प्रयोग गर्ने जत्ति काम दियो । ‘यसैलाई नीतिगत रुपमा उल्लेख गरिएको विषय आर्थिक अनियमितता र लाखौं रकम मेयर आफैले खाए भनेर हल्ला गर्नुएको कुनै आधार र तुक छैन’, श्रेष्ठले भने ।

पत्रकार सम्मेलनमा बोल्दै बैकल्पिक खानेपानी तथा डिप बोरिङ्ग निमार्ण समितिका अध्यक्ष सञ्जिव श्रेष्ठले यो आयोजनाका लागि भएका खर्चको सबै आर्थिक विवरण सुरक्षित राखिएकोले दुविधा उत्पन्ने हुने नागरिकहरुले हेर्न सक्ने र जुनसुैक समयमा पनि सम्पर्क गर्दा हुने बताएका छन् ।

विदुर नगरपालिकाले पनि दुई दिन अघि यस योजनामा भएको खर्चको विवरण, सम्झौता, स्टमेट लगायतका सम्पूर्ण कागजात सार्वजनिक गरिसकेको छ । विदुर नगरपालिकाकाले सार्वजनिक गरेको कागजात सहितको यस अघिको समाचार तलको लिङ्कबाट हेर्नुहोस् ।

१९ भाद्र २०७७, शुक्रबार १५:४४



तपाईको प्रतिक्रिया