असोज १० भित्र पिसिआर मेसिन नुवाकोट आउने

विदुर । नुवाकोटबासीले कोरोना भाइरसको परीक्षण गर्न अब काठमाडौं जानपर्ने बाध्यता अन्त्य हुने भएको छ ।

विदुर नगरपालिकाले पिसिआर मेसिन तथा उपकरण खरिद गरेपछि परीक्षण गर्ने सुविधा जिल्लावासीले पाउन लागेका हुन् । कोरोना सङ्क्रमण बढ्दै गएपछि रोकथाम र नियन्त्रणका लागि पिसिआर मेसिन जिल्लामा ल्याउने चर्चा चर्चामै रहिरहेको थियो । बागमती प्रदेश सरकार र कोइकाले पिसिआर मेसिन दिने भने पनि पछि नदिने जानकारी आएपछि जिल्लाका १२ वटा पालिकाले लगानी गरेर पिसिआर मेसिन ल्याउने निर्णय नवाकोट कोभिड– १९ सङ्कट व्यवस्थापन केन्द्रले गरेको थियो । नगरपालिकाले डेलिभरी तालिकासहित स्पेसिफिकेसन र स्ट्यान्डर तोकेर पिसिआर मेसिन खरिदका लागि साउन ३२ गते सातदिने मिति राखेर बोलपत्र आह्वान गरेको थियो ।

भदौ ८ गते बोलपत्र खोल्नुपर्नेमा सिस्टमले काम नगरेपछि भदौ १५ गते बोलपत्र खोलिएको थियो । पाँचवटा फर्म बोलपत्रमा सहभागी भए पनि नगरपालिकाले तोकेको स्पेसिफिकेसन र स्ट्यान्डरअनसार एक फर्म मात्र छनोटमा पर्न सफल भएको छ । नगरपालिकाले पिसिआर मेसिन खरिद गर्न प्रसुतीगृह थापाथलीका बायोमेडिकल इन्जिनियर डा. स्मृति काफ्लेलाई नियुक्ति गरी प्रक्रिया अगाडि बढाएको थियो । खरिद गरिएको मेसिनको मुल्याङ्कन भौतिक प्रमाणीकरण गर्न नियुक्ति पाएकी डा. काफ्लेले टेन्डर भरेका पाँचवटा फर्मको डेलिभरी तालिका, आईएसओ प्रमाणित, विश्व स्वास्थ्य सङ्गठन र युरोपियन युनियनले तोकेको स्ट्यान्डरलगायतको मापदण्डको आधारमा मेनका इन्टरप्राइजेज प्रालि थापाथली काठमाडौं छनोटमा परेको छ ।

मेनका इन्टरप्राइजेजले अमेरिकन कम्पनीको पिसिआर मेसिन भ्याटसहित ८५ लाख ९१ हजार ३९० रुपैयाँमा उपलब्ध गराउन कबोल गरेको थियो । टेन्डर भरेकोमध्ये पहिलो नम्बरमा परेको कि कन्सेप्ट नेपाल प्रालिले भ्याटसहित ६१ लाख ७७ हजार ७१० मा चाइनिज मेसिन उपलब्ध गराउने भने पनि निर्माता कम्पनीको आधिकारिक पत्र र आइएसओ प्रमाणपत्र र डेलिभरी तालिका नभएकोले छनोटमा नपरेको विदुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुदेवकुमार पोखरेलले जानकारी दिए ।

त्यसैगरी दोस्रो नम्बरमा हेलिक्स इन्टरप्राइजेजले ७७ लाख २२ हजार ३०८ रुपैयाँमा सिंगापुरमा बनेको पिसिआर मेसिन डेलिभरी गर्ने उल्लेख गरेको थियो । उक्त फर्मको मेसिन निर्माता कम्पनीको आधिकारिक पत्र, डेलिभरी तालिका, आइएसओ प्रमाणपत्र लगायतका कागज नभएको नगरपालिकाले जानकारी दिएको छ ।

त्यसैगरी तेस्रो नम्बरमा परेको सुदीप इन्टरप्राइजेजले जर्मनीमा बनेको पिसिआर मेसिन ७७ लाख ५१ हजार २३५ रुपैयाँ भ्याटसहित डेलिभरी गर्ने भने पनि तोकेको कागजपत्र नभएकाले छनोटमा नपरेको नगरपालिकाले स्पष्ट पारेको छ ।

चौथो नम्बरमा परेको मेनका इन्टरप्राइजेजले अमेरिकामा बनेको पिसिआर मेसिन भ्याटसहित ८५ लाख ९१ हजार ३९० रुपैयाँमा र पाँचौँ नम्बरमा परेको मेडी सोलुसन प्रालिले चाइनामा बनेको पिसिआर मेसिन भ्याटसहित ८८ लाख १२ हजार ४१८ रुपैयाँमा डेलिभरी गर्ने बोलपत्र भरेको थियो ।

बोलपत्रमा सम्लग्न पाँचवटा फर्मको मूल्याङ्कन भौतिक प्रमाणीकरण, तोकिएको मापदण्ड र कागजातको आधिकारिकता अध्ययन गरेर नगरपालिकाले मेनका इन्टरप्राइजेजलाई स्वीकृत गरेको छ । सार्वजनिक खरिद ऐन २०६३ को दफा २७ (२) तथा सोही ऐनको दफा ४७ अनुसार सम्झौता गर्नका लागि सातदिने सूचना शनिबार जारी गरी आज असोज २ गतेभित्र सम्झौता गर्न आउन पत्र पठाएको छ । उक्त फर्मले असोज १० गतेभित्र पिसिआर मेसिन जिल्ला ल्याएर फिट गर्ने नगरपालिकाले जनाएको छ ।

पिसिआर मेसिन खरिदको लागि नवाकोट क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य नारायणप्रसाद खतिवडाले स्थानीय पूर्वाधार साझेदारी कार्यक्रम अन्तर्गतको बजेट शोधभर्ना हुने गरी अहिले विदुर नगरपालिकाले कार्यपालिकाको बैठकले बजेट विनियोजन गरेको नगर प्रमु सञ्जु पण्डितले बताए । नगरपालिकाले पिसिआर मेसिनका लागि स्पेसिफिकेसन र स्ट्यान्डर तोकी गरिएको बोलपत्र आह्वानमा चौथो नम्बरमा रहेको मेनका इन्टरप्राइजेजलाई छनोट गरेको छ ।

‘खरिद गर्ने पिसिआर मेसिनको स्पेसिफिकेसन, स्ट्यान्डर अनुसार हामीले खोजेको र हामीले तोकेको मितिमा ल्याउन अरू चारवटा फर्मले नसकेको कारण चौथो नम्बरमा रहेको मेनका इन्टरप्राइजेज छनोट गरेका हौं’ नगरप्रमुख पण्डितले भने । पिसिआर मेसिन त्रिशुली अस्पतालमा जडान गरिने समेत उनले बताए । मेसिन सञ्चालनका लागि आवश्यक जनशक्तिको समेत व्यवस्थापन भइसकेको उनले जानकारी दिए । विदुरमा ल्याउन लागिएको उक्त मेसिन नेपालमा अन्त पनि प्रयोग भएको छ । सो कम्पनीको पिसिआर परीक्षण मेसिन गत महिना वीर अस्पताल, स्टार हस्पिटल, मनमोहन अस्पताल, पाटन अस्पताल, नोबेल अस्पतालले खरिद गरेर सञ्चालन गरिरहेको छ ।

२ आश्विन २०७७, शुक्रबार १७:५३



तपाईको प्रतिक्रिया