दशैंका लागि सापटी नपाएपछि हत्या

अभियुक्त श्यामबहादुर तामा

विदुर । नुवाकोटको पञ्चकन्या गाउँपालिका गएको हप्ता भएको वृद्ध हत्या दशैं खर्च माग्दा नपाएको रिसमा भएको खुलासा भएको छ ।

घरमा एक्लै बस्दै आएका ७१ वर्षिय नुरकुमारी थापाको बिहीवार बिहान आफ्नै घरमा बिभत्स हत्याको घटनापछि जिल्ला प्रहरी कार्यालय नुवाकोटले हत्यामा संलग्न ति युवक र घटनालाई सार्वजनिक गरेको छ ।

प्रहरीले शुक्रवार पत्रकार सम्मेलन मार्फत् हत्यामा सम्लग्न पञ्चकन्या गाउँपालिका वडा नं. ३ का २७ वर्षीय श्यामबहादुर तामाङलाई सार्वजनिक गरेको छ । उनलाई असोज २५ गते अपरान्ह ३ बजे पक्राउ गरिएको थियो । पक्राउ परेका तामाङको साथबाट मृतकले लगाएको कानको सुनको मुन्द्रा २ थान, हत्या गर्दा प्रयोग गरेको रगतले लत्पतिएको लागेको खुकुरी र रगतले लत्पतिएको सर्ट बरामद गरिएको नुवाकोट प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) सञ्जयसिंह थापाले जानकारी दिए ।

प्रहरीले सार्वजनिक गरेको घटना विवरण अनुसार असोज २३ गते नजिकै जंगलमा कोदालो तथा खुर्पाको बिड खोजी फर्कने क्रममा अन्दाजी बेलुका ८ बजेको समयमा एकान्तमा रहेको घरमा विगत १० बर्षदेखी एक्लै बसोवास गर्दै आएकी मृतक नुरकुमारी थापाको घरमा पुगे । दशैं मान्न वृद्धासँग पैसा सापटी मागे । वृद्धाले दिन ईन्कार गरेपछी निज एक्लै भएको मौका छोपी आफूसंगै साथमा लिई आएको खुकुरीले टाँउकोमा प्रहार गरी हत्या गरेर फरार भएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।

असोज २५ गते बिहान बिहान ९ बजे थापाको आफ्नै घरमा बिभत्स हत्या भई रक्तामय अवस्थामा लाश भेटिएको भनि प्रहरीलाई सूचना प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट खटिएको प्रहरी टोलीले घटनाको सुक्ष्म अनुसन्धान गरेको थियो । तामाङलाई उनकै घरबाटै प्रहरीले पक्राउ गरेको हो । प्रहरीले घटना अनुसन्धानको लागि केनाइन महाशाखाबाट तालिम प्राप्त कुकुरको समेत सहयोग लिएको थियो ।

अभियुक्तलाई जिल्ला अदालत नुवाकोटमा पेश गरि अनुसन्धानको लागि १५ दिनको म्याद लिई अनुसन्धान कार्य जारी रहेको नुवाकोट प्रहरीले जनाएको छ ।

३० आश्विन २०८०, मंगलवार २०:५०



तपाईको प्रतिक्रिया