सुरुङ मार्गको डीपीआर ईआईएको सर्त के के हुन् ?

नुवाकोट । शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जमा टोखा–गुर्जे–छहरे सुरुङ मार्गको विस्तृत परियोजना प्रस्ताव (डीपीआर) र वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) गर्न वन तथा वातावरण मन्त्रालयले अनुमति दिएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको अनुरोधमा वन मन्त्रालयले मन्त्री प्रकाश ज्वालाको निर्देशनमा सचिवस्तरीय निर्णय गर्दै डीपीआर र ईआईए कार्य अघि बढाउने अनुमति दिएको हो । ‘शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र पर्ने टोखा–गुर्जे सुरुङमार्गको वातावरणीय प्रभाव मूल्यांकन अध्ययन सहमति उपलब्ध गराइदिनको लागि यस मन्त्रालयलाई अनुरोध भई आएकोमा निम्नानुसारका सर्तहरूको अधिनमा रही वन्यजन्तुमैत्री पूर्वाधार निर्माण निर्देशिका, २०७८ को दफा ४ को उपदफा १ अनुकूल हुने र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को मर्म र प्रावधान हुनेगरी विस्तृत आयोजना प्रस्ताव र ईआईएको प्रक्रिया अगाडि बढाउन बाधा नहुने गरी सहमति प्रदान गर्ने भनी वन तथा वातावरण मन्त्रालय (सचिवस्तर) मिति २०८०/५/२७ को निर्णयानुसार अनुरोध छ,’ वन अधिकृत ज्ञानेन्द्र कायस्थद्वारा हस्ताक्षरित पत्रमा उल्लेख छ ।  

 वन मन्त्रालयले आठ वटा सर्तहरू राखी डीपीआर र ईआई प्रक्रिया अगाडि बढाउन सहमति दिएको उल्लेख गर्दै भौतिक मन्त्रालयका सिनियर डिभिजन इन्जिनियर सुनिलबाबु पन्तले सुरुङको थप अध्ययन कार्य अगाडि बढाउन परराष्ट्र मन्त्रालयमार्फत चिनियाँ पक्षलाई जानकारी पठाउन अनुरोधसहित बुधबार नै अर्थ मन्त्रालयलाई पत्र काटेको छ । उक्त प्रस्तावित सुरुङको चीन सरकारको सहयोगमा पूर्वसम्भाव्यता अध्ययन कार्य सम्पन्न भइसकेको छ । अब भौतिक पूर्वाधार मन्त्रालयले ईआईए गर्ने छ । डीपीआर भने चिनियाँ सरकारको अनुदान वा ऋण सहायता भन्ने विषयले निर्धारण गर्नेछ ।

यो करिब ४ किमि सुरुङमार्ग निर्माणका लागि कम्तीमा २० अर्ब लागत अनुमान गरिएको छ । साथै सडकसमेतको लागत अनुमान भने २५ देखि ३० अर्ब रहने जानकारी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले दिएको प्रतिनिधिसभा सांसद हितबहादुर तामाङले  बताए ।

के के छन् तोकिएका सर्तहरू ?

१. प्रस्तावित आयोजना निर्माण र सञ्चालन गर्दा दुर्लभ र लोपोन्मुख वन्यजन्तु र यिनीहरूको बासस्थान, जैविक विविधता र पारिस्थितिकीय प्रणालीमा के कस्ता नकारात्मक असर र प्रभाव पर्न सक्छन्, सो सम्बन्धमा वन्यजन्तुमैत्री पूर्वाधार निर्माण निर्देशिका, २०७८ अनुसार विस्तृत अध्ययन तथा विश्लेषण गरी गराई नकारात्मक असर र प्रभाव न्यूनिकरणका उपाय पालना तथा कार्यान्वयनको व्यवस्था प्रतिवेदनमा समेट्नु पर्ने ।

२. प्रस्तावित आयोजनाको सम्भाव्यता अध्ययन गर्दा विभिन्न विकल्पहरू अध्ययन गरी सो विकल्पहरू मध्ये तथ्य र तथ्याङ्कको आधारमा जैविक विविधता र समग्र वातावरणमा न्यून नकारात्मक प्रभाव पुर्याउने एवं राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्रको वन क्षेत्र न्यूनतम प्रयोग गर्ने विकल्पको छनौट गरी अध्ययन गर्नुपर्ने ।

३. प्रस्तावकले अध्ययन प्रतिवेदनमा Alternative designs हरू प्रस्ताव गरी कम वातावरणीय क्षति हुने एवं राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्रको वन क्षेत्र न्यूनतम प्रयोग गर्ने Design छनौट गरेको विस्तृत विवरण प्रतिवेदनमा समेट्नु पर्ने ।

४. सम्भाव्यता अध्ययन गर्दा शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज कार्यालयका अधिकृतस्तरका प्राविधिक कर्मचारीलाई सम्लग्न गराउनु पर्ने ।

५. अध्ययन गर्दाको सबै चरणहरूमा शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज कार्यालय, सम्बन्धित स्थानीय तह, मध्यवर्ती उपभोक्ता समितिका प्रतिनिधिहरू र सरोकारवाला कार्यालय, संघसंस्थाहरूसंग अनिवार्य अन्तरक्रिया गरी प्राप्त राय प्रतिवेदनमा समेट्नु पर्ने ।

६. सम्भाव्यता अध्ययन गर्दा वन्यजन्तुमैत्री पूर्वाधार निर्माण निर्देशिका,
२०७८ ले तोकेको प्रक्रिया पूरा गरी सोही निर्देशिकाले व्यवस्था गरे अनुसारको विज्ञहरूको प्राविधिक टोलीबाट गर्नु गराउनु पर्ने ।

७. सम्भाव्यता अध्ययनबाट प्रस्तावित आयोजना सम्भाव्य देखिएमा वन्यजन्तुमैत्री पूर्वाधार निर्माण निर्देशिका, २०७८ अनुसारका वयहरू समावेश गरि प्रतिवेदन तयार गर्नु पर्ने ।

८. जैविक विविधता एवं समग्र पारिस्थितिकीय प्रणालीमा पर्नसक्ने असरलाई न्यूनिकरण गर्नको लागि टनेल निर्माण गर्दा Blasting को ET Tunnel Boring Machine (TBM) लगायतका उपयुक्त प्रविधिको प्रयोग गर्न प्राथमिकता दिने ।

३० आश्विन २०८०, मंगलवार २०:४२



तपाईको प्रतिक्रिया