दुर्घटना रोक्न सरकारले ध्यान दिनुपर्‍यो : सांसद तामाङ

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का सांसद हितबहादुर तामाङले चाडपर्वको बेलामा हुने सडक दुर्घटना रोक्न प्रभावकारीरुपमा सडक सुरक्षाको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसद तामाङले नजिकिँदै गरेको चाडपर्वहरु दसैं र तिहारमा गाउँ आवतजावत गर्दा दुर्घटना हुने गरेको भन्दै सडक सुरक्षाका लागि सरकारको ध्यानाकर्षण गराएका हुन् । उनले यात्रुहरुले सवारी साधनको अभाव, महँगीको समस्या र टिकट उपलब्धताको समेत समस्या भोग्नुपरेको भन्दै यसप्रति पनि सरकारको ध्यानाकर्षण गराए । उनले काठमाडौं उपत्यकामा हुने चोरी र लुटपाटको पनि नियन्त्रण गर्न सरकारलाई अनुरोध गरे ।

‘काठमाडौं उपत्यका र मुलुकका विभिन्न सहरहरुबाट धेरै नेपालीहरु गाउँमा जान्छन् । त्यस क्रममा यातायातका साधनहरुको अभाव, महँगीको समस्या, टिकटको उपलब्धतामा समस्या भन्ने कुराहरु आएकै छन् । त्यतिमात्रै होइन सडक दुर्घटनाबाट रोक्नको निमित्त सडक सुरक्षाको व्यवस्था तदारुकता र प्रभावकारी बनाउनको निमित्त म सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण गराउन चाहन्छु,’ उनले भने, ‘यात्रुहरुमाथि अनावश्यक दुःख दिने, लुटपाट गर्ने र काठमाडौं उपत्यका लगायतका सहरहरुमा मान्छेहरु कमी हुँदै जान्छन् त्यस बीचमा चोरी बढ्ने, लुटपाटका घटना हुने गर्छन् । त्यस खालका कामहरुलाई रोक्नको निमित्त म गृहमन्त्रीको विशेष ध्यानाकर्षण गराउन चाहन्छु ।’

उनले सामाजिक सद्भाव, धार्मिक सहिष्णुता भड्काउने गतिविधिहरुलाई बेलैमा नियन्त्रण गर्नुपर्ने बताए । सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्नको निमित्त संसद्‌मा रहेका सबै राजनीतिक दलहरुको तर्फबाट संयुक्तरुपमा पहल गर्नुपर्नेमा उनको जोड थियो ।

उनले शान्ति प्रक्रियाको काम चाँडो टुंग्याउनुपर्ने पनि माग राखे ।

२१ आश्विन २०८०, आईतवार २०:२६



तपाईको प्रतिक्रिया