भट्टी जस्तो आइसोलेसन (डान्स भिडिओ सहित)

विदुर । नुवाकोटको तारकेश्वर गाउँपालिकाको आइसोलेसनमा स्वास्थ्यकर्मी र कोभिड–१९ (नोबल कोरोना भाइरस) संक्रमितहरु मदिरा सेवन गरेर नाचगान गरिरहेको भिडिओ बाहिरिएको छ । भिडिओ बाहिरिएसंगै तारकेश्वरको भञ्याङ्गखर्क आइसोलेसन भट्टिपसल जस्तै देखिएको छ ।

तारकेश्वर गाउँपालिका वडा नं. ४ को भञ्याङ्गखर्क आइसोलेसनमा दिउँसोभरी स्वास्थ्यकर्मी र आइसोलेसन व्यवस्थापनका लागि खटिएका कर्मचारीहरु नआउने र साँझ परेपछि ‘रक्सी पाटी’ चल्ले गरेको त्यहाँ रहेकाहरुले बताएका छन् । साँझ परेपछि दैनिक रुपमा मदिरा सेवन सहित कोरोना संक्रमित र आंशकामा राखिएका व्यक्तिहरु स्वास्थ्यकर्मीसंग नाचगान गर्ने गरेका छन् । रातपरेपछि आइसोलेसनमा रक्सीको जर्किन आउने गरेको बताइएको छ ।

न्युज २४ टेलिभिजनले हिजो सार्वजनिक गरेको भिडिओमा कोरोना संक्रमितहरु र कोरोनाको आशंकामा आइसोलेसनमा राखिएका व्यक्तिहरुसंग गाउँपालिकाकै दुई जना स्वास्थ्यकर्मी मदिरा पिउदै नाचिरहेको देखिएको छ । तारकेश्वर गाउँपालिकाका स्वास्थ्यकर्मी मिश्रीलाल यादव र दाङसिङ हेल्थपोष्टका अहेब रञ्जित प्रधान आइसोलेसनमा रहेका युवाहरुसंग मदिरा पिउँदै चर्को स्वरमा बजाईएको गीतमा नाचिरहेको भेटिएको छ । एक रातको घटना बाहिरएपनि केही दिनदेखि त्यहाँ यस्तै गतिविधिहरु हुने गरेको आइसोलेसनमा बसेकाहरुले बताएका छन् ।

सार्वजनिक भएको भिडिओमा स्वास्थ्यकर्मीहरु बोत्तलबाटै मदिरा पिउदै आइसोलेनमा बसकेकाहरुसंग लठ्ठारिएर नाचिरहेका छन् । होहल्ला गर्ने, तकिया फ्याक्ने, कपडा खोलेर नाच्ने जस्ता हर्कत बाहिर आएको छ ।

उनीहरुले यो व्यवहार सुर्धान र आफुहरुको हेरचाह गर्नका लागि पटक पटक आग्रह गरेको भएपनि यो क्रममा कमी नभएपछि भिडिओ तयार गरेर आइसोलेसनमा बस्नेहरुले सार्वजनिक गरेका हुन् ।

यसरी आइसोलेसनमा बसेकाहरुसंग मदिरा पिएर मात्तिदै नाच्ने स्वास्थ्यकर्मी मध्येका एक मिश्रीलाल यादवले सामान्य त्रुटी भएको जिकिर गरेका छन् । कहिलेकाहि यस्तै हुन्छ भन्दै यादवले अन्यथा नलिन र नबुझ्न आग्रह गरेका छन् ।

छ जनालाई भञ्याङ्गखर्क आइसोलेसनमा तारकेश्वर गाउँपालिकाले राखेको छ । त्यस मध्ये तीन जना कोरोना संक्रमति भएको र उनीहरुलाई छुट्टै राखेको गाउँपालिकाका अध्यक्ष रमेशबहादुर वस्तीले बताएका छन् ।

कोरोना पुष्टि भएकाहरु र स्वाव परिक्षणको नतिजा कुरेर बसेका अन्य तीन जनाले एउटै धारो र शौचालय प्रयोग गर्दै आइरहेका छन् । छुट्टै शौचालयको व्यवस्था नहुने देखि स्वास्थ्यका अन्य कुराहरुमा पनि आइसोलेसनमा लापर्वाही भएको त्यहाँ बसिरहेकाहरुले गुनासो गरेका छन् । खानेकुराको समेत उचित व्यवस्था नभएको गुनासो छ ।

गए राती आइसोलेसनमा देखापरेको सर्प धपाउन समेत त्यहाँ आइसोलेसन व्यवस्थापनका लागि गाउँपालिकाको तर्फबाट खटिएका कर्मचारीहरुले अटेर गरेपछि उनीहरु रातभरि जाग्राम बसेका छन् ।

गाउँपालिकाका अध्यक्ष रमेशबहादुर वस्तीले यो घटनाको छानविन हुने र जिम्मेवारी लिएका स्वास्थ्यकर्मीहरुलाई कारबाही गर्ने प्रतिवद्धता जनाएका छन् । भञ्याङ्गखर्क आइसोलेसनको सुधार र व्यवस्थापनका लागि बिहानै देखि दुई जना स्वास्थ्यकर्मीलाई राखिएको र रेखदेखका लागि दुई जना प्रहरी राखिएको अध्यक्ष वस्तीले बताए ।

तारकेश्वर गाउँपालिकाका अध्यक्ष रमेशबहादुर वस्तीसंग कुराकानी गर्दै प्रितिका थापा

उनका अनुसार यस्तो गतिविधि र घटनाको बारेमा ढिला जानकारी भएको र सञ्चार माध्यमबाट सार्वजनिक भएपछि मात्रै पुष्टि भएको हो । यसरी आइसोलेसनमा भएको मदिरापान, नाचगान र संक्रमितसंग स्वास्थ्यकर्मीहरुको ‘रमाइलो कार्यक्रम’ले आफुलाई दुःखी बनाएको गाउँपालिका अध्यक्ष रमेशबहादुर वस्तीले बताए ।

२१ आश्विन २०७७, बुधबार १६:२३



तपाईको प्रतिक्रिया