गोसाइँकुण्ड मेलाका लागि खाद्यान्न ढुवानी

फाइल तस्बिर

रसुवा । गोसाइँकुण्ड पुग्ने भक्तजनलाई भोजनको व्यवस्था मिलाउन खाद्यान्न ढुवानी गरिएको छ । साथै यात्रीको आवश्यक औषधोपचारका लागि ठाउँ ठाउँमा चिकित्सकको टोली सहितको स्वास्थ्य ‘युनिट’को समेत प्रबन्ध गरिएको छ ।

यही भदौ १४ गते जनैपूर्णिमासम्म लाग्ने पवित्र तीर्थ गोसाइँकुण्डको विशेष मेला भर्नका लागि १५ हजारभन्दा बढी भक्तजन नीलाद्री पर्वत पुग्ने आँकलन गर्दै स्थानीय व्यवसायीले खाद्यान्न ढुवानी गरेका हुन् । गोसाइँकुण्ड यात्राका लागि तिर्थयात्रीहरू अघिल्लो हप्तादेखिनै बाक्लो संख्यामा उकालो लाग्न थालिसकेका छन् । रसुवाको धार्मिक तथा मुख्य पर्यटकिय स्थल गोसाइँकुण्डमा देशै भरीबाट तथा बाहिर देशबाट समेत पर्यटक तथा भक्तजनहरू आउने गरेका छन् ।

तीर्थाटनका लागि फाट्टफुट्टरूपमा भक्तजन आउने क्रम सुरू भइसकेको र धार्मिकमार्ग अन्तर्गत खन्ती, देउराली, डिम्सा, चन्दनबारी, चोलाङपाटी, लौरीविनायक र गोसाइँकुण्डसम्म खच्चरद्वारा खाद्यान्न ढुवानी गर्ने काम सम्पन्न भएको छ ।

होटल व्यवसायी संघका जिल्ला अध्यक्ष रामशरण गजुरेलले खन्तीदेखि गोसाइँकुण्डसम्म ३० टन चामल, १० टन दाल, ३० टनभन्दा बढी आलु, पाँच हजार लिटर खाने तेललगायत खाद्य सामग्री ढुवानी भइसकेकाले यात्रुलाई भोजनको समस्या नपर्ने बताए । देशका विभिन्न क्षेत्रबाट आएका भक्तजन धुञ्चेमा बास बसेर गोसाइँकुण्ड जाने गरेका छन् ।

गोसाइँकुण्डको तीर्थका लागि सामान्य रुपमा हिड्ने यात्रीहरूको लागि समेत एक रात धुञ्चे अर्को दिन चन्दनबारीमा बास बस्दा सहज हुने गर्छ । उकालोमा आवश्यक पर्ने लठ्ठी, बाँस, निगालोको व्यवस्था गरी ल्याउन र धार्मिक क्षेत्रका वन जङ्गलको कुनै पनि वनस्पति नमास्न तीर्थालुलाई अनुरोध गरिएको होटल व्यवसायी संघ रसुवाले जनाएको छ ।

यसै बीच, सुवाको गोसाइँकुण्ड आउने तिर्थयात्रुको उपचारका लागि चिकित्सक टोली तयार गरिएको छ । यही भदौ १४ गते जनैपूर्णिमाको दिन मुख्य रुपमा लाग्ने गोसाइँकुण्ड मेला भर्न आउने तिर्थालुलाई सहजताका लागि चिकित्सक टोली तयारी अवस्थामा राखिएको बताइएको छ ।

निलाद्री पर्वत पुग्ने भक्तजनलाई लेक लाग्ने (अक्सिजन अभाव) को समस्या हुन सक्ने अवस्थालाई ख्याल गर्दै हिमालय उद्धार संघले औैषधिसहित चिकित्सक टोली तयार गरेको हो । गोसाइँकुण्ड मेला भदौ ७ गतेदेखि १४ गतेसम्म लाग्ने छ । गोसाइँकुण्ड १४ हजार एक सय फिटको उचाइँमा पर्छ । भक्तजनलाई उपचार सेवा प्रदान गर्न अक्सिजनसहित छ चिकित्सक तयारी अवस्थामा राखिएको हिमालय उद्धार संघका कार्यकारी निर्देशक गोविन्द बत्स्यालले बताए ।

उक्त संस्थाका स्वास्थ्य सहायक प्रकाश खत्रीको अगुवाई एवं प्रत्यक्ष रेखदेखमा उपचार सेवा प्रदान गरिने छ । उक्त टोलीमा डा निसान्त जोशी, डा पशुपति पोखरेल, डा. श्रीयासी कार्की, डा. आयुस्का पन्त, डा. कृष्ण कँडेल र स्वास्थ्य प्राविधिक सचेत सुवेदी रहेका छन् । संघले दुई दशकदेखि कुण्ड क्षेत्रमा गोसाइँकुण्ड क्षेत्र विकास समिति, जिल्ला प्रशासन कार्यालय, जिल्ला स्वास्थ्य कार्यालय र जिल्ला अस्पताल रसुवासित सहकार्य गरी गोसाइँकुण्डमा विभिन्न सेवा दिँदै आएको छ । “दर्शनार्थीलाई चिकित्सकसहित औषधि, अक्सिजनलगायत सेवा उपलब्ध गराउँदै आएका छौँ”, कार्यकारी निर्देशक बत्स्यालले बताएका छन् । गोसाइँकुण्ड मेलाको आवश्यक प्रबन्ध मिलाउन विभिन्न उप–समितिसमेत गरिएको छ । गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जिव डिएमका अनुसार १५ हजार भन्दा बढी भक्तजनलाई गोसाइँकुण्डमा सेवा प्रदान गर्ने लक्ष्यका साथ यात्रुको आवश्यक सेवा सुविधाका लागि संस्थाले काम गरिरहेको बताएका छन् ।

जनैपूर्णिमामा पार्वतीकुण्डमा मेला

धुन्चे । रसुवाको १०८ कुण्डमध्येको गोसाइँकुण्डपछिको ठूलो र धार्मिक महत्वको पार्वतीकुण्डमा यस वर्षदेखि जनैपूर्णिमाको अवसरमा विशेष मेला लाग्ने भएको छ ।

पार्वतीकुण्डमा सन्तान नहुनेले पूजापाठ गर्दा सन्तान प्राप्त हुने र दुःख तथा समस्यामा परेका व्यक्तिको मनोकांक्षा पूरा हुने विश्वासमा जनैपूर्णिमाका दिन पूजापाठ गर्ने गरिन्छ । आफ्नो समस्या समाधान गर्न जनैपूर्णिमाको मेलामा लामा–झाँक्रीको मन्त्रबाट पूजा गरी वर माग्यो भने पाइन्छ र पार्वतीकुण्डले दिन्छिन् भन्ने कथन रहिरहेको छ । त्यही विश्वासमा भक्तजन त्यहाँ पुग्ने गर्छन् ।

तर, त्यो व्यक्तिले जनैपूर्णिमा या फागुपूर्णिमाको दिन छोज्या गर्नुपर्दछ । छोज्या भनेको तीर्थमा आउने तीर्थालुलाई खाना, खाजा खुवाउने कार्य भन्ने बुझिन्छ । पार्वतीकुण्डको सम्बन्ध भारतको हिमाचलको बुद्धगयाको छोपेमाकुण्डसँग र गोसाइँकुण्डसँग धार्मिक सम्बन्ध जोडिएको विश्वास रहेको छ । यदि भारतको बुद्धगयाको छोपेमा कुण्डको दर्शन गर्न नसकेमा पार्वतीकुण्डको दर्शन गरे आफ्नो मनोकांक्षा पूरा हुने किंवदन्ती छ भने गोसाइँकुण्डको दर्शन गरेपश्चात् अनिवार्य पार्वतीकुण्डको दर्शन गरेमा मनका इच्छा पूरा हुने जनविश्वास रहेको स्थानीय समाजसेवी प्रभात लामाले बताए ।

पार्वतीकुण्ड जान काठमाडौंबाट बिहानको ६ बजेर ३० मिनेटमा गत्लाङसम्मको सार्वजानिक बस छुट्छ वा आफू समूह मिलेर गाडी रिजर्भ गाडीमा आए पनि हुन्छ । पार्वतीकुण्ड सदरमुकाम धुन्चेबाट ३२ किलोमिटर दूरीमा पर्दछ । पार्वतीकुण्ड पुग्न धुन्चेदेखि ११ किलोमिटर स्याफ्रुबेँसी पुगेपछि कोमिन वा रोङ्गाखोला दुवै बाटो हँुदै पुग्न सकिन्छ । पहिल्लो बाटो स्याफ्रुबेँसी पुगेपछि कोमिन, बाहुनडाँडा हुँदै गत्लाङ जाने बाटोबाट पुग्न सकिन्छ भने दोस्रो बाटो स्याफ्रुबेँसी, रोङ्गाखोला, चिलिमे, गोल्जुङ हुँदै कुण्ड पुग्न सकिन्छ ।

पार्वतीकुण्डबाहेक अरू ठाउँ पनि छन् । धार्मिक पाठपूजापश्चात् कुण्डको वरिपरि एक सय आठ धारा, बुद्धपार्क र भ्युप्वाइन्ट अवलोकन गर्न सकिन्छ । पार्वतीकुण्ड तामाङ सम्पदा मार्गमा पर्ने भएको हुँदा यस क्षेत्रको तामाङ समुदायको कालो गाउँले परिचित गत्लाङ गाउँ अवलोकनको साथै तामाङको कला, संस्कृति, परम्परा र रहन–सहनको अध्ययन गर्न पाउनुको साथै यहीँबाट नै रुबिभ्याली पर्यटन पथमार्ग पनि जोडिन्छ । यहाँबाट रुबिभ्यालीको पनि अवलोकनमा जान सकिन्छ । यस क्षेत्रको नजिकमा गत्लाङ याक चिज उत्पादन केन्द्र, जागेश्वरकुण्ड, नोज्येकुण्ड, नागकुण्ड र ज्यार्सातेन्जो भ्युप्वाइन्टसमेतको अवलोकन र भ्रमण गर्न सकिन्छ । प्रदेश सरकारको सहयोगमा अहिले पार्वतीकुण्डको लहरे झार हटाउने र धारा बनाउने काम रहेको छ । डाँडाको टुप्पामा रहेको यो कुण्डबाट गणेश हिमाल, लाङटाङ हिमालसहित नागबेली हिमशृङ्खलाको अवलोकन गर्न सकिन्छ ।

११ भाद्र २०८०, सोमबार १०:०३



तपाईको प्रतिक्रिया