एक किलो सुनसहित महिला पक्राउ

रसुवा । रसुवामा अवैध सुनसहित शनिबार एक जना महिला पक्राउ परेकी छन् । रसुवागढी नाकाको मितेरी पुलबाट गोसाइँकुण्ड गाउँपालिका–३ बृद्धिमका ४१ वर्षीया पाछेमु तामाङ गुरुङ पक्राउ परेकी हुन् ।

शनिबार बिहान साढे ११ बजे रसुवागढीस्थित मितेरी पुलमा इलाका प्रहरी कार्यालय टिमुरेका प्रहरी निरीक्षक सुमन कुमार थापाको कमाण्डमा खटिएको प्रहरी टोली, सशस्त्र प्रहरी बल र रसुवा भन्सार कार्यालयको संयुक्त चेकिङ टोलीले उनलाई पक्राउ गरेको हो । चीनबाट नेपाल तर्फ पैदल आउँदै गरेकी उनको साथबाट ४ वटा टुक्रा पारी ल्याएको सुन फेला परेको हो । उक्त सुनको चौल एक किलो रहेको अनुमान गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख सुवास बुढाथोकीले केरूङबाट अवैधरूपमा एक किलो सुन लुकाइछिपाइ रसुवागढी नाकाबाट नेपाल भित्र्याउन लाग्दा सीमा सुरक्षाकर्मीले तामाङलाई पक्राउ गरेको जानकारी दिए । सुन ल्याउने महिला बिरामी परेको देखिएकाले सुरक्षाका साथ उपचारार्थ रसुवा अस्पताल भर्ना गरिएको उनले बताए । थप अनुसन्धान भइरहेको प्रहरीले जनायो ।

१८ भाद्र २०८०, सोमबार १०:११



तपाईको प्रतिक्रिया