रसुवागढी नाकाबाट सुन गाल्ने मेशिन

काठमाडौँ । सुन तस्करले चीनबाट नै सुन गाल्ने मेशिन ल्याएको थाहा भएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले काठमाडौँका चार ठाउँबाट १० वटा सुन गाल्ने मेशिन बरामद गरेको छ ।

ती मेशिनहरु तस्कर समूहले चीनबाट ल्याएको देखिएको अनुसन्धानमा संलग्न अधिकृतहरु बताउँछन् । ६० किलो ७ सय १६ ग्राम सुन तस्करीमा संलग्न समूहले जहाजमार्फत मोटरसाइकल र स्कुटरको ‘ब्रेक प्याड’ मा लुकाएर सुन ल्याएका थिए । तर, गाल्ने मेशिनचाहिँ सडकमार्गबाट ल्याएको पाइएको छ । सुन तस्करले रसुवागढी नाकाबाट सुन गाल्ने मेशिन ल्याएका हुन् । चीनको केरुङबाट नेपालतर्फ ल्याएर भन्सार जाँचपास गरेरै मेशिन ल्याएको भेटिएको अनुसन्धानमा संलग्न एकजना अधिकृतले बताए । उनले भने, ‘सुन गाल्ने मेशिन भनेरै भन्सार जाँचपास गरेको भेटिएको छ ।’

रसुवागढी नाका रसुवाको गोसाइकुण्ड गाउँपालिका वडा नम्बर–२ मा पर्छ । तस्करको गोदामबाट साना–ठुला १० थान मेशिन बरामद गरिएको सीआईबीकी निर्देशक किरण बज्राचार्यले रातोपाटीलाई बताइन् । उनले भनिन्, ‘टोखा, चावहिल, बालुवाटार र सोह्रखुट्टेबाट गाल्ने मेशिन बरामद गरेका छौँ ।’

टोखा स्थित गोदामबाट ५ वटा, चावहिल गोदामबाट १ थान, बालुवाटारबाट २ थान र सोह्रखुट्टेबाट २ थान मेशिन राजस्व विभाग र सीआईबीले बरामद गरेको थियो । बालुवाटार र सोह्रखुट्टेमा सुन कारोबारीले सटर लिएर गोदाम सञ्चालन गरेका थिए ।

टोखामा सञ्चालिन कारखाना याओ पुचेङ्ग समूहले ह्याण्डल गरेका थिए । सुन तस्करीमा टोखा समूह र लाजिम्पाट समूह सक्रिय देखिएको केन्द्रीय अनुसन्धान ब्यूरोको अनुसन्धान निष्कर्ष छ । सुन तस्करीमा लाजिम्पाट समूहको प्रमुख चोङ चिङ छ्वान उर्फ श्याम हुन् । श्याम फरार छन् । उनको समूहका जीक्वाङ लिन ब्यूरोको हिरासतमा छन् ।

२९ भाद्र २०८०, शुक्रबार १२:०५



तपाईको प्रतिक्रिया