साञ्जेन जलविद्युत कम्पनी खराब अवस्थामा

रसुवा । साञ्जेन जलविद्युत कम्पनीले निर्माण गरिरहेको २ आयोजनाको निर्माण कार्य पूरा हुने समय परिवर्तन भएको छ । यसअघि निर्धारित २०७७ असार मसान्तसम्म काम सकिनुपर्ने थियो ।

यो कम्पनीले रसुवा जिल्लाको आमाछोदीडमो गाउँपालिकाको चिलिमे र गोल्जुंग गाउँपालिकामा १४.८ मेगावाट क्षमताको साञ्जेन(माथिल्लो) र ४२.५ मेगावाट क्षमताको साञ्जेन जलविद्युत आयोजना समेत कुल ५७.३ मेगावाट क्षमताका २ जलविद्युत आयोजनाहरु निर्माण गरिरहेको छ । ती आयोजनामध्ये साञ्जेन(माथिल्लो)को ८७ प्रतिशत र साञ्जेन जलविद्युत आयोजनाको ७६ प्रतिशत निर्माण कार्य मात्र पूरा भएको छ । कोभिड १९ महामारीका कारण चिनियाँ ठेकेदार तथा कम्पनीहरुले काम नगर्दा यसो भएको हो ।

बाँकी काम हुनका लागि अझैनिक्कै समय लाग्ने बताइएको छ । निर्धारित समयभन्दा कम्तीमा पनि १ वर्ष पछाडि मात्र यी आयोजनाबाट व्यवसायिक रुपमा विद्युत उत्पादन हुन थाल्नेछन् ।

यसरी समयमै विद्युत उत्पादन नहुँदा यसको प्रभाव साञ्जेनको सेयर किनेका सर्वसाधारणहरुलाई परेको छ । उनीहरुले यो कम्पनीको गरेको सेयर लगानी केही वर्षसम्म रिटर्न नपाउने अवस्थामा पुगेको हो ।

यस्तै अवस्थाको प्रभाव आर्थिक वर्ष २०७६÷७७ को वित्तीय विवरणमा समेत देखिएको छ । यो अवधिमा साञ्जेन जलविद्युत कम्पनी लिमीटेडको प्रतिसेयर आम्दानी ६५ पैसाले ऋणात्मक छ । समीक्षा अवधिमा कम्पनी २ करोड १४ लाख रुपैयाँ खूद घाटामा छ । अघिल्लो वर्षको यही अवधिसम्म भने कम्पनी २ करोड ६८ लाख रुपैयाँले खूद नाफामा थियो । यो कम्पनीको प्रतिसेयर नेटवर्थ ९६.७६ रुपैयाँ छ ।

३२ श्रावण २०७७, आईतवार १२:५७



तपाईको प्रतिक्रिया