समुद्रटार–त्रिशूली थ्रीबी प्रसारण लाइन उद्घाटन

(कार्यक्रमको पूर्ण अंशको भिडिओ सहित)

नुवाकोट । प्रधानमन्त्री केपी शर्मा ओलीले १३२/३३ केभी समुद्रटार सबस्टेसन तथा समुद्रटार–त्रिशूली थ्रीबी हब १३२ केभी प्रसारण लाइन उद्घाटन गरेका छन् । काठमाडौंबाट स्विच थिचेर शनिबार ओलीले प्रसारण लाइनको उद्घाटन गरेको आयोजना प्रमुख थर्कबहादुर थापाले जानकारी दिए ।

सरकार र विद्युत् प्राधिकरणको संयुक्त लगानीमा एसियाली विकास बैंक तथा युरोपेली लगानी बैंकको ऋण सहयोगमा प्रसारण लाइन निर्माण भएको हो । उद्घाटन कार्यक्रममा उपप्रधानमन्त्री तथा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विष्णु पौडेल पनि थिए ।

पैरेबेसी–समुद्रटार प्रसारण लाइनको २० किमि दूरीमा ८६ टावर छन् । बढ्दो कोरोना संक्रमण र विस्फोटक पदार्थ प्रयोगको स्वीकृति लिन ढिलाइ भएकाले निर्धारित समयमा प्रसारण लाइन नसकिएको आयोजनाले जनाएको छ । आयोजनाको लागत १ अर्ब रुपैयाँ छ । आयोजनाले प्रसारण लाइनको तारमुनि पर्ने ९/९ मिटर दायाँबायाँ रहेका जग्गाको मुआब्जा दिइसकेको छ ।

सन् २०१६ नोभेम्बरमा प्रसारण लाइन निर्माण सम्झौता भएको हो । प्रसारण लाइनको काम पिङगाउँ ग्रुप अफ चाइना कम्पनीले गरिरहेको आयोजनाले जनाएको छ । प्रसारण लाइनको निर्माण गत डिसेम्बर २०२० मा सक्ने लक्ष्य भए पनि ६ महिना धकेलिएको थियो । त्रिशूली थ्रीबी हब पैरेबेसीको २२० केभी लाइन सबस्टेसनमा प्रसारण लाइन जोडिन्छ । त्रिशूली ३ ए ले बनाएको ४६ किमि प्रसारण लाइनमार्फत काठमाडौं मातातीर्थमा जोडिन्छ ।

कार्यक्रमको पुरा भिडियो हेर्नुहोस्

१९ असार २०७८, शनिबार २१:३०



तपाईको प्रतिक्रिया