अनुदानमा निर्भर बजेट

पञ्चकन्या गाउँपालिकाका उपाध्यक्ष बिमला केसी गाउँ सभामा पेश हुने ‘बजेट झोला’ का साथ । उक्त झोला गाउँपालिकाकै कर्मचारीहरूले कागजबाट तयार गरेका हुन् ।

विदुर । नुवाकोटको ९ वटा स्थानीय सरकारले आइतवार नीति तथा कार्यक्रम र बजेट ल्याएका छन् । ३ वटाले शनिवार र बिहीवार नै नीति तथा कार्यक्रम ल्याइसकेका थिए । सुर्यगढी गाउँपालिकाले बिहीवार, ककनी र दुप्चेश्वर गाउँपालिकाले शुक्रवार नै नीति तथा कार्यक्रमको साथमा बजेट प्रसतुत गरेका हुन् ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ र अन्तरसरकार वित्त व्यवस्थापन ऐन, २०७४ को दफा २१ मा भएको व्यवस्थाअनुसार प्रत्येक वर्ष असार १० गतेभित्र आर्थिक वर्षको राजस्व र व्यय (बजेट)को अनुमान स्थानीय तहले सम्बन्धित गाउँ वा नगरसभामा पेश गर्नुपर्छ । अघिल्लो आर्थिक वर्षमा नुवाकोटका केही स्थानीय सरकारले सभाको समेत आयोजना गर्न सकेका थिएनन् । भर्खरै निर्वाचित भएर आएका स्थानीय सरकारको कार्य अनुभवमा कमी र बढेको घमण्डले नुवाकोटका केही स्थानीय सरकारमा अघिल्लो आवमा नीति तथा कार्यक्रम पेश गर्न सकेनन् । यो पटक आन्तरिक समस्या जस्तो रहेपनि नुवाकोटका सबै स्थानीय सरकारले नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेका छन् ।

स्थानीय सरकारको आन्तरिक स्रोत कमजोर रहेको बजेटले प्रष्ट पारेको छ । यस पटकको बजेटले पनि संघबाट आउने चार प्रकारका अनुदान र राजस्व बाँडफाँटबाट जाने रकम नै स्थानीय तहको बजेटको मुख्य स्रोत रहेको पुष्टि गरेको छ । संघीय सरकारले वार्षिक बजेटबाट स्थानीय तहलाई वित्तीय समानीकरण, सर्शत अनुदान, समपूरक विशेष अनुदान छुट्याएको छ ।

यसै बीच, नुवाकोटका स्थानीय सरकारहरूले फरक फरक नीतिलाई प्राथमिकता दिएको पाइन्छ । ककनी गाउँपालिकाले आवश्यक शिक्षक करारमा नियुक्ति गर्ने योजना ल्याएको छ । विद्यालयले निजी स्रोतबाट नियुक्ति गरेका शिक्षकहरूलाई समयमा नै पारिश्रमिक उपलव्ध गराउन समस्या परिरहेको अवस्था छ । जसको कारण विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापक दाता खोज्ने तर्फ केन्द्रीत छ ।

म्यागङ गाउँपालिकालाई प्रदेशकै नमुना गाउँपालिकाको रुपमा विकास गरिने र विद्यालयमा स्थानीय भाषा पढाई हुने भएको छ । उपाध्यक्ष सीता तामाङले नीति तथा कार्यक्रम प्रस्तुत गरेकी छिन् । गाउँपालिकाको गाउँसभाको १२औं अधिवेशनले आगामी पाँच वर्षभित्र यस गाउँपालिकालाई शैक्षिक क्षेत्रमा बागमती प्रदेशकै नमुना गाउँपालिकाको रुपमा विकास गर्न नीतिगत कार्यक्रमहरू तय गर्ने पारित गरेको छ । आगामी आर्थिक वर्षलाई शैक्षिक गुणस्तर सुधार वर्षको रुपमा मनाइने भएको छ । साथै ‘उत्कृष्ट शैक्षिक गन्तव्य म्यागङ गाउँपालिका’ को रुपमा स्थापित गरी म्यागङ बाहिरका विद्यार्थीहरूलाई समेत आकर्षित गरिने नीति लिएको छ ।

शिवपुरी गाउँपालिकाले आगामी आर्थिक २०८०÷०८१ को लागि ५४ करोड ९४ लाख रुपैयाँ बजेट ल्याएको छ । गाउँसभाको १२ औं अधिवेशनमा गाउँपालिकाका उपाध्यक्ष बीरबहादुर तामाङले बजेट प्रस्तुत गरेका हुन् । बजेटमा शिक्षा, स्वास्थ्य, खानेपानी, पूर्वाधार विकास लगायतलाई जोड दिएको छ । अध्यक्ष गोविन्दप्रसाद थपलियाले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । गाउँपालिकाले यसअघि दिँदै आएको र सस्तो लोकप्रियता भएको भन्दै एकल पुरुष भत्ता खारेज गरिदिएको छ ।

विदुर नगरपालिकाले आर्थिक वर्ष ०८०/८१ को बजेट, नीति तथा कार्याक्रम सार्वजनिक गरेको छ । आइतबार नगरसभाको १३ औं अधिवेशनमा उपप्रमुख प्रभा बोगटीले आव ०८०/८१ को लागि १ अर्ब १२ करोड २३ लाख ९८ हजार रुपैयाँको बजेट सार्वजनिक गरेकी हुन् । विदुरले पर्यटन, शिक्षा स्वास्थ्य, ऐतिहासिक सम्पदा, पूर्वाधार, खेलकुद, ऐतिहासिक स्मारक, सुरक्षाका लागि सीसीटीभीलगायत बजेटमा प्राथमिकता दिइएको छ । पर्यटकीय क्षेत्रको रुपमा विदुर नगरपालिका र विद्युत् प्राधिकरण्को संयुक्त साझेदारीमा विदुर जल विहार तथा पर्यटकीय पार्क निर्माण गर्ने भएको छ ।

१२ असार २०८०, मंगलवार ११:०७



तपाईको प्रतिक्रिया