मुद्दती खातामा वाणिज्य बैंकको ब्याजदर ११ प्रतिशत नाघ्यो

काठमाडौँ । असोज महिनाका लागि वाणिज्य बैंकहरुले नै व्यक्तिगत मुद्दती खातामा ११ प्रतिशतभन्दा धेरै ब्याजदर दिनेगरी सार्वजनिक सूचना जारी गरेका छन् । ५ वाणिज्य बैंकहरुले व्यक्तिगत मुद्दती खाताको ब्याजदर ११ प्रतिशतभन्दा बढी तोकेका हुन् ।

भदौ महिनामा व्यक्तिगत मुद्दतीको अधिकतम ब्याजदर १०. ८९ प्रतिशत रहेकोमा असोजमा ११. ३५ प्रतिशतसम्म पुगेको छ । व्यक्तिगतभन्दा संस्थागत मुद्दतीमा २ प्रतिशत विन्दु कम ब्याज हुनुपर्ने प्रावधानअनुसार संस्थागत मुद्दतीमा ९.३५ प्रतिशतसम्म ब्याजदर पुगेको छ । अझ रेमिट्यान्स मुद्दती खातामा यस्तो ब्याजदर साढे १२ प्रतिशत पुगेको छ । रेमिट्यान्स मुद्दतीमा व्यक्तिगत मुद्दतीमाभन्दा १ प्रतिशत विन्दु बढी ब्याज दिन सक्ने व्यवस्था छ ।

असोज महिनाका लागि केही बैंकले भदौको तुलनामा ब्याजदर बढाएका छन् भने केहीले स्थिर त केहीले घटाएका छन् । बैंकहरुले सार्वजनिक गरेको ब्याजदरको सूचीअनुसार प्राइम कमर्सियल बैंकले सबैभन्दा व्यक्तिगत मुद्दतीमा सबैभन्दा धेरै ११.३५८ प्रतिशतसम्म ब्याजदर तोकेको छ । सो बैंकले रेमिट्यान्स मुद्दती खातामा १२.५० प्रतिशत ब्याजदर कायम गरेको छ ।

त्यस्तै हिमालयन बैंक, एभरेस्ट बैंक, एनआईसी एसिया बैंक, नबिल बैंकले व्यक्तिगत मुद्दतीमा ११.०५४ प्रतिशत ब्याजदर तोकेका छन् भने नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले ११.०३ प्रतिशत कायम गरेको छ । व्यक्तिगत मुद्दतीमा ग्लोबल आईएमई बैंकले १०.५, कुमारीले १०.११, सिटिजन्सले १०.०५, एसबीआईले १० र प्रभुले १० प्रतिशत तोकेका छन् । एनएमबीले ९.९९, माछापुच्छ्रेले ९.९९, सिद्धार्थले ९.९९, राष्ट्रिय वाणिज्यले ९.५, नेपाल बैंकले ९.२९, स्टान्डर्ड चार्टडले ९.२९ प्रतिशतसम्म ब्याजदर तोकेका छन् ।

३१ भाद्र २०८०, आईतवार १५:२३



तपाईको प्रतिक्रिया