विद्यालय नर्स कार्यक्रमले सुधारिँदै स्वास्थ्य

विदुर । पढाई भइरहेको बेलामा स्कुलका किशोरीहरूमा महिनावारी भएमा बीचमै पढाई छाडेर घरै जानुपर्ने बाध्यता नुवाकोटका अधिकांश सामुदायिक विद्यालयमा अझै पनि छ । घण्टौँ हिँडेर विद्यालयसम्म पुग्नुपर्ने अर्को समस्या उस्तै छ । जसले विद्यार्थीहरूको स्वास्थ्यमा विभिन्न समस्याहरू देखिने गर्छ ।

केही वर्ष अघिसम्म नुवाकोटको पञ्चकन्या गाउँपालिका वडा नम्बर ५ मा रहेको बच्छला माध्यमिक बिद्यालयका विद्यार्थीहरूको भोगाई पनि उस्तै थियो । सामान्य टाउको दुखेमा, पेट दुखेमा, विद्यार्थीहरू घरै जाने गर्थे । घाउ चोट लाग्यो भने, स्वास्थ्य चौकी र अस्पताल दौडाउनुपथ्र्यो । धेरै विद्यार्थी एकै पटक बिरामी भएमा विद्यालयलाई थप समस्या हुन्थ्यो । विद्यालयमा महिनावारी भएमा पढाई नै छोड्नुपर्ने अर्को समस्या थियो । महिनावारीकै कारण किशोरीहरूको धेरै दिन पढाई छुट्ने गथ्र्यो । जबदेखि विद्यालयमा ‘एक विद्यालय एक नर्स’ कार्यक्रम सञ्चालन भयो, विद्यार्थीहरूले त्यस्तो समस्या भोग्नु परेको छैन । विद्यालयमा २०७६ सालदेखि सञ्चालन भएको उक्त कार्यक्रमको प्रभावकारीता बढ्दै गएको छ । ‘एक विद्यालय एक नर्स’ कार्यक्रम लागू भएपछि विद्यार्थीहरूको स्वास्थ्यमा परिवर्तन आएको विद्यालय जनाएको छ ।

कार्यक्रम सञ्चालन भएपछि विद्यालयमा स्वास्थ्य सेवा कक्षको व्यवस्था गरिएको छ । विद्यालयमा स्वास्थ्य सेवा कक्षको व्यवस्था भएकाले पनि विद्यार्थीको नियमित उपस्थिति भएको विद्यालयकी नर्स रबिना भट्ट बताउँछिन् । ‘कार्यक्रम लागू हुनु पहिले विद्यार्थी अस्वस्थ्य भएकै कारण पनि विद्यार्थीको उपस्थिति संख्यामा कमी देखिएको थियो,’ उनले भनिन्, ‘अहिले विद्यालयमै विद्यार्थीको नियमित स्वास्थ्य परीक्षण हुने भएकाले पनि विद्यार्थी उपस्थितिको संख्यामा वृद्धि भएको पाएका छौँ ।’ उनका अनुसार पढाई भइरहेको बेलामा विद्यार्थी बिरामी भए उनीहरू स्वास्थ्य सेवा कक्षमा आएर दुई/तीन घण्टा आराम गरी औषधि उपचार पश्चात् पुनः पढाइका लागि आफ्नो कक्षा कोठामा जान्छन् । यदि बिरामीलाई विद्यार्थीलाई विद्यालयबाट उपलब्ध हुने सेवाबाट उपचार गर्न नसकिएमा विद्यालय र अभिभावकको समन्वयमा अस्पताल पठाउने गरिन्छ ।

‘एक विद्यालय एक नर्स’ कार्यक्रमको राम्रो प्रभाव किशोरकिशोरीमा देखिएको बच्छला माध्यमिक विद्यालयले जनाएको छ । विद्यालयको कक्षा ९ मा अध्ययनरत सानु तामाङ यस कार्यक्रमले आफूहरूको स्वास्थ्यमा धेरै परिवर्तनहरू आएको बताउँछिन् । यो कार्यक्रमले विशेष गरेर महिनावारीको समयमा धेरै सहजता प्रदान गरेको उनी सुनाउँछिन् । ‘पहिले पहिले विद्यालयमै महिनावारी भइयो भने के गर्ने/कसो गर्ने हुन्थ्यो । महिनावारी लाजको विषय हुन्थ्यो,’ उनले भनिन्, ‘अहिले विद्यालयमा सञ्चालन भएको यो कार्यक्रमपछि हामी महिनावारीलाई लुकाउँदैनौँ । आफ्नो कुरा खुलेर भन्न सक्ने भएका छौँ ।’ विद्यालयले किशोरीहरूलाई निःशुल्क प्याङ वितरण गरेकाले पनि थप सहज भएको उनले बताइन् ।

विद्यालयमा प्रजनन् स्वास्थ्य र यौन शिक्षाको बारेमा पनि शिक्षण गराउनुको साथै स्वास्थ्य परामर्श पनि दिइने भएकाले विद्यार्थीहरूले आफ्नो समस्या निर्धक्क भन्न सक्ने गरेको विद्यालयकी नर्स रबिना भट्ट बताउँछिन् । त्यसरकारण पनि यो कार्यक्रम  किशोरीहरूको लागि निकै नै प्रभावकारी भएको देखिन्छ । उनका अनुसार यो शिक्षणले किशोरीहरूको स्वास्थ्यमा समेत धेरै परिवर्तन आएको पाएका छौँ । ‘यस कार्यक्रम मार्फत विद्यार्थीहरूलाई बाल स्वास्थ्य, सरसफाई, पोषणयुक्त खाना, स्वास्थ्य परामर्श, यौन शिक्षा लगायतका विभिन्न विषयको बारेमा शिक्षण गराउने गरेका छौँ,’ उनले भनिन्, ‘यी विषयका शिक्षणकै कारण विद्यार्थीहरूको स्वास्थ्य र व्यवहारमा पनि परिवर्तन आएको पाएका छौँ ।’ उनका अनुसार विद्यार्थीहरूको स्वास्थ्य र सरसफाईमा आएको सुधारलाई कार्यक्रमको प्रमुख उपलब्धिको रुपमा लिएका छौँ ।

‘शौचालय प्रयोग गरेपछि साबुनपानीले राम्रोसँग हात धुनुपर्छ भन्ने बानीको विकास भएको छ,’ कार्यक्रमको प्रभावकारीता बारे बताउँदै उनले भनिन्, ‘उनीहरूमा आफ्नो स्वास्थ्यसँगै विद्यालय परिसर र कक्षा कोठाको सरसफाई गर्ने बानी बसेको छ ।’ विद्यार्थीहरूले विद्यालयबाट सिकेको यो अभ्यास आफ्नो घर परिवार र समुदायमा पनि लागू गर्ने गरेको अभिभावकहरू बताउँछन् ।  अभिभावकहरूले स्वास्थ्य र सरसफाई ध्यान दिन थालेका छन् ।

विद्यालयमै नर्स भएपछि विद्यार्थीहरूको स्वास्थ्यमा सुधार आएको बच्छला माध्यमिक बिद्यालय पञ्चकन्या गाँउपालिका ५ भदु्रटार चनडाँडाका प्रधानाध्यापक रामकृष्ण गिरी बताउँछन् । उनका अनुसार विद्यार्थीहरूले आफ्नो स्वास्थ्यको सुरक्षा आफै राख्न सक्ने भएका छन् । ‘केही वर्ष अघिसम्म विद्यार्थी बिरामी भएमा शिक्षकहरूलाई धेरै तनाव हुन्थ्यो, के गर्ने ? कसो गर्ने ? कहाँ लैजाने ?,’ उनले भने, ‘अहिले विद्यालयमा नर्स भएपछि शिक्षकहरूलाई पनि धेरै सहज भएको छ । विद्यार्थीलाई स्वास्थ्यमा समस्या आए उनीहरू स्वास्थ्य सेवा कक्षमा गएर उपचार लिन्छन् ।’

यो कार्यक्रम अहिले नुवाकोट जिल्लाको ४८ वटा बिद्यालयमा सञ्चालन भइरहेको छ । कार्यक्रमको  प्रभावकारिता बढेको प्रतिक्रिया आइरहेको जिल्ला शिक्षा समन्वय ईकाईले जनाएको छ । यो कार्यक्रम प्रत्येक विद्यालयमा सञ्चालन हुन आवश्यक छ । विद्यार्थीहरूको गुणस्तरीय शिक्षा र सुस्वास्थ्यका लागि यो कार्यक्रम निकै प्रभावकारी हुने शिक्षा बिज्ञहरूको सुझाब छ । विद्यालय नर्स कार्यक्रमले बिशेष गरी किशोरीहरूमा फाईदा पुगेको छ । झण्डै आफ्नै उमेरका दिदिहरूसँग आफ्नो समस्या खुलेर बताउन सक्ने अबस्थाले किशोरीहरू नर्ससँग नजिक हुन्छन् । 

बागमती प्रदेशले सञ्चालन गरेको ‘एक विद्यालय एक नर्स’ अन्तर्गतको पहिलो चरणमा प्रदेशका २० वटा विद्यालयमा छनौटमा परेका थिए । जस मध्ये नुवाकोटको ४ वटा विद्यालय ‘पाइलटिङ’को लागि छनौट भएको उक्त विद्यालयमा कार्यक्रम प्रभावकारी भएपछि अहिले ४० विद्यालय पुगेको छ । एक पालिकाको ४ बिद्यालयमा अहिले यो कार्यक्रम सञ्चालन भैरहेको छ । १२ स्थानिय तह रहेको नुवाकोटमा बाग्मती प्रदेशबाट मात्रै ४८ बिद्यालयमा यो कार्यक्रम लागू भएको हो । त्यस बाहेक केही स्थानीय तह आफैले बिद्यालयको छनौट गरि विद्यालय नर्स समेत राखेका छन् । प्रदेश मार्फत सुरु भएको यो कार्यक्रमको प्रभाबकारीता बढे पछि स्थानीय तह समेत आफै अग्रसर भएको हो । 

त्यसो त, पञ्चकन्या गाँउपालिकाले आफ्नै आन्तरिक श्रोतमा समेत विद्यालय नर्स राखेको छ । प्रदेशबाट सञ्चालित कार्यक्रमको नतिजा उत्कृष्ट आएसंगै पालिका भित्र रहेका सबै बिद्यालयमा एक जना विद्यालय नर्सको ब्यबस्थापन गाउँपालिका आफैले गरेको गाउँपालिका अध्यक्ष तेज बहादुर तामाङले जानकारी दिएका छन् ।

उनका अनुसार कार्यक्रम सञ्चालनमा आएसँगै विद्यालयमा हेल्थ क्लब, अभिमुखिकरण, विद्यार्थीको नियमित स्वास्थ्य चेकजाँच गरी हेल्थ प्रोफाइल जस्ता गतिविधी सुचारु भएको छ । विद्यार्थीको स्वास्थ्य स्थितिबारेमा कक्षागत रुपमा विद्यार्थीका अभिभावक विद्यालयमा बोलाई जानकारी गराउने गरिएकाले यो कार्यक्रमको प्रभाव समुदाय स्तरमा राम्रो भएको पाइएको पालिका अध्यक्ष तामाङले बताए ।  

‘एक विद्यालय एक नर्स’ कार्यक्रम किशोरीहरूको लागि निकै नै फलदायी भएको पञ्चकन्या गाँउपालिकाका अध्यक्ष तेजबहादुर तामाङले बताएका छन् । उनका अनुसार कार्यक्रम किशोर किशोरी, बालबालिका मात्र नभएर अभिभावकहरूलाई पनि प्रभावकारी भएको छ । यसले सबैलाई स्वास्थ्यप्रति सचेत बनाएको छ । ‘यो कार्यक्रमले किशोरीहरूको स्वस्थ्य सुरक्षित बनाएको छ,’ उनले भने, ‘विशेष गरेर किशोरीहरूले महिनावारीको समस्या बारे खुलेर भन्ने सकिरहेका हुदैँनन् । महिलाको समस्या महिलाले नै बुझ्ने भएकाले किशोरीहरूले आफ्ना समस्या नर्ससँग निर्धक्क राख्न सक्ने भएका छन् । उनीहरू आफ्नो स्वास्थ्यको ख्याल राख्न सक्ने भएका छन् ।’

अहिले नुवाकोटको सबै पालिकामा रहेका सार्बजानिक बिद्यालयहरूमा सञ्चालन भएको उक्त कार्यक्रमको प्रभावकारीताकै कारण विद्यार्थीहरूको शैक्षिक गुणस्तरमा वृद्धि भएको छ । ‘विद्यार्थीको स्वास्थ्य राम्रो भएमा मात्र विद्यार्थीको शैक्षिक गुणस्तर राम्रो हुन्छ,’ ‘यो कार्यक्रम सञ्चालन भएको विद्यालयका विद्यार्थीहको स्वास्थ्य स्थिति राम्रो छ । विद्यालयमा स्वास्थ्य सेवा कक्ष पनि सञ्चालन भएकाले विद्यार्थीहरूको नियमित उपस्थिति भएको पाएका छौँ ।’

यो कार्यक्रमले समुदाय स्तरमा स्वास्थ्य बारेमा जनचेतना फैलाउन मद्दत पुगेको पञ्चकन्या गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत राममणि काफ्लेले बताए । उनका अनुसार यो कार्यक्रमको प्रभावकारीतकै कारण स्वास्थ्य, सरसफाई, पोषणयुक्त खानेकुरा लगायतका विभिन्न विषयमा विद्यार्थीहरूले जानकारी पाएका छन् । उनीहरूले आफ्नो स्वास्थ्यको सुरक्षा आफै राख्न सक्ने भएका छन् । विद्यार्थीहरूलाई यिनै विषयमा केन्द्रित भएर स्वास्थ्य कक्षा पनि सञ्चालन भएकाले यसको प्रभाव राम्रो देखिएको उनले बताए ।

किशोर–किशोरीको यौन तथा प्रजनन स्वास्थ्य सुधारको आवश्यकता महसुश गरी बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले ‘एक विद्यालय एक नर्स’ कार्यक्रम सञ्चालनमा ल्याएको थियो । विद्यालय तहबाटै बालबालिकालाई सन्तुलित र पोषिलो खानेकुराका साथै स्वास्थ्य सरसफाई र पोषण प्रबद्र्धन गर्न विद्यालयमा नर्स राख्ने कार्यक्रम मन्त्रालयले गरेको थियो ।

९ असार २०८०, शनिबार १८:१२



तपाईको प्रतिक्रिया