गाउँपालिका महासंघमा नुवाकोटका दुई सदस्य

विदुर । गाउँपालिका राष्ट्रिय महासंघको राष्ट्रिय महाधिवेशनबाट सदस्यमा नुवाकोटका गोविन्द थपलिया र सञ्जु प्याकुरेल श्रेष्ठ निर्वाचित भएका छन् । मंगलबार सर्वसम्मत रूपमा छानिएको राष्ट्रिय समितिमा नुवाकोटका २ जना परेका हुन् । नेपाली काँग्रेसको तर्फबाट शिवपुरी गाउँपालिकाका अध्यक्ष गोविन्दप्रसाद थपलिया र नेकपा माओवादी केन्द्रको तर्फबाट तादी गाउँपालिकाका उपाध्यक्ष सञ्जु प्याकुरेल श्रेष्ठ चयन भएका हुन् ।

महाधिवेशनबाट अध्यक्षमा नेपाली काँग्रेसका लक्ष्मी पाण्डे सर्वसम्मत भएका छन् । पाण्डे नवलपुर जिल्लाको हुप्सेकोट गाउँपालिकाको अध्यक्ष हुन् । गत वैशाखको स्थानीय निर्वाचनमा पाण्डे दोस्रो कार्यकालका लागि हुप्सेकोट गाउँपालिकाको अध्यक्षमा विजयी भएका थिए । उपाध्यक्षमा पनि नेपाली काँग्रेसका जुम्लाको हिमा गाउँपालिकाका अध्यक्ष लक्ष्मणबहादुर शाही निर्वाचित भएका छन् । महासचिवमा नेकपा एमालेका स्याङजाको कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापा निर्वाचित भए ।

तेस्रो महाधिवेशनबाट पाण्डे ५ वर्षे कार्यकालको लागि नयाँ कार्य समिति बनेको हो । नयाँ नेतृत्वका लागि राजनीतिक दलहरूले भागबन्डा गरेका थिए । स्थानीय तहमा सबैभन्दा धेरै पालिका जितेको नेपाली काँग्रेसले महासंघको अध्यक्ष र उपाध्यक्षको भाग पाएको थियो । त्यस्तै नेकपा एमालले महासचिव, सचिव र ७ जना सदस्य पाएको छ । सचिवमा सिन्धुलीको फिक्कल गाउँपालिकाका अध्यक्ष पार्वती सुनुवार निर्वाचित भएका छन् । कोषाध्यक्षमा नेकपा माओवादी केन्द्रको तर्फबाट अजयमेरु गाउँपालिकाका अध्यक्ष उमेश भट्ट चयन भएका छन् । पदाधिकारी सहित ३६ सदस्ययी महासंघको कार्यसमिति चयन भएको छ । जसमा गाउँपालिकाका अध्यक्ष २७ जना छन् भने ९ जना गाउँपालिकाका उपाध्यक्ष र एक जना वडा सदस्य कार्यसमितिमा आएका छन् ।

३ पुष २०७९, आईतवार १३:२१



तपाईको प्रतिक्रिया