संक्रमण दर घट्दो

विदुर । पछिल्लो समय नुवाकोट जिल्लामा कोरोना संक्रमणको दर घट्दो क्रममा पुगेको छ । केही समयअघि देशभर फैलँदो संक्रमणको महामारीसँगै नुवाकोट जिल्लाको समुदायस्तरमा पनि संक्रमितहरुको संख्या ह्वात्तै बढेपछि सबैमा त्रास बढेको थियो । तर, पछिल्लो समय संक्रमितको संख्या न्यून हुँदै गएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।

सरकारले कोराना महामारीसँगै लगाएको निषेधाज्ञा अन्त्य गरी यातायात र अन्य गतिविधि खुला गरेको अवस्थामा राजधानी काठमाडौं र देशभरका अन्य जिल्लाहरुमा संक्रमणको समस्या बढेपनि नुवाकोटमा भने नागरिकस्तरमा बढेको सचेतना र उच्च सावधानीका कारण अहिले कोरोना बिरामीहरुको संख्या घटेको विश्वास जानकारहरुले लिएका छन् ।

जिल्ला स्वास्थ कार्यालय र स्थानिय प्रशासनले पनि संक्रमण अहिले नबढेको भएपनि कोरोनाप्रति सतर्कता र सावधानी भने जारी राख्नुपर्नेमा जोड दिएको छ । हालसम्म नुवाकोट जिल्लामा आइतबार एकजना महिला संक्रमण भेटिएसँगै कोरोना संक्रमितको संख्या एकसय २९ पुगेको छ । । जसमध्ये ९९ पुरुष र ३० महिला रहेका छन् ।

स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार सोमबार पञ्चकन्या गाउँपालिकाका २८ वर्षिया पुरुष निको भएर घर फर्किएका छन् । यससँगै हालसम्म एकसय १२ जना कोरोना संक्रमित व्यक्ति निको भएर घर फर्किएका छन् । स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार नुवाकोटका ४ हजार ४९६ जनाको पिसिआर परिक्षण गरिएको छ । जसमध्ये ४ हजार ४०४ जनाको नतिजा आइसकेको छ भने ८७ जनाको नतिजा आउन बाँकी छ ।

१३ आश्विन २०७७, मंगलवार १३:१७



तपाईको प्रतिक्रिया