मध्यपहाडी लोकमार्गको कुण्डल घलेभञ्याङ खण्ड, नापजाँच अनुसार काम भएन

छहरे । नुवाकोटका जनप्रतिनिधिहरूले ‘शिवपुरी–पञ्चकन्या–दुप्चेश्वर’ सडकअन्तर्गत पञ्चकन्या गाउँपालिका ५ र ३ मा पर्ने निर्माणाधीन कुण्डला–घलेभन्ज्याङ खण्डको स्थलगत अनुगमन गरेका छन् । नुवाकोट क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सांसदमा निर्वाचित हितबहादुर तामाङ, समानुपातिक सांसद विमला सुवेदी, पञ्चकन्या गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङ, सडक डिभिजन नुवाकोट प्रमुख अमृतमणि रिमाल, स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका नेताहरूले शनिबार संयुक्त रुपमा अनुगमन गरेका हुन् । मध्यपहाडी लोकमार्गको कुण्डला माध्यमिक विद्यालय छेउबाट घलेभन्ज्याङसम्म सडक तीव्र रुपमा बनिरहे पनि अनुगमनका क्रममा केही ठाउँमा कमसल सामग्री प्रयोग गरेको र टेण्डर आह्वान गरेको समयभन्दा फरक डिजाइनमा काम गरेको भन्दै डिभिजन प्रमुख रिमाललाई सहभागीले प्रश्न गरेका थिए ।

संघीय सांसद तामाङले ठेकेदारलाई जनताको गुनासो र भएका कमीकमजोरी सुधारेर छिटो सम्पन्न गर्न र गुणस्तरीय कायम गर्न निर्देशनसमेत दिएको स्थानीय रामहरि भण्डारीले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । यस्तै पञ्चकन्या गाउँपालिका अध्यक्ष तेजबहादुर तामाङले निर्माण प्रारम्भअघिको नापजाँच अनुसार काम नभएको भन्दै डिभिजन प्रमुख रिमाललाई सचेत गराएका छन् । अनुगमनका क्रममा संघीय सांसदद्वय तामाङ र सुवेदी, पञ्चकन्याका अध्यक्ष तामाङ, उपाध्यक्ष विमला केसी, शिवपुरी गाउँपालिका उपाध्यक्ष वीरबहादुर तामाङ, डिभिजन प्रमुख रिमाल, निर्माण कम्पनीका प्रमुख सुशीलप्रसाद फुँयाल, नेकपा माओवादी केन्द्र शिवपुरी गाउँपालिका कमिटी अध्यक्ष मिनबहादुर तामाङलगायत सरकारी प्राविधिक, कर्मचारी र स्थानीयहरू सहभागी थिए । पञ्चकन्या गाउँपालिका वडा नम्बर ५ र ३ मा पर्ने यो सडकखण्ड यही आर्थिक वर्षभित्र ग्राभेल गरिसक्ने लक्ष्यसहित निर्माण भइरहेको छ ।

नुवाकोटको पूर्वोत्तर दुप्चेश्वर गाउँपालिका, पञ्चकन्यावासीलाई काठमाडौं प्रवेशका लागि छोटो दूरी पर्ने ‘शिवपुरी–पञ्चकन्या–दुप्चेश्वर’ सडकअन्तर्गतको उक्त खण्डमा १० मिटर चौडा पारिएको छ । निर्माणाधीन सडक ७ किलोमिटर दूरी रहेको छ । निर्माणको जिम्मा जलुकुनी जेभी कम्पनीले पाएको छ । कम्पनीका सञ्चालक सुशील फुयाँलका अनुसार १० मिटरको सडकमा साढे ७ मिटर कालोपत्रे र बाँकी भाग ढलान गरिने छ । त्यसभित्र ९ सय मिटर ढलान र ६१ सय मिटर कालोपत्र हुनेछ ।

संघ सरकारले छुट्याएको ४० करोड रुपैयाँमा प्राविधिक स्टिमेटबमोजिम १५ किलोमिटर सडक कालोपत्र हुनेछ । जसमा मध्यपहाडी लोकमार्गको कुण्डला मावि भद्रुटार जिरो विन्दु मानिएको छ ।

जलुकेनी जेभीले यो सडक २५ करोड ५१ लाख रुपैयाँमा तीन वर्षे म्यादसहित ८ किलोमिटर बनाउने गरी २०७८ जेठ २४ मा सडक डिभिजन कार्यालय नुवाकोटसँग सम्झौता गरेको हो । एउटा निर्वाचन क्षेत्रमा एउटा रणनीतिक सडक बनाउने २०७६/०७७ मा नेपाल सरकारले निर्णय गरेको थियो ।

निर्वाचन क्षेत्र रणनीतिक सडक ०७६ सालमै ७७ जिल्ला १६५ निर्वाचन क्षेत्रबाट प्रत्यक्ष तर्फबाट निर्वाचित सांसदहरूको सिफारिसमा १ निर्वाचन क्षेत्रमा १/१ वटा सिफारिस गर्ने नीतिअनुसार सबै सांसदहरूले सिफारिस गरेका थिए । सिफारिस शीर्षकहरू २०७७ को रातो किताबमा उल्लेख भएर आएको थियो । काठमाडौंतर्फ स्तरोन्नतिका लागि छुट्न गएको उक्त सडक आयोजनाअन्तर्गत सुनखानी ढलानघर–स्याल्पिङखोला–बरभन्ज्याङ र शिवालयसम्मका लागि आउँदो बजेटमा रकम विनियोजन गराउन पहल भइरहेको सांसद तामाङले बताएका छन् ।

१८ बैशाख २०८०, सोमबार १४:३४



तपाईको प्रतिक्रिया