बालबालिकालाई लगाउन ल्याइएको १५ सय खोप फिर्ता

धुञ्चे । रसुवामा बालबालिकालाई लगाउन ल्याइएको कोरोनाविरुद्धको झण्डै १५ सय डोज मोडर्ना खोप फिर्ता पठाइएको छ । जिल्लामा १२ देखि १७ वर्षसम्मका बालबालिकालाई लगाउन ल्याइएको कोरोनाविरुद्धको मोडर्ना खोपमध्ये १४ सय ९० डोज खोप स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाअन्तर्गत आपूर्ति शाखामा फिर्ता पठाइएको हो ।

गएको पुस ११ गतेदेखि १८ गतेसम्म जिल्लाको पाँचवटै गाउँपालिकाको ४३ वटा माध्यमिक तहका १२ देखि १७ वर्षसम्मका बालबालिकाहरूलाई कोरोनाविरुद्धको खोप अभियान सञ्चालन गरिएको थियो । तर तोकिएको लक्ष्यअनुसार प्राप्त तथ्याङ्कका बालबालिकाले खोप लगाउन नआउँदा कोरोनाविरुद्धको मोडर्ना खोप फिर्ता गर्नुपरेको स्वास्थ्य कार्यालय रसुवाका प्रमुख वसन्त चालिसेले बताए ।

‘पुस ११ देखि १३ गतेसम्म खोप अभियान रहेको थियो, हामीले ५ दिन थप गरेर १८ गतेसम्म खोप अभियान सञ्चालन गर्यौँ, विवरणअनुसार ५ वटै गाउँपालिकाका सबै बालबालिका खोप लगाउन आएनन्,’ उनले भने ।

गत बुधबार बाँकी रहेका सबै खोप स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाअन्तर्गत आपूर्ति शाखामा फिर्ता पठाइएको उनले बताए । ‘मोडर्ना खोप एक महिनासम्ममा लगाइसक्नुपर्ने हुन्छ, ४८ सय डोज खोप ल्याइएका थियौँ, लक्ष्यअनुसार विद्यार्थी नआएपछि १४ सय ९० डोज फिर्ता गर्यौँ, एउटा भाइल खोपले ११ जनासम्मलाई लगाउन सकिन्छ,’ उनले भने, ‘१८ वर्षमाथिका नागरिकलाई लक्ष्यअनुसारको लगाइयो तर १२ देखि १७ वर्षसम्मका बालबालिकाको तथ्यांकमा लक्ष्यअनुसार लगाउन सकिएन ।’

स्वास्थ्य कार्यालय रसुवाका अनुसार जिल्लामा १२ देखि १७ वर्षसम्मका ४ हजार ७४३ जना बालबालिकालाई कोरोनाविरुद्धको मोडर्ना खोप लगाउने लक्ष्य रहेको थियो। जसमध्ये ३ हजार ४ सय ३ जना बालबालिकाले मात्र कोरोनाविरुद्धको खोप लगाएका छन् ।

जिल्लाको आमाछोदिंगो गाउँपालिकामा १२ देखि १७ वर्षसम्मका ४२७ जना बालबालिकालाई मोडर्ना खोप लगाउने लक्ष्य राखिएको थियो । जसमध्ये २४८ जना बालबालिकाले मात्र कोरोनाविरुद्धको खोप लगाएका छन् । जुन लक्ष्यको ५८.०७ प्रतिशत हो । त्यसैगरी गोसाइँकुण्ड गाउँपालिकामा १२ देखि १७ वर्षसम्मका ८७० जना बालबालिकालाई खोप लगाउने लक्ष्य राखिएकोमा ५८८ जना बालबालिकाले मात्र कोरोनाविरुद्धको खोप लगाएका छन् । जुन लक्ष्यको ६७.५८ प्रतिशत हो ।

नौकुण्ड गाउँपालिकामा १२ देखि १७ वर्षसम्मका १ हजार २७१ जना बालबालिकालाई खोप लगाउने लक्ष्य राखिएकोमा ८४१ जना बालबालिकाले मात्र खोप लगाएका छन् । जुन लक्ष्यको ६६.१६ प्रतिशत हो । त्यसैगरी कालिका गाउँपालिकामा १२ देखि १७ वर्षसम्मका १ हजार ४२४ जना बालबालिकालाई खोप लगाउने लक्ष्य राखिएकोमा १ हजार ११६ जनाले मात्र खोप लगाएका छन् । जुन लक्ष्यको ७८.३७ प्रतिशत हो । उत्तरगया गाउँपालिकामा १२ देखि १७ वर्षसम्मका ७५१ जना बालबालिकालाई खोप लगाउने लक्ष्य राखिएकोमा ६१० जनाले मात्र खोप लगाएका छन्। जुन लक्ष्यको ८१.२२ प्रतिशत हो ।

यो तथ्याङ्क हेर्ने हो भने जिल्लामा लक्ष्यको तुलनामा ७१.७४ प्रतिशत १२ देखि १७ वर्षसम्मका बालबालिकाले कोरोनाविरुद्धको मोडर्ना खोप लगाएको पाइएको छ। जुन लक्ष्यको तुलनामा २८.२६ प्रतिशत बालबालिकाले भने खोप नलगाएको देखिएको छ । जिल्लामा रहेको पाँचवटै गाउँपालिकाको शिक्षा शाखाबाट विद्यार्थीको विवरण माग गरिएकोमा प्राप्त विवरणअनुसारको विद्यार्थीले खोप नलगाएको स्वास्थ्य कार्यालय रसुवाका प्रमुख चालिसेले बताए । ‘गाउँपालिकाको शिक्षा शाखाबाट विद्यार्थी संख्या माग गरेका थियौँ, लक्ष्यअनुसार विद्यार्थीले खोप लगाउनै आएनन्,’ उनले भने, ‘कतिपय भर्ना भएका तर नियमित विद्यालय नआउने गरेको र कतिपय बसाइँसराइ गरी अन्यन्त्र गएको र अपडेट नभएको भन्ने पाइयो ।’

जिल्लामा मोडर्ना खोप लगाएका बालबालिकामा ज्वरो आएको पाइए पनि खोपले कुनै असर नगरेको उनले बताए । ‘नयाँ खोप हो, कुनै समस्या परेमा समाधानका लागि जिल्लाको पाँचवटा गाउँपालिकामा एक एकजना डाक्टर तोकेका थियौँ, एक दिन जति ज्वरो आएको पाइयो यसबाहेक कुनै असर छैन,’ उनले भने ।

जिल्लामा कोरोनाविरुद्धको पहिलो डोजको खोप लगाएका बालबालिकालाई २८ दिनपछि पुनः दोस्रो डोजको खोप दिने तयारी भइरहेको उनले बताए । माघ ९ गतेबाट दोस्रो डोजको खोप अभियान सुरु गरिने उनको भनाइरहेको छ । तर स्वास्थ्य कार्यालय रसुवाले कक्षा ६ देखि १२ सम्मका विद्यार्थीको विवरण मागेको गाउँपालिकाका शिक्षा शाखाहरूले बताएका छन् । ६ देखि १२ कक्षासम्मका विद्यार्थीको विवरण मागे पनि उमेर समूहको विवरणअनुसार नभएको हुन सक्ने गोसाइँकुण्ड गाउँपालिकाको शिक्षा शाखाका प्रमुख धुव्रप्रसाद लामिछानेले बताए ।

स्वास्थ्य कार्यालयले उमेर समूहको विवरण नमागे पनि १२ देखि १७ वर्षसम्मका बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाउने सञ्चारमाध्यमबाट जानकारी पाएसँगै उमेरअनुसारका बालबालिकालाई खोप अभियानमा सहभागी गराउन सबै विद्यालयलाई निर्देशन दिइएको उनले बताए ।

२६ पुष २०७८, सोमबार २०:५८



तपाईको प्रतिक्रिया