रसुवाको थुमनमा पहिलोपटक बस

विदुर । भौगोलिक हिसाबले विकट उत्तरी रसुवाको थुमनमा पहिलोपटक गएको हप्ता बस सेवा सञ्चालनमा आएको छ । गोसाइँकुण्ड गाउँपालिका वडा नं. १ को पहलमा नमस्ते पासाङ्ल्हामु यातायात प्रालिले संघीय राजधानी काठमाडौँको गोङ्गबुदेखि रसुवा जिल्लाको थुमनसम्म करिब १५० किलोमिटर दूरीमा शनिबार नियमित बस सेवा सुरु गरेको हो ।

गएको शनिबार बिहान ६ बजे काठमाडौँबाट छुटेको बस अपराह्न ३ बजे थुमन पुगेको थियो । बस सेवा सञ्चालनले थुमन गाउँका चार सयभन्दा बढी घरपरिवार र हिमाली दृश्यावलोकनका लागि नाकथली पुग्ने सयौँ पर्यटकलाई यातायातको सुविधा पुगेको छ । ना ३ ख ८९८४ नम्वरको डिलक्स बस गुडाइ पहिलोपटक थुमन प्रवेश गर्ने चालक मुस्कान मगरलगायत बसका कर्मचारीलाई स्थानीय लामागुरु समेतका समूहले खादा लगाई भव्य स्वागत गरेका थिए ।

चालक मगरले भने चार–पाँचवटा मोडबाहेक रसुवागढी राजमार्गको रोङ्गाबाट–थुमनसम्मको सडक राम्रो भएको पाइएको र लामागुरुको आशीर्वाद र स्थानीयवासीको स्वागतले सबै बस चालक थुमन जान उत्साहित बनाएको चालक मगरले बताए ।

बस सेवा सञ्चालन गर्ने क्षमताको सडक सुधार भएसँगै सहजरूपले एम्बुलेन्स गुडाउन, खाद्यान्न ढुवानी गराउन, गाउँवासीका सवारीसाधन घरगाउँमै पु-याउन सहज भएको गोसाइँकुण्ड–१ का वडाध्यक्ष उर्केनछिरिङ तामाङले बताएका छन् । यातायातको साधनद्वारा थुमनवासीलाई नियमित यात्रा गर्न सहज भएको छ ।

स्थानीय वडा पदाधिकारी र बस व्यवसायीबीचको सहमतिबाट प्रतिव्यक्ति एक हजार दुई सय भाडा निर्धारण गरिएको बताउँदै नमस्ते पासाङल्हामु यातायात प्रालिका अध्यक्ष एवं प्रबन्ध निर्देशक रामहरि श्रेष्ठले सडकमार्गमा काबुभन्दा बाहिरको अवस्थाबाहेक थुमनमा बाह्रै महिना बस सञ्चालन गर्ने प्रतिबद्धता जनाएका छन् ।

तीस वर्ष अगाडिदेखि सञ्चालनमा आएको पुरानो र भरपर्दो विश्वासिलो एकमात्र उक्त यातायात समितिले रसुवा, नुवाकोट र धादिङका विकट गाउँमा बस सेवा सञ्चालन गरी आमयात्रुको मन जित्न सफल भएको छ । हाल नमस्ते पासाङल्हामु यातायातले तीन जिल्लाका आधार इलाकामा दुई सयभन्दा बढी बस सार्वजनिक यातायातका लागि सञ्चालन गरिरहेको जनाइएको छ ।

नियमित बस सेवा सञ्चालन भएपछि सोमबारबाट थुमनका किसानले आफ्ना बारीमा उत्पादित हिउँदे तरकारी बिक्रीका लागि काठमाडौँका बजारमा पु-याउन सजिलो भएको स्थानीय बासिन्दाले बताएका छन् । नेपालकी चेली भृकुटी र तिब्बतका राजा श्रङ्चङ् गोम्बो बीच विवाह हुँदा थुमन क्षेत्र हुँदै भृकुटी तिब्बतै गएकी इतिहासमा उल्लेख गरिइएको छ ।

पर्यटकका लागि उत्कृष्ट गन्तव्य

रसुवाको थुमन गाउँ एउटा तामाङ बस्ती भएको गाउँ हो । चीनको तिब्बतसँग जोडिएको गाउँमा तामाङ समुदायले विशुद्ध मातृभाषा बोलिन्छ । यस गाउँको विशेषता नै आफ्नै भाषा‚ संस्कृति र भेषभूषा हुन् ।

थुमनमा भूकम्प अघि परम्परागत शैलीका घरहरू थिए । जसमा ढुङ्गाको गारो लगाइएको दुई तल्लो घर र तल्लो तलामा गाईबस्तु बाँध्ने कुखुरा पाल्ने गरिएको थियो । यहाँका गाउँले विशुद्ध आफ्नै परम्परागत खेती गर्दथे। थुमनमा टाआरपिएपिले परम्परालाई परिमार्जित गर्दै होमस्टे सञ्चालनमा जोड दिने प्रयाससँगै पर्यटकलाई आकर्षित बनाउने रोजगारी प्रवद्र्धन गर्दै सहयोग पुर्‍याएको थियो। भूकम्पपछि अहिले पुरै गाउँ परिवर्तन भएको छ। जस्ताको छाना काठको गारो बनेपछि आकर्षण फेरिएको छ ।

पर्यटकका लागि आकर्षण थुमनमा अहिले मोटरबाटो पुगेको छ । पर्यटकका लागि सहज भएको यहाँ स्थानीय बताउँछन् ।

थुमन गाउँको मुख्य उद्देश्य भनेको आफ्नो परम्परा सांस्कृतिक जोगाउनु हो भने कुण्डभित्रको जल देवताको पूजा गर्नु हो। यस गाउँको जनजीवन एवं विभिन्न स्थान धार्मिक सामाजिक सांस्कृतिक‚ ऐतिहासिक र पुरातात्त्विक दृष्टिकोणले महत्त्वपूर्ण छ । गाउँको चर्चा परिचर्चा भने कमै छ। थुमन गइसकेपछि घुम्नुपर्ने अर्को ठाउँ नागथली हो । थुमनबाट करिब ४ घण्टाको उकालो चढेपछि पुग्न सकिन्छ। यस ठाउँबाट चारैतिर गगनचुम्बी हिमालै हिमाल देखिन्छ।

यहाँ २ वटा होटेल समेत सञ्चालनमा छन्। गाउँलेहरू बर्सेनि सामूहिक रूपमा नागथली गुम्बामा पूजा समेत गर्छन् ।

जनविश्वास अनुसार उहिले गुरु रेम्बोर्छे यस भेगमा तपस्या गर्न आएका थिए । त्यति बेला गुरु रेम्पोर्छे आफैले पनि एउटा गुम्बा बनाएका थिए ।

अहिले गुम्बाका मूर्ति धेरै पुरानो भएकोले चोरीसमेत भइसकेका छन् । रेम्पोर्छे तपस्या गर्दा मन्त्रद्वारा पानीको मूल निकालेको विश्वास छ।

भूकम्प अगाडी विभिन्न काठका कलात्मक बुट्टा भूकम्पले तहसनहस पारेपछि नौलो र परिवर्तन भएको छ। स्थानीयले यो उचित प्रचारप्रसार नभएको कारण अझै ओझेलमा परेको बताउँछन् ।

भूकम्पपछि अहिले धेरै नयाँ स्वरूपमा बनेको छ । अहिले होमस्टेहरू बनेका छन् । कोरोनाले दुई वर्षदेखि ठप्प नै छ । शुद्ध अर्गानिक खाना पाइने यस ठाउँ स्वर्गको एक टुक्रा हुन् । आन्तरिक तथा बाह्य पर्यटकका लागि उत्कृष्ट गन्तव्य हो थुमन गाउँ ।

९ माघ २०७९, सोमबार ०५:३२



तपाईको प्रतिक्रिया