गोसाइँकुण्ड जानेको संख्या ४० प्रतिशतले घट्यो

रसुवा । गोसाइँकुण्डमा तीर्थ गर्न जाने भक्तजन भने यस वर्ष करिव ४० प्रतिशतले घटेको अनुमान गरिएको छ । युवा भक्तजन बाह्रै महिना ओहरदोहर भइरहने भएका कारण यस वर्षको मुख्य पर्वमा गोसाइँकुण्ड जाने यात्रु घटेको बताइएको छ ।

गोसाइँकुण्ड जाने यात्रुबाट लाङटाङ राष्ट्रिय निकुञ्जले प्रवेश शुल्कबापत आठ लाख २४ हजार सात सय संकलन गरेको छ । सहायक संरक्षण अधिकृत मिलन सापकोटाका अनुसार पूर्वतर्फको कुटुमसाङबाट एक हजार र धुञ्चेतर्फबाट सात हजार २४७ भक्तजन गोसाइँकुण्ड गएको आफ्नो ‘चेक पोइन्ट’को अभिलेखले देखाएको हो । प्रतिव्यक्ति एक सय रुपैयाँ लिने कानुनी प्रावधानअनुरूप भक्तजनबाट संकलन उक्त शुल्क रकम राजश्व खातामा दाखिला भइसकेको छ ।

तीर्थ पुगेका भक्तजनलाई भने नेपाली सेना, जिल्ला अस्पताल, गोसाइँकुण्ड गाउँपालिका र हिमालय उद्धार संघलगायतका निकायले लेक लाग्ने समस्या न्यूनीकरणलगायतका उपचार सेवा प्रदान गरेको रसुवा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. अमितकुमार शाहले जानकारी दिए । लेक लाग्ने समस्या रोकथाम गर्ने औषधि उच्च भागमा जानुपूर्वनै सेवन गराइएका कारण यात्रुलाई विगतको तुलनामा यस वर्ष यात्रु बिरामी संख्यामा कमी आएको उनले बताए ।

यसै बीच, गोसाइँकुण्डमा यस पटकको जनैपूर्णिमामा मेला भर्न गएको भक्तजनहरूले चढाएको भेटी तीन लाख २८ हजार ५१ रुपैयाँ संकलन भएको छ । जनैपूर्णिमा पर्वका अवसरमा श्रद्धालु भक्तजनले चढाएको भेटी गणना गर्दा सो रकम संकलन भएको गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीव डिएमले जानकारी दिएका छन् ।

उनले भेटी रकम गणना सम्पन्न भएको र  रकम बैंक खातामा जम्मा गर्न पठाएको बताए । यही भदौ १४ गते सम्पन्न जनैपूर्णिमा पर्वको विशेष मेला भर्न नीलाद्री पर्वतमा अवस्थित पवित्र तीर्थ गोसाइँकुण्ड पुगेका भक्तजनले मन्दिरमा चढाएको भेटी पुजारीमार्फत संकलन भएको र सो भेटी नेपाल प्रहरीको सुरक्षाका साथ धुञ्चे ल्याई गणना सम्पन्न भएको थियो ।

२९ भाद्र २०८०, शुक्रबार ११:२६



तपाईको प्रतिक्रिया