हराएका तीर्थयात्री तीन दिनमा भेटिए

रसुवा ।  जनैपूर्णिमाको दिन रसुवाको डिम्साबाट हराएका तीर्थयात्रु भेटिएका छन् । काभ्रेपलाञ्चोक भुम्लु गाउँपालिका–४ दुप्लुगाउँ घर भई काठमाडौँ लाजिम्पाट निवासी १६ वर्षीय प्रवेश तामाङ शनिबार अपराह्न फेला परेका हुन् । आमाको साथमा गोसाइँकुण्डबाट फर्कने क्रममा ढिम्सा क्षेत्र झरेपछि छुर्पी किन्न लाग्दा आमा छोराको दूरी फरक भई मुख्य बाटो भुलेर जङ्गलको बाटो पस्दा प्रवेश हराए ।

उनको टाउको र शरीरमा चोटपटक भएका कारण रसुवा अस्पतालमा उपचार भइरहेको र स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. अमितकुमार शाहले बताए । प्रवेश हराएको सूचना पाउनासाथ नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलसमेतका सुरक्षाकर्मीले खोजीकार्य तीव्र बनाएको थियो । ठूलोस्याफ्रु, ब्रावल, भार्खु, डिम्सालगायतका क्षेत्रमा दैनिक ८०–९० जना सुरक्षाकर्मी परिचालित भएका थिए । शनिबार धुञ्चेपारिको खोपाङ भिर इलाकाको खोल्छामा उनी फेला परेका हुन् ।

दुई दिनको प्रयासबाट घिस्रिँदै खोपाङ्को खोल्छाखोल्छै सडकमा पुगेका प्रवेशले सडकमा यात्रा गर्दै गरेका धुञ्चे निवासी सुशील थोक्रालाई भेटेपछि उनकै मोटरसाइकलबाट धुञ्चे पुगेका थिए ।

१८ भाद्र २०८०, सोमबार ०९:४१



तपाईको प्रतिक्रिया