जनगणना अनिश्चित

विदुर । कोभिड-१९ संक्रमणले गर्दा स्थगित राष्ट्रिय जनगणना शुरू गरिने मिति अझै टुंगो लागेको छैन। लम्बिएको महामारी र विकसित राजनीतिक घटनाक्रमका कारण जनगणनाको मिति अनिश्चित बनेको हो।

जनगणना गर्ने निकाय केन्द्रीय तथ्यांक विभागले जनगणनाको तथ्यांक संकलन गर्ने मिति तोक्ने विषयमा छलफल चलिरहे पनि कहिले गर्ने भन्ने निर्क्योल हुन नसकेको जनाएको छ। विभागका उपमहानिर्देशक हेमराज रेग्मीले भने, “आगामी भदौ र असोज महीनामा जनगणना गर्न सकिन्छ कि भनेर छलफल गरिरहेका छौं, तर महामारी मत्थर नभएका कारण अझै निर्णय गर्न सकिएको छैन।”

उपमहानिर्देशक रेग्मीका अनुसार, भदौ र असोजमा जनगणनाका कार्यक्रम सञ्चालन गर्न नसकिए यो कम्तीमा फागुनसम्मलाई सर्ने सम्भावना छ। सरकारले आगामी कात्तिक र मंसीरमा संघीय प्रतिनिधि सभाको निर्वाचनको कार्यक्रम तय गरेको छ। निर्वाचनका बीचमा जनगणना सम्भव नहुने रेग्मीले बताए।

पुस–माघ महीनामा चिसोका कारण हिमाली क्षेत्रमा जनगणना सम्भव हुँदैन। “त्यसो हुँदा जनगणना फागुनपछिसम्मलाई सर्न सक्छ,” उनले भने।

जनगणनाको विस्तृत प्रतिवेदन आउन महीनौं लाग्छ। रेग्मीले आकलन गरे जस्तै जनगणनाका कार्यक्रम सर्दै गएमा नतीजा प्रकाशनका लागि आगामी वर्षसम्म प्रतीक्षा गर्नुपर्ने बताए।

जनगणनाका तथ्यांक संकलन भएको तीन महीनाभित्र देशमा रहेको कुल जनसंख्याको प्रारम्भिक संख्या सार्वजनिक गर्न सकिने र विस्तृत विषयगत प्रतिवेदनहरू सार्वजनिक हुन ६ महीनादेखि दुई वर्षसम्म लाग्ने विभागका अधिकारी बताउँछन्।

वैशाखमा मन्त्रिपरिषद्ले महामारीका कारण जनगणनाका कार्यक्रम तत्कालका लागि स्थगित गर्ने निर्णय गरेको थियो। केन्द्रीय तथ्यांक विभागले हरेक १० वर्षमा गर्ने जनगणनाको बाह्रौं संस्करण यसअघि २५ जेठदेखि ८ असारसम्मलाई तय गरेको थियो। स्थगित जनगणनाका कार्यक्रम पुन:सञ्चालन गर्न फेरि मन्त्रिपरिषद्को निर्णय आवश्यक पर्छ।

नेपालमा ११० वर्षअघि राणा प्रधानमन्त्री चन्द्रशमशेरका पालादेखि देशभित्र बसोबास गर्ने नागरिकको अभिलेख राख्न जनगणना विधिवत् रूपमा शुरू भएको थियो। त्यसवेला देशको जनसंख्या करीब ५६ लाख मात्रै थियो। त्यसयता हरेक १० वर्षमा जनगणना हुँदै आएको छ।

अब हुने जनगणनामा नेपालको जनसंख्या करीब तीन करोड नाघ्ने अनुमान छ। देशका नीति र योजना निर्माण, कार्यक्रमहरूको अनुगमन र मूल्यांकनका लागि जनगणनाको तथ्यांक आवश्यक पर्छ।

विभागले जनगणनाको तथ्यांक संकलन प्रक्रियाको सुपरिवेक्षण गर्न साढे आठ हजार सुपरिवेक्षक छनोट गरिसकेको छ। करीब ३८ हजारजति गणक आवश्यक पर्ने भए पनि तिनको छनोट हुन सकेको छैन। सुपरिवेक्षक र गणकलाई तालीम सकेपछि जनगणनाको तथ्यांक संकलन गर्न पठाइन्छ।

विभागले जनगणना सामग्रीको छपाइ, ढुवानी लगायतका तयारी भने सकिसकेको छ। देशैभरि जनगणनाको तथ्यांक संकलन एकैसाथ सम्पन्न हुन्छ, यसका लागि करीब दुई साताको समय लाग्छ।

१९ असार २०७८, शनिबार १२:२४



तपाईको प्रतिक्रिया