बन्द भए नुवाकोटका सबै विद्यालय

विदुर नगरपालिकामा मंगलवार बसेको बैठक

विदुर । विदुर नगरपालिकाले पनि आज बुधवारबाट सम्पुर्ण विद्यलायहरु बन्द गराएको छ । नुवाकोटको अधिकांश स्थानीय तहका विद्यालयहरु बन्द रहदा विदुर नगरपालिका भित्र भने सञ्चालनमा रहेको थियो । केही विद्यालयले जाडो विदा भनेर एक हप्तालाई विद्यालय बन्द गरेपनि सरकारी कार्यालयको निर्देशन कार्यान्वय भएको थिएन ।

शिक्षा विकास तथा समन्वय इकाई नुवाकोटले पुस २८ गते नुवाकोटका सम्पूर्ण स्थानीय पालिकाहरूको नाममा पत्राचार गर्दै विद्यालय बन्द गर्न नराउन आग्रह गरेको थियो । तर विदुरका धेरै विद्यालयहरू मंगलवारसम्म सञ्चालनमा थिए । यसमा निजी विद्यालयहरू लगभग सबै र समुदायिक विद्यालयहरू अधिकांश सञ्चालनमा थिए । पुस २८ गते नै विदुर नगरपालिकाले सबै विद्यालयहरूलाई पठनपाठन बन्द नगर्न र स्वास्थ्य मापदण्ड अपनाएर पढाउन आग्रह गरेपछि विदुरमा प्रायः विद्यालयहरू खुलै भएका हुन् । निजी विद्यालयहरू सबै सञ्चालनमा थिए ।

विदुर नगरपालिकाले निर्णय गरेसंगै नगर भित्र रहेका विद्यालयहरूमा कोभिड–१९ को तेस्रो लहरको प्रभाव, नियन्त्रण र रोकथामका लागि आज (माघ ५ गते)देखि माघ १५ गतेसम्म विद्यालय बन्द हुने भएको छ । मंगलवार विदुर नगरपालिका प्रमुख, उप–प्रमुख, प्रमुख प्रशासकीय अधिकृत, शिक्षा शाखाका कर्मचारी, शिक्षकका पेशागत संघ संगठनका प्रमुख तथा प्रतिनिधिहरु, विद्यालयका प्रधानाध्यापकहरुको उपस्थितिमा सो निर्णय भएको विदुर नगरपालिकाको आधिकारी फेसबुक पेजमा जनाइएको छ ।

विदुर नगरपालिकाको शिक्षा शाखाले सबै बिद्यालयहरुमा गरेको पत्राचार पछि विद्यलायहरु बन्द भएका छन् । मंगलवारसम्म पठनपाठनलाई निरन्तरता दिँदै आएको त्रिभुवन त्रिशुली उच्च माविले पनि सूचना जारी गरेर आजबाट विद्यालय बन्द भएको जनाएको छ । यस अघि शिक्षा इकाईले जारी गरेको सूचना र स्थानीय तहलाई गरेको पत्राचारको विषयमा जानकारी भएपनि आफुहरूलाई स्थानीयले विद्यालय बन्द नगर्न भनेका कारण सञ्चालन भएको सहायक प्रधानाध्यपाक राजेन्द्र दवाडीले बताएका थिए ।

१६ गतेदेखि भने चार दिनका लागि स्कुल खुल्ने

खोप अभियान चलाउनका लागि १५ माघपछि चार दिन विद्यालय खोल्ने निर्णय भएको छ । कोभिड–१९ भाइरसविरुद्धको खोप लगाइदिनका लागि १६ देखि २० माघसम्म विद्यालय खोल्ने निर्णय भएको गृह मन्त्रालयको विपद व्यवस्थापन महाशाखाले जनाएको छ ।
सरकारले महामारीको ‘चेनब्रेक’ गर्न भन्दै २५ पुसमा सीसीएमसीसीले गरेको सिफारिस अनुसार १५ माघसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको थियो । विद्यालय खोलिएको समयमा हरेक विद्यालयमा खोप अभियान चलाइने छ ।

५ माघ २०७८, बुधबार १३:०४



तपाईको प्रतिक्रिया